मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रा. कृष्ण पोखरेल
२०७६ मङ्सिर २५ बुधबार ०८:५३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

प्रधानमन्त्रीको बिरामी बिदा

Read Time : > 3 मिनेट
प्रा. कृष्ण पोखरेल
२०७६ मङ्सिर २५ बुधबार ०८:५३:००

उपचार हुँदै गर्दा प्रधानमन्त्रीले आफ्नो ‘विल पावर’ बढी छ भन्ने देखाउन समयअघि नै ताहुरमाहुर देखाउनु प्रत्युत्पादक हुन सक्छ
दुनियाँलाई थाहा छ, हाम्रा प्रधानमन्त्री केपी ओलीको बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको हो । र यतिवेला पुनः दुनियाँलाई थाहा भइसकेको छ, त्यो प्रत्यारोपित मिर्गौलाले काम गर्न छाड्दै छ र अबको केही समयमै देशभित्र वा बाहिर पुनः मिर्गौला प्रत्यारोपण वा तेस्रो मिर्गौला जडान गरिनेछ । तर, यसैबीच अप्रत्याशित रूपमा प्रधानमन्त्रीको एपेन्डिक्सको संकटकालीन शल्यक्रिया गर्नुप-यो, जसले गर्दा दश दिन अस्पताल भर्ना हुनुप-यो ।

परिणामस्वरूप सरकारका अत्यावश्यक निर्णय लिनका लागि हप्तैपिच्छे बस्नुपर्ने क्याबिनेट बैठक दुई साताको अन्तरालमा बल्ल बस्न सम्भव भयो भने स्वयं प्रधानमन्त्रीले थप केही साता आराम गर्नुपर्ने भयो । यस परिघटनाले मिर्गौला पुनः प्रत्यारोपणको मितिसमेत अझ केही पर घचेटिन पुग्यो । हुन त यसअघि पनि त्यही मिर्गौलाको समस्यामा जेलिएर प्रधानमन्त्री ओली १५ दिन सिंगापुरको एक अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएको थियो ।

बिमारीले राजा, रंक केही भन्दैन । जसलाई जुनवेला पनि जुनसुकै रोग लाग्न सक्छ । हो, प्रधानमन्त्री वा राष्ट्रप्रमुखलाई रोग लाग्दाचाहिँ यो अधिक चर्चाको विषय हुन्छ । फेरि यसको प्रभाव स्वयं प्रधानमन्त्री या राष्ट्रप्रमुखको परिवारलाई मात्र नभई, सिंगो मुलुकलाई पर्छ । तर, यस आलेखको उद्देश्य प्रधानमन्त्रीको बिमारीका विषयमा सर्वज्ञात प्रसंग कोट्याउनु र आफ्नो चासोभन्दा बाहिरको विषयमा पाण्डित्य देखाउनु होइन । अपितु, प्रधानमन्त्री वा सरकार प्रमुख कुनै खास कारणले कति लामो समय आफ्नो कामबाट अनुपस्थित भएका छन् र त्यस्तो अवस्थामा त्यसलाई व्यवस्थापन गर्ने विश्वमा कस्ता अभ्यास रहेछन्, त्यसबारे मात्र चर्चा गर्नु हो । 

संसारका सरकार प्रमुखदेखि राष्ट्रप्रमुखसम्मले उपचारका लागि लामो बिदा लिनु त सामान्य नै हो । उनीहरूले अध्ययन बिदादेखि प्रसूति बिदासम्म लिएका दृष्टान्त धेरै छन् । तीमध्ये सबैभन्दा अनौठो बिदामा सिंगापुरका प्रधानमन्त्री ली क्वान यू बसेका थिए । उनी एक महिनाको अध्ययन बिदा लिएर अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढ्न गएका थिए । त्यतिवेला उनले आफ्नो कार्यभार आफ्ना वरिष्ठ मन्त्रीलाई सुम्पेका थिए ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन सुत्केरी बिदामा बसिन् । त्यो ६ साता लामो बिदामा उनले कार्यवाहकको जिम्मेवारी आफ्ना वरिष्ठ मन्त्रीलाई सुम्पिइन् । हुन त प्रधानमन्त्री पदमै हुँदा सुत्केरी हुने विश्वकी पहिलो प्रधानमन्त्री बेनजिर भुट्टो हुन् । तर, पाकिस्तानको तत्कालीन राजनीति यति तरल थियो कि उनले आफू भारी जिउकी भएको विषय अन्तिम समयसम्म पनि लुकाइन् र ‘सिजरियन सर्जरी’बाट समयअगावै बच्चा जन्माएर बिदै नलिई काममा फर्किइन् ।

नाइजेरियन राष्ट्रपति मुहमद्दु बुहारी एकपटक तीन महिना र अर्कोपटक दुई महिना उपचारका लागि बेलायत गएको दृष्टान्त छ । आफ्ना सहायकलाई जिम्मेवारी सुम्पेर गएका उनी फर्केपछि पुनः जिम्मेवारी सम्हालेर मुलुकमा मच्चिएको बोकोहरामको आतंकविरुद्ध भिड्न तयार भए । तर, उनले आफूलाई के बिमारी भएको हो, त्यो मुलुकलाई नबताएकाले आशंकाको अवस्था सिर्जना भयो र विपक्षीले राजीनामा माग गरे । 

अमेरिकामा उपराष्ट्रपतिको व्यवस्था भए पनि राष्ट्रपति कुनै कारणले अशक्त भई काम गर्न नसक्ने अवस्था भएका वेला उपराष्ट्रपतिले कार्यभार सम्हाल्न पाउने संवैधानिक व्यवस्था थिएन । अतः प्रथम विश्वयुद्धको अन्त्यतिर राष्ट्रपति उड्रो विल्सन हृदयाघातका कारण अशक्त हुँदा अब यो संकटको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती आयो । तर, त्यो कुनै प्रकारले ट-यो । तर, सन् ५० को दशकमा राष्ट्रपति डुइट आइजनहावर भीषण हृदयाघातको सिकार भएर काम गर्न अशक्त हुँदा के गर्ने भन्ने समस्या आयो । उनले आफू अशक्त भएको त्यस अवधिमा कुनै किसिमले आफ्नो कामको जिम्मेवारी अनौपचारिक समझदारीका आधारमा तत्कालीन उपराष्ट्रपति रिचर्ड निक्सनलाई सुम्पे, तर त्यसको कुनै कानुनी आधार भने थिएन । त्यही अवस्था सन् ६० को दशकमा राष्ट्रपति केनेडीमाथि सांघातिक गोली प्रहारपछि पुनः दोहोरियो ।

संसारका सरकारप्रमुखदेखि राष्ट्रप्रमुखसम्मले उपचारका लागि लामो बिदा लिनु सामान्य नै हो । उनीहरूले अध्ययन बिदादेखि प्रसूति बिदासम्म लिएका दृष्टान्त धेरै छन् । 
 

आधुनिक औषधि विज्ञानका कारण मानिस लामो अशक्ततामाझ पनि बाँच्न त सक्छ, तर कामकाज गर्न नसक्ने भएर । यो आणविक युगमा यदि अमेरिकी राष्ट्रपति अशक्त भयो भने तत्काल संकट आए संवैधानिक व्यवस्थाबेगर निर्णय कसले गर्ने ? यो प्रश्न त्यसवेला टड्कारो रूपमा उठ्यो । हुन त यसपटक पनि केनेडीको केही दिनभित्रै प्राणपखेरु उडेका कारण यो संकट ट-यो । हो, यसै कारण अमेरिकी संविधानमा २५औँ संशोधन गरियो र यस्तो संकटका वेला राष्ट्रपतिले नदिए पनि उपराष्ट्रपतिले संवैधानिक रूपमै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरियो । संविधानमा गरिएको यो संशोधनपछि यसको प्रयोग राष्ट्रपति रोनाल्ड रेगन गोली लागेर घाइते भई उपचारका लागि १२ दिन अस्पताल भर्ना हुँदा एकपटक र राष्ट्रपति जर्ज डब्लू बुस उपचारार्थ अस्पताल भर्ना हुँदा दुईपटक भयो । तर, यी तीनैपटकको प्रयोग राष्ट्रपति स्वयंले स्वेच्छाले गरेका हुन् । 

अमेरिकी संविधानको २५औँ संशोधनले परिकल्पना गरेको र त्यसको समाधानका लागि गरेको व्यवस्थाअनुसारको अवस्था इजरायलमा आयो । त्यहाँ पदमै छँदा प्रधानमन्त्री एरियल स्यारोनलाई भीषण हृदयाघात भयो र उपचारार्थ अस्पताल भर्ना भए । उनी दैनिक कामकाज गर्न नसक्ने मात्र नभई अख्तियारी दिनसमेत नसक्ने अवस्थामा भएका वेला ओलमर्ट पूर्ण अधिकारसम्पन्न कार्यवाहक प्रधानमन्त्री बने । यो त्यहाँ विद्यमान कानुनी व्यवस्थाका कारण सहजै सम्भव भयो । 

हुन त शासन गर्न बिमारी नै ठूलो बाधक हुँदैन भन्ने दृष्टान्त अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टले दिएका छन् । पोलियोपीडित उनी चारपटकसम्म अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए र ‘ह्विलचेयर’मै बसेर अमेरिका र युरोपमा छाएको महामन्दीको सफलतापूर्वक सामना गरे । त्यति मात्र होइन, दोस्रो विश्वयुद्धको निर्णायक वेलासम्म पनि उनले अमेरिकाको नेतृत्व गरे । यो बेग्लै हो कि त्यहीवेला भीषण हृदयाघातबाट उनको मृत्यु भयो र त्यसपछिको बाँकी काम गर्ने अवसर हेरी ट्रुमनले पाए । 

नेपालमै पनि प्रधानमन्त्री पदमै भएका वेला प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा दाग देखियो र अमेरिकामा जँचाउँदा त्यो क्यान्सरको प्रारम्भिक अवस्था भन्ने निक्र्योल भयो । परिणामस्वरूप ‘रेडियोथेरापी’ उपचारका लागि दुई साता त्यतै बस्नुपर्ने भयो । अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार त्यस कालखण्डमा उपप्रधानमन्त्री वामदेव गौतम कार्यवाहक प्रधानमन्त्री हुने अवस्था आयो । कसो प्रधानमन्त्री कोइराला चाँडै स्वस्थ भई नेपाल फर्केकाले सम्भावित शून्यताबाट मुलुक छिटै बाहिर आयो । 

अब अहिलेको ज्वलन्त विषयमा आऔँ । प्रधानमन्त्री ओली मिर्गौला पुनः प्रत्यारोपणबाट तंग्रेर दैनिक कामकाजमा फर्कन कम्तीमा तीन महिना लाग्न सक्छ । त्यस अवधिका लागि मुलुक त मानसिक रूपमा तयार रहनैपर्छ, सत्तारुढ दल, मन्त्रिपरिषद् र शासन सञ्चालनका अन्य अवयव पनि तयार बस्नैपर्छ । दैनिक कार्यसञ्चालनका लागि संविधानतः उपप्रधानमन्त्री कार्यवाहक भई मन्त्रिपरिषद्ले काम गर्ने संवैधानिक व्यवस्था छँदै छ । अन्य मुलुकमा पनि यस्ता अभ्यास भएका सन्दर्भलाई हेर्दा यो अवस्था नितान्त नौलो होइन ।

हुन त हाम्रो मुलुकका लागि पनि यो नितान्त नौलो परिदृश्य होइन, किनकि विगतमा प्रधानमन्त्री सुशील कोइरालाका पालामा पनि, अल्पावधिका लागि नै सही, यस्तो अभ्यास भइसकेकै छ । स्वयं प्रधानमन्त्री ओलीले पनि आफ्नो उपचार अवधिमा राज्य सञ्चालनका पेचिला विषयमा उल्झिने विगतको बानीबाट आफूलाई अलग राख्नुपर्छ । यसअघि उपचारका क्रममा सिंगापुर बसाइका वेला क्याबिनेट बैठकका लागि नयाँ प्रविधि प्रयोगका नाममा ‘भिडियो कन्फरेन्सिङ’ जस्तो बचकना हरकत गरिरहनु पनि जरुरी छैन । फेरि आफ्नो ‘विल पावर’ बढी छ भन्ने देखाउन समयभन्दा अघि नै ताहुरमाहुर देखाउनु पनि प्रत्युत्पादक हुन सक्छ । आगे स्वविचार ! उपचारपछि स्वास्थ्यलाभ गरी शीघ्र मुलुकको कामकाजमा फर्कने शुभकामनासहित !