मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ११:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पूर्ण निको हुँदैनन् प्रतिरक्षा प्रणालीसम्बन्धी रोग

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ११:२९:००

 डा. लवराज लोहनी बाथरोग विशेषज्ञ
वयोधा अस्पताल

शरीरको प्रतिरक्षा प्रणालीले रोगको संक्रमणविरुद्ध लड्छ । तर, विभिन्न कारणले यसमा आउने परिवर्तनका कारण प्रतिरक्षा प्रणाली नै शरीरविरुद्ध लड्न थाल्छ । त्यसबाट विभिन्न रोग निम्तिन्छन्, जसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ ।पछिल्लो समय संसारमा सबैभन्दा बढी देखिनेमध्ये प्रतिरक्षा प्रणालीसम्बन्धी रोग पर्छन् । यस्ता रोगले शरीरमा एक प्रकारको ‘अटो एन्टिबडी’ नामक प्रोटिन उत्पादन गर्छन्, जसले शरीरका स्वस्थकोषमा आक्रमण गर्छ ।

केही तथ्य

  •  केही ‘अटो इम्युन डिजिज’ले शरीरको कुनै एउटा मात्रै अंगलाई प्रभावित गर्छ । ‘टाइप १ डायबिटिज’ र आमाशयमा मात्रै हुने रोग त्यसमध्येका हुन् । त्यस्तै, ‘सिस्टमेटिक लुपस एरिथेमाटोसस’ नामक रोग शरीरभर फैलिन्छ ।
  •  विश्वभर ८० भन्दा बढी प्रकारका ‘अटो इम्युन डिजिज’ छन् । तीमध्ये लुपस, सोरायोसिस, ह्युमेटिक अर्थाइटिस, मल्टिपल स्केलेरोसिस, अटो इम्युन थाइराइड, टाइप–१ डाइबिटिज र सोग्रेन सिन्ड्रोम मुख्य हुन् ।

कारण

  •  ‘अटो इम्युन डिजिज’को यकिन कारण हालसम्म पत्ता लागेको छैन । केही रोग जातीय समूह र भौगोलिक भिन्नताका आधारमा पनि बढी देखिने गरेको अध्ययनबाट पत्ता लागेको छ । जस्तै– अफ्रो–अमेरिकन र दक्षिणी धुव्रतिर बस्ने मानिसमा लुपसको समस्या बढी हुने गरेको पाइन्छ ।
  •  यस्ता रोग जिनबाट परिवारमा सर्दै जाने पनि हुन्छ । यस्तै, वातावरणीय प्रभाव पनि ‘अटो इम्युन डिजिज’को मुख्य कारक मानिन्छ । त्यसका कारण संक्रमण र रासायनिक पदार्थको प्रभाव देखिन्छ ।

‘अटो इम्युन रोग’लाई उपचारबाट पूर्णतया निको पार्न सकिँदैन । औषधिको प्रयोगबाट स्वस्थ कोषविरुद्ध लडिरहेको प्रतिरक्षालाई कम मात्र गर्न सकिन्छ ।

लक्षण

  •  प्रभावित अंगका आधारमा ‘अटो इम्युन डिजिज’का लक्षण देखिन्छन् । जोर्नी दुख्ने, मांसपेशी दुख्ने, मांसपेसी कमजोर हुँदै जानेजस्ता लक्षण देखिन्छन् । लुपस हुँदा कपाल झर्ने, रातो रगतको कमी, मिर्गाैलामा समस्या र महिलाको प्रजनन स्वास्थ्य प्रभावित हुन्छ । 
  •  ‘अटो इम्युन थाइराइड’ हुँदा थाइराइड कम वा धेरै उत्पादन हुने तथा आँखा र मुख सुक्खा हुने हुन्छ । मायोसाइटिस हुँदा मासुमा समस्या र फोक्सोमा असर पर्छ ।

उपचार

  •  उपचारबाट ‘अटो इम्युन रोग’हरूलाई पूर्णतया निको पार्न सकिँदैन । औषधिको प्रयोगबाट स्वस्थ कोषविरुद्ध लडिरहेको प्रतिरक्षालाई कम मात्र गर्न सकिन्छ ।