१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०७:२७:००
Read Time : > 2 मिनेट
अर्थ

मानव विकासमा दक्षिण एसियाको  छलाङ, तर नेपाल कमजोर

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०७:२७:००

मानव विकासमा नेपाल सार्कमा पाँचौँ, १८९ मुलुकमध्ये १४७औँ स्थानमा

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गर्ने मानव विकास प्रतिवेदनमा नेपाल एक स्थान माथि उक्लिएको छ । युएनडिपीका अनुसार मानव विकास मापन गरिएका १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल १ सय ४८औँ स्थानमा थियो । 

युएनडिपीको रिपोर्टअनुसार सन् २०१८ मा नेपालको मानव विकास सूचकांक मूल्य ०.५७९ पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा ०.००५ अंकले बढी हो । सन् २०१७ मा नेपालको मानव सूचकांक मूल्य ०.५७४ र सन् २०१६ मा ०.५७२ रहेको थियो । 

नेपाल मध्यम मानव विकास सूचकांकको श्रेणीमा रहेको छ । नेपाल र अफ्रिकी मुलुक केन्याको मानव विकास सूचकांक समान देखिएको छ । १ सय ८९ मुलुकमध्ये ६२ वटा मुलुकमा धेरै उच्च मानव विकास रहेको छ । त्यस्तै, उच्च मानव विकास भएका मुलुक ५४ वटा र मध्यम मानव विकास भएका मुलुक ३७ वटा रहेका छन् । कम मानव विकास भएका मुलुकको संख्या ३६ वटा रहेका छन् । 

समीक्षा अवधिमा नेपालमा लैंगिक समानतामा भने राम्रो सुधार देखिएको छ । नेपालको लैंगिक विकास सूचकांक ०.८९७ रहेको छ । महिलाको मानव विकास सूचक ०.५४९ रहेको छ भने पुरुषको ०.६१२ रहेको छ । नेपालीको औसत आयु ७०.५ वर्ष रहेको छ, जसमा महिलाको औसत आयु ७१.९ वर्ष र पुरुषको ६९ वर्ष रहेको छ । कुल प्रतिव्यक्ति राष्ट्रिय आय (जिएनआई) २ हजार ७ सय ४८ अमेरिकी डलर रहेको छ । यसमा महिलाको जिएनआई २ हजार १ सय १३ अमेरिकी डलर र पुरुषको ३ हजार ५ सय १० अमेरिकी डलर छ । 

१९९० देखि नेपालको मानव विकास 
बितेका तीन दशकमा नेपालको मानव विकास सुस्त नै रहेको देखिन्छ । करिब ३० वर्षअघि सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३८० रहेको थियो । त्यसपछि सन् २००० मा नेपालको मानव विकास सूचकांक ०.४४६, सन् २०१० मा ०.५२७, सन् २०१५ मा ०.५६८ र सन् २०१७ मा ०.५७४ अंक पुगेको छ । सन् १९९० देखि २०१८ सम्म नेपालले वार्षिक औसत मानव विकास सूचकांक १.५२ रहेको छ । यस अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१ वर्ष, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ ।

दक्षिण एसियाको फड्को 
समीक्षा अवधिमा मानव विकासमा दक्षिण एसियाले फड्को मारेको छ । १९९० देखि २०१८ सम्ममा दक्षिण एसियाले मानव विकासमा ४६ प्रतिशतको वृद्धि हासिल गरेको छ । दक्षिण एसियामा औसत आयु र बालबालिकाको विद्यालय जाने अवधिमा पनि ठूलो वृद्धि भएको युएनडिपीको प्रतिवेदनले देखाउँछ । यद्यपि, दक्षिण एसियामा लैंगिक असमानता भने अझै उच्च देखिएको छ । 

पहिलो नर्वे, अन्तिममा नाइजर
युएनडिपीका अनुसार मानव विकासमा ०.९५४ सूचकांकका साथ नर्वे पहिलो स्थानमा रहेको छ । पश्चिम अफ्रिकी मुलुक नाइजर ०.३७७ सूचकांकका साथ मानव विकासमा अन्तिम अर्थात् १८९औँ स्थानमा रहेको छ । धेरै उच्च मानव विकास भएका १० मुलुकमा एसियाका हङकङ र सिंगापुर परेका छन् । त्यस्तै, अमेरिका तथा बेलायत १५औँ स्थानमा, दक्षिण कोरिया २२औँ स्थानमा र चीन ८५औँ स्थानमा रहेका छन् ।

सातै प्रदेशमा प्रतिवेदन सार्वजनिक
युएनडिपीले नेपालको राजधानी काठमाडौंका साथै सातै प्रदेशका राजधानीमा एकैपटक मानव विकास प्रतिवेदन सार्वजनिक गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज खतिवडाले युएनडिपीको मानव विकास प्रतिवेदन सार्वजनिक गरे । उनले नेपाल सरकारले प्रतिवेदन पढ्ने, त्यसलाई नेपालको विकासको छलफलमा समावेश गराउने बताए । प्रतिवेदनलाई देखाएका तथ्यांकका आधारमा विकासको छलफल अघि बढाउने प्रतिबद्धतासमेत उनले जनाए । अर्थमन्त्री खतिवडाले नेपालले आन्तरिक रूपमा सबैखाले असमानता अन्त्य गर्ने बताउँदै विश्वमा पनि देश–देशबीचको असमानता हट्नुपर्ने बताए ।