Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विवेक पोखरेल
२०७६ मङ्सिर २६ बिहीबार ०९:२२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

भरतपुर क्यान्सर अस्पतालमा  अन्तर्राष्ट्रियस्तरको सेवा छ : डा. विजयचन्द्र आचार्य

Read Time : > 4 मिनेट
विवेक पोखरेल
२०७६ मङ्सिर २६ बिहीबार ०९:२२:००

०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षी ली फङसँग नेपालमा क्यान्सर अस्पताल खोल्ने समझदारी भयो । उक्त समझदारीअनुसार चीनले बनाइदिएको चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा दिन थालेको २० वर्ष पूरा भइसकेको छ । यो अवधिसम्म आइपुग्दा अस्पताल देशका अधिकांश क्यान्सर रोगीको विश्वासको केन्द्र बनेको छ । तर, अस्पतालमा विभिन्न समस्या र चुनौती छन् । भरतपुर क्यान्सर अस्पतालका समस्या, चुनौती र भावी योजना के छन् ? कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यलाई नयाँ पत्रिकाकर्मी विवेक पोखरेलले सोधेका छन् :

डा. विजयचन्द्र आचार्य, कार्यकारी निर्देशक
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन

भरतपुर क्यान्सर अस्पतालले स्थापनाको २०औँ वार्षिकोत्सव मनाएको छ, यो अवधिसम्म आइपुग्दा अस्पतालको योगदान के हो?

१० असोजबाट अस्पताल १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । विगतका १९ वर्षको अवधिमा थुप्रै आरोहअवरोह पार हुँदै अहिलेको अवस्थामा आइपुगेको हो । समग्रमा उत्कृष्ट अस्पतालको परिचय बनाउन सफल भएका छौँ । नेपालका आधाभन्दा बढी क्यान्सर बिरामीको सेवाको जिम्मेवारी सम्हालिरहेका छौँ । यो नै अस्पतालको सबैभन्दा ठूलो योगदान हो ।

सरकारी निकायको नियन्त्रणमा रहनुपर्ने बाध्यताबीच पनि हामीले निजी अस्पतालले भन्दा बढी सेवासुविधा दिएका छौँ । म आएसँगै अस्पताल सञ्चालक समितिका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक तथा प्रशासनिक कर्मचारी र सरोकारवाला सबैको साथ र सहयोग झन् बढ्दै गएको छ । हामी टिममा विश्वास गर्छौं । विगतमा के थियो, कस्तो थियो भन्दा पनि आज बिरामीको सेवा दिने राम्रो क्यान्सर अस्पतालका रूपमा स्थापित भएको छ । टिमवर्कका कारण नै यो सफलता प्राप्त भएको हो । बिपी कोइराला क्यान्सर अस्पताल अहिले देशका क्यान्सर बिरामीको सबैभन्दा भरोसाको केन्द्र बनेको छ । 

तपाईं कार्यकारी निर्देशक बनेर आएपछि अस्पतालका समस्या समाधानमा के गर्नुभयो ?

अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेर आएदेखि नै म यो अस्पतालको विकास र विस्तारमा निरन्तर छु । हामीसँग धेरै योजना छन् । अहिले चार सय ५० शय्यामा अस्पताल सञ्चालन भएको छ । अत्याधुनिक उपकरण र दक्ष जनशक्ति हामीसँग छन् । मेडिकल, सर्जिकल, रेडियोथेरापी, रेडियोडायग्नोसिस, न्युक्लियर मेडिसिन, प्याथोलोजीजस्ता सेवा थप व्यवस्थित बनाएका छौँ । बिरामीको सुविधाका लागि साँझ ४ बजेपछि पनि सेवा दिन सुरु गरेका छौँ । क्यान्सर रोकथाम तथा अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्न नर्सिङ कलेज सञ्चालन भएको छ । 

