१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतीय दूतावासलाई नेमकिपाको विरोधपत्र

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०७:३९:००

कालापानी र लिपुलेकअंकित भारतीय नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले भारतीय दूतावासमा विरोधपत्र बुझाएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पार्टीले जिल्ला र क्षेत्रीयस्तर हुँदै काठमाडौं उपत्यकामा प्रदर्शन र धर्नापछि विरोधपत्र बुझाएको केन्द्रीय सदस्य सुरेन्द्रराज गोर्साइंले बताए ।

नेमकिपाले काठमाडौंमा सोमबार रत्नपार्कदेखि लैनचौरसम्म प्रदर्शन गरेको थियो । यसअघि पार्टीका संगठन भएका २५ भन्दा बढी जिल्लामा पनि विरोध प्रदर्शन गरिएको गोर्साइंले जानकारी दिए । नेमकिपाले बुझाएको विरोधपत्रमा भारतले नेपाली भूमिप्रति गरेको बलमिचाइँको कारण दुई देशबीचको सम्बन्धमा गतिरोध उत्पन्न भएको उल्लेख छ । नेमकिपाले अतिक्रमित भूमि तत्काल फिर्ता दिन समेतमाग गरेको छ ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ज्ञापनपत्र बुझाउँदै नेपाल र बेलायत–भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पश्चिमसम्मको भाग नेपालकै भएको धारणा राखे । उनले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्ब खारेज गर्नुपर्ने बताए । 

विरोधपत्र बुझ्दै भारतीय दूतावासका द्वितीय सचिव डा. अजय कुमारले नेपाली जनताका माग र धारणाबारे आफूहरू जानकार भएको प्रतिक्रिया दिए । सीमा विवादको समस्या आपसी छलफलमा टुंग्याउनुपर्ने बताउँदै ज्ञापनपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु-याउने उनले बताए । 

प्रदर्शनका क्रममा दूतावास घेराउ गर्दै नेमकिपाका नेता–कार्यकर्ताले भारतीय हस्तक्षेप बन्द गर्, भारतको नक्सा खारेज गर्, कालापानी हाम्रै हो, लिपुलेक पनि हामै्र हो, भारतीय सेना कालापानी छोड् भन्दै नाराबाजीसमेत गरेका थिए । धर्ना र प्रदर्शनमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिर्जना सैँजू, नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलगायत केन्द्रीय नेता–कार्यकर्ता सहभागी थिए ।