मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०६:३६:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता

नेताहरूसँग सर्त राखेर म राजनीतिमा आएकी होइन : विद्या भट्टराई

Read Time : > 5 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०६:३६:००

१४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा सत्तारुढ नेकपाका तर्फबाट कास्की–२ मा प्रतिनिधिसभा सदस्य चुनिएकी विद्या भट्टराईले तत्कालीन नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुबाट राजनीति थालेकी हुन् । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा गत फागुनमा निधन भएपछि रिक्त निर्वाचन क्षेत्र कास्की–२ मा नेकपाले उनकै जीवनसंगिनी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । नवनिर्वाचित भट्टराईसँग