साढे २ वर्षको यो अवधिमा अस्पतालको सेवा विस्तारमा धेरै उपलब्धि भएका छन् । १५० शय्याको हाराहारीमा रहेको अस्पतलालाई हामीले चार सय ५० शय्याको बनायौँ । हामीले अस्पतालभित्रै फार्मेसी सेवा सुरु गरेका छौँ । क्यान्सर रोगीले सस्तो र सुपथ मूल्यमा औषधि पाएका छन् । अहिले क्यान्सर उपचारमा प्रयोग हुने ८७ किसिमका औषधि र अन्य सर्जिकलसहित ११ सय प्रकारका औषधि र औषधिजन्य सामान हाम्रो फार्मेसीमा छन् । नफामूलकभन्दा पनि सेवामूलक काम गर्ने हाम्रो उद्देश्य हो । अस्पतालभित्र सस्तोमा औषधि उपलब्ध हुने भएपछि यसविरुद्ध बाहिर केही गतिविधिसमेत हुन थालेको छ । तर, हामी चनाखो छौँ ।

अस्पतालमा बिरामी बस्ने कुर्सी थिएनन् । मेसिन चल्थेनन् । म ग्यारेन्टी दिन्छु अहिले अस्पतालमा भएका कुनै मेसिन जीर्ण छैनन् । सञ्चालनमा नआएर थन्किएको अवस्था छैन । बिरामी सेवाका लागि कुरेर बस्नु पर्दैन । एकैदिनमा सेवा दिन सक्ने गरी संरचना छन् । विगतमा यिनै समस्याका कारण बिरामीले सास्ती पाउँथे । अहिले अस्पताल गर्व गर्नलायक बनेको छ । त्यसैले बिरामीको चाप पनि बढिरहेको छ । 

कर्मचारी भर्ती र आर्थिक अनियमितता यो अस्पतालको पुरानै रोग हो नि ?

मैले व्यवस्थापनको जिम्मा लिँदा एकदमै नाजुक थियो । तर, दाबीसाथ भन्छु, अहिले त्यस्तो छैन । अस्पतालको बैंक खातामा रहेको १० करोड डुब्न लागेको थियो । हामीले व्यवस्थापन गर्‍यौँ । अहिले कृषि विकास बैंकसँग सहाकार्य भएको छ । कर्मचारीलाई बैंकबाटै भुक्तानी हुन्छ । 

हामीले अस्पताललाई सुशासनमा ल्याएका छौँ । खरिद प्रणाली नेपाल सरकारको नियमअनुसार हुन्छ । खुद्रा खरिद न्यूनीकरण गरेका छौँ । कम स्रोतमा भएको हाम्रो उत्कृष्ट कामबाट नेपाल सरकारसमेत खुसी छ । जनता पनि खुसी छन् । कर्मचारी लोकसेवामार्फत लिन्छौँ । यो अस्पतालको इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट छनोट भई नियुक्तिको अवसर मलाई मिलेको छ । 

बिरामीसँग शुल्क कसरी लिनुहुन्छ ?

विगतमा बिरामीसँग विभिन्न नाममा शुल्क लिने गरिएको रहेछ । अहिले अन्तभन्दा निकै कम शुल्कमा बिरामीले उपचार पाउँछन् । बिरामीसँग लिने शुल्क र दिने सेवाको तुलना नै गर्न मिल्दैन । हाम्रो सेवासुविधा निकै राम्रो छ । अहिले हामीलाई सेवा शुल्क, तलबका लागि मन्त्रालयबाट रकम आउँदैन । करकोषबाट २५ करोड आउँछ । तर, अस्पतालको खर्च ७५ करोड छ । ०६४ सम्म मन्त्रालयबाटै ३३ करोडभन्दा बढी आउँथ्यो । त्यतिवेला एक सय ५० शय्या मात्रै आउँथ्यो, तर अहिले चार सय ५० शय्या छ ।

म आउनुअघि अस्पतालमा बिरामी बस्ने कुर्सी थिएनन्, मेसिन चल्थेनन् । म ग्यारेन्टी दिन्छु अहिले अस्पतालमा भएका कुनै मेसिन जीर्ण छैनन् । सञ्चालनमा नआएर थन्किएको अवस्था छैन । बिरामी सेवाका लागि कुरेर बस्नु पर्दैन । गत वर्ष मात्र नेपालमै पहिलोपटक भित्र्याइएका लिन्याक, अंको सिटी स्क्यान मेसिन र शरीरको भित्री भागमा भएको क्यान्सरको उपचारमा प्रयोग हुने ब्राकीथेरापी मेसिनका सेवा गर्व गर्नलायक छन् ।

गरिब बिरामीलाई क्यान्सर सेवा समाजमार्फत छुट दिएका छौँ । खानाको व्यवस्था छ । बिमा कार्यक्रमहरू छन् । सोधपुछकक्ष राखेका छौँ । एकातिर सर्वसुलभ उपचार दिनुपर्ने दायित्व छ, अर्कोतिर कर्मचारी र चिकित्सक खर्च धान्नुपर्ने अवस्था छ । अस्पतालमा शुल्क वृद्धि गर्दा विपन्न तथा गरिब जनसमुदायमा आर्थिक भार पर्ने भएकाले सरकारसँग नै अनुदान बढाउन जोड दिने हाम्रो पहल छ । अस्पतालको आय बढाउन वैकल्पिक उपाय पनि खोजी गर्दै छौँ । स्वास्थ्य करकोषको रकम वृद्धि गरी रेड बुकमा सञ्चालन खर्च बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छौँ । हामीले भनेजस्तो भयो भने निःशुल्क सेवासमेत दिन सकिन्छ ।

नेपाल र भारतबाहेक तेस्रो मुलुकका बिरामीलाई यो अस्पतालले किन आकर्षण गर्न सकेन ?

हामीले विगतमा त्यो काम गर्न सकेनौँ होला, अहिले सुधार हुँदै छ । अन्तर्राष्ट्रिय मापदण्ड भएका सामग्री हाम्रो ल्याबमा छन् । अस्पतालको रेडियोडायग्नोसिस र न्युक्लियर मेडिसिनतर्फ एमआरआई, सिटी स्क्यान, मेमोग्राम, ग्रामा क्यामेरालगायत सेवा चुस्तदुरुस्त बनाइएको छ । रेडियोथेरापीको सेवालाई गुणात्मक र संख्यात्मक रूपमा अत्याधुनिकीकरण गरिएको छ । गत वर्ष मात्र नेपालमै पहिलोपटक भित्र्याइएका लिन्याक, अंको सिटिस्क्यान मेसिन र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकीथेरापी मेसिनका सेवा गर्व गर्नलायक छन् । अब अन्य देशबाट पनि बिरामी पक्कै आउनेछन् । 

क्यान्सर अस्पताल नै क्यान्सरबाट ग्रस्त छ भन्ने गुनासो आइरहन्छ नि ?

हाम्रो पहिलो प्राथमिकता नै बिरामी हुन् । बिरामीले सहज रूपमा सेवा पाउनुपर्छ भनेर नै हामीले काम अगाडि बढाइरहेका छौँ । केही व्यक्तिले नियोजित रूपमै विरोध गरेको देखिन्छ । एउटा झुन्ड छ, राजनीतिक पूर्वग्रह राखेर सकारात्मक कार्यको विरोध गर्छ । अस्पताललाई ध्वस्त पारेर बाहिर बिरामी लागेर व्यक्तिगत स्वार्थ पूरा गर्न लागेका छन् । हामी काम गर्ने हो, कामबाटै उनीहरूलाई जवाफ दिने हो । हिजोको काम र आजको कामको मूल्यांकन गर्न सकिन्छ नि । खुट्टा तान्ने र काम बिगार्न खोज्नेहरूलाई जवाफ दिएको छु । मैले जानेको यत्ति हो कि हाम्रो ज्ञान र सीपको उच्चतम उपयोग बिरामीको सेवामा लगाउनुपर्छ । यति काम हामीले गरेका छौँ । हामी संस्थागत रूपमा हिँडेका छौँ । यसले व्यक्तिलाई होइन, संस्थालाई फाइदा हुन्छ । यस्तो अवस्थामा व्यक्ति हाबी हुन खोज्ने असन्तुष्ट हुनु स्वाभाविक हो । 

अस्पतालको भाबी योजना के छ ?

महत्वपूर्ण विषय त अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठान बनाउने भन्ने नै हो । दक्ष जनशक्तिसमेत उत्पादन गनुपर्छ । यो नै मेरो भावी योजना हो । योभन्दा माथि जाने ठाउँ पनि छैन । हामीसँग सबै कुरा छन्, अब नीतिगत निर्णय गर्न मात्र बाँकी हो । क्यान्सर उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु नै हाम्रो उद्देश्य हो । यसका लागि सरकारको पनि साथ र सहयोग चाहिन्छ ।