Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०७:५३:००
Read Time : > 2 मिनेट
नयाँCity

पहाडमा खडेरी धनगढीमा सहरीकरण

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०७:५३:००

सहर संवाद

०२२ र ०२३ सालमा सुदूरपश्चिमका पहाडी जिल्लामा खडेरी र भोकमरी भयो । अनि, पहाडका मानिस धनगढी झर्न थाले ।
व्यवसायी गोपाल हमाल ०२४ सालमा धनगढी आउँदा पक्की घर थोरै थिए । बजार थिएन, एउटा सडकको दायाँ–बायाँ बनेका घरले बजारको स्वरूप दिएका थिए । एक मात्र पञ्चोदय स्कुलभित्रै त्रिनगर प्राइमरी स्कुल पनि सञ्चालन हुन्थ्यो । ‘त्यसवेला निजी विद्यालय खोल्ने अनुमति थिएन । अनुमतिका लागि हामीले तत्कालीन बडामहारानी ऐश्वर्यका नामबाट स्कुल खोल्ने प्रस्ताव ग-यौँ,’ पूर्वअधिवक्ता गगनराज भट्ट (८८ वर्ष) भन्छन्, ‘प्रस्ताव स्वीकृत भयो र धनगढीमा ०३४ सालतिर पहिलो निजी विद्यालय खुल्यो, जसमा आठजना विद्यार्थी थिए ।’

हमालका अनुसार अञ्चलाधीश, प्रशासन, मालपोत, प्रहरी, राष्ट्र बैंक र हुलाक कार्यालयहरू थिए । हालको प्रदेश सभा बसेको भवनमा जिल्ला प्रशासन थियो । धनगढी उपमहानगरपालिका कार्यालय रहेको ठाउँ बेतको झाडी थियो । हालको रेडक्रस भवनको उत्तरतर्फ मसानघाट थियो । अञ्चलाधीश र प्रशासन कार्यालयमा सिमेन्टका गेट थिए र गेटका दुवैतिर हरेक साँझ लाल्टिन बालिन्थ्यो ।

भारतको गौरीफन्टा नाकासम्म हरेक बिहान एउटा रेल आउँथ्यो । मोहना नदीको काठेपुल तरेर मान्छेहरू गौरीफन्टा पुग्थे । त्यतिवेला सुदूरपश्चिमबाट भारत प्रवेश गर्ने एक मात्र नाका थियो, गौरीफन्टा । ‘यो आफैँ बस्दै गएको सहर हो,’ व्यवसायी हमाल भन्छन्, ‘०३१ सालतिर लक्ष्यबहादुर गुरुङ अञ्चलाधीश बनेर आएपछि बजारलाई व्यवस्थित गर्ने कदम चाले । र, उनकै पालामा धनगढीको स्वरूप केही फेरियो ।’ तत्कालीन ‘गाउँ फर्क अभियान’मार्फत जनश्रमदान जुटाएर अञ्चलाधीश गुरुङले एलएन चोक–हसनपुर सडक र राष्ट्र बैंक–शिवनगर सडक खनाए । त्यसपछि जेनेरेटरबाट बजारमा बिजुलीको वितरण थालियो ।

डडेलधुरासम्म राजमार्ग निर्माणका लागि धनगढीमा आयोजना कार्यालय स्थापना भयो । सोही कार्यालयले पहिलोपटक धनगढीमा पनि सडक कालोपत्रे ग¥यो । डडेलधुरासम्म सडक बनेपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरू धनगढीसँग जोडिए । त्यसपछि नै हो, यहाँ सडक, अस्पताल, खानेपानीजस्ता पूर्वाधार विकास भएको पनि । ०३७ सालमा कैलाली क्याम्पस स्थापना भएपछि धनगढी शिक्षाको हब बन्न थाल्यो । त्यसको केही वर्षपछि इन्जिनियरिङ, ओभरसियर, स्टाफ नर्सलगायत प्राविधिक शिक्षा पढाइ हुने निजी कलेज खुल्न थाले ।

०४० सालतिर जिल्ला अस्पताललाई सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरियो । सुदूरपश्चिमका बासिन्दाले स्थानीय स्तरमै उपचार पाउन थाले । धनगढीबाट देशका अन्य प्रमुख सहरमा सीधा बस सञ्चालन हुन थालेपछि यातायातको पहुँच बढ्यो । जहाज चल्न थालेपछि काठमाडौंसँग धनगढीको सीधा सम्पर्क भयो ।

०६० को दशकमा मात्र राष्ट्रिय स्तरका सभा, सम्मेलन र खेलकुद प्रतियोगिताहरू हुन थाले । ‘यसबीचमा तयार भएको सामाजिक विविधताले धनगढीको विकासमा महत्वपूर्ण योगदान दियो,’ व्यवसायी हमाल भन्छन्, ‘सहरीकरण र जनसंख्या बढ्ने क्रमसँगै राजनीतिको पनि केन्द्र बन्यो ।’ पूर्वअधिवक्ता भट्टका अनुसार कैलालीको चौमाला र मालाखेतीमा रहेका दुईवटा मन्डी ०१० सालमा धनगढी सार्ने निर्णय भयो । तर, सरेको वर्षदिनमै दुवै मन्डी पुरानै ठाउँमा पुनस्र्थापित भए ।

वि.सं. १९८८ तिर कैलालीको सदरमुकाम बेलौरीबाट धनगढी सारिएको थियो । ०१६ सालमा कांग्रेस नेता गणेशमान सिंह यातायातमन्त्री हुँदा धनगढी–अत्तरिया राजमार्ग बनाउने निर्णय भयो । सोही परियोजनाले अत्तरियाबाट धनगढीस्थित हालको जिल्ला प्रहरी कार्यालयसम्म सडक तयार पा-यो । ०२२ र ०२३ सालमा सुदूरपश्चिमका पहाडी जिल्लामा खडेरी र भोकमरी भयो । अनि, पहाडका मानिस धनगढी झर्न थाले ।

८२ वर्षीय सत्यराज पनेरूका अनुसार यहाँ जनघनत्व भने ०३५ सालपछि मात्र बढेको हो । ‘अहिले बाक्लो बस्ती रहेको हसनपुर क्षेत्रमा खेतीयोग्य जमिन थियो,’ पनेरू भन्छन्, ‘उतिवेलाको धनगढी र अहिलेको धनगढीमा धेरै फरक छ ।’ पनेरू ०२७ सालमा धनगढी आउँदा हालको जिल्ला प्रशासनअगाडि शिवमन्दिरनजिक सानो बजार मात्र थियो । उनका अनुसार हालको मुक्त कमैया शिविर बसेको ठाउँमा पहिले विमानस्थल थियो । ०३४ सालमा धनगढी नगरपालिका गठन भयो । नगरपालिकाले सडक खोल्दै गएपछि बजार पनि विस्तार हुन थालेको पनेरू बताउँछन् ।