नेपाल कानुन क्याम्पसमा स्नातक तह चौथो समेस्टेर अध्ययनरत रोशनी अधिकारीका लागि काठमाडौंका सडकमा सेतो छडी सहारा बनेको छ । जन्मैदेखि दृष्टिविहीन उनी सेतो छडीको सहारामा हिँड्दा पनि सडकमा छरपस्ट छाडिएका निर्माण सामग्री, रूख र बिजुलीका पोलमा ठोक्किन्छिन् । दृष्टिविहीनहरू हिँड्न सजिलो होस् भनेर उपत्यकाका सडक किनारामा बिछ्याइएका सीमित ‘टेकटाइल’मा पनि निर्माण सामग्री, रूख र बिजुलीका पोल अव्यवस्थित रूपमै राखिएका हुन्छन् ।
पछिल्लो समय सरकारले वृक्षारोपण अभियान चलाएको छ । र, उपत्यकाका सडक पेटीमा बिरुवा रोपेको छ । त्यसको मारमा भने दृष्टिविहीन यात्रु परेका छन् । त्यसका कारण उपत्यकाका सडकमा हिँड्न अझ बढी कठिन बनेको अधिकारी बताउँछिन् । त्यसमाथि सडक पेटीमा पसल थाप्ने चलनले दृष्टिविहीनहरूलाई थप समस्यामा पार्ने गरेको उनको भनाइ छ । गोरखा स्थायी घर भएकी उनी बालाजु हाइटमा बस्दै आएकी छन् ।
दैनिक बालाजुबाट भृकुटीमण्डप आउनै पर्छ । हरेक दिन आफू हिँडेको बाटो नौलो लाग्छ, उनलाई । कारण, छडीको सहारामा हिँड्दै गर्दा केमा ठोक्किइने हो भन्ने चिन्ता सधैँ रहन्छ । किनकि, अघिल्लो दिन हिँडेको सडक पेटी भोलिपल्ट अर्कै भइसकेको हुन्छ । वर्षायामको काठमाडौंका सडक त झनै चुनौतीपूर्ण लाग्छ, अधिकारीलाई । भन्छिन्, ‘हामी हिँड्ने टेकटाइलमै पानी जमेको हुन्छ । बिहान लगाएर हिँडेको कपडा साँझ घर पुग्दा हिलै हिलो हुन्छ ।’
अहिले ट्राफिकले रत्नपार्क, भृकुटीमण्डप, जमललगायत व्यस्त ठाउँमा रहेका सार्वजनिक सवारीसाधनका ‘स्ट्यान्ड’हरू हटाएको छ । त्यसको मारमा पनि दृष्टिविहीन नै परेका छन् । ‘हाम्रा लागि पनि सहज हुनेगरी बस स्ट्यान्डहरू राखिदिए व्यावहारिक हुने थियो,’ उनी भन्छिन् । बसमा पनि दृष्टिविहीन र अपांगहरूका लागि छुट्याइएको सिटमा सबलांग नै बसिरहेका हुन्छन् । उनले आफ्ना लागि छुट्याइएको सिट भेट्नै सक्दिनन् ।
दृष्टिविहीनका लागि सडक किनारामा बिछ्याइएका सीमित ‘टेकटाइल’मा पनि निर्माण सामग्री, रूख र बिजुलीका पोल अव्यवस्थित रूपमै राखिएका हुन्छन् । यस्ता अवरोधमा ठोक्किएर उनीहरू धेरैपटक लडेका छन् ।
‘सबै सडकमा टेकटाइल राखिदिए धेरै सहज हुने थियो,’ उनी भन्छिन्, ‘सार्वजनिक यातायातलाई मानवमैत्री बनाइदिए साह्रै राम्रो हुन्थ्यो ।’ आँखा देख्ने मानिस नै हिँड्दा अति सावधानी अपनाउनुपर्ने सहरका सडकमा दृष्टिविहीनहरूले हरेक पाइला डराउँदै चाल्नुपर्छ । हिँड्दै जाँदा बिजुलीका पोल, फुटपाथ र रूखमा ठोक्किनु उनीहरूका लागि नियति नै बनेको छ ।
रत्नराज्य क्याम्पसका प्राध्यापक गोविन्दप्रसाद आचार्य काठमाडौंमा सुरक्षित महसुस गर्दैनन् । ‘जोगिएर नहिँडे हरेक पाइलामा लडिने भय हुन्छ,’ उनी भन्छन्, ‘सडक दृष्टिविहीनमैत्री छैनन् ।’ सडकमा हिँड्दा सबैभन्दा बढी डर उनलाई मोटरसाइकलसँग लाग्छ ।
बानेश्वर बस्दै आएका रुपन्देहीमा जीवन बानियाँलाई त सडक पेटीका टेकटाइल नै पनि मापदण्डविपरीत लाग्छ । ‘बिजुलीका पोल नहटाई बनाइएका टेकटाइलको मापदण्ड कसरी पूरा हुन्छ ?’ उनी प्रश्न गर्छन् । सडक किनारामा अव्यवस्थित रूपमा राखिएका बस, ट्याक्सी र बाइकमा उनी धेरै पटक ठोक्किएका छन् ।
टुँडिखेल किनारामा हिँड्दै गर्दा उनी सडकमा राखिएको रडमा परेर लडे । घाँटीमा ६ वटा टाँका लगाउनुप-यो । सडकमा विस्तारै हिँड्दा पनि अन्य पैदल यात्रुले धक्का दिन्छन् । त्यसैले उनी सरकारभन्दा उपत्यकावासीमै चेतनाको अभाव देख्छन् । भन्छन्, ‘आँखा देख्नेलाई जति हतार हुन्छ, त्यति नै हामीलाई पनि हुन्छ । त्यो कुरा कसले बुझिदिने ?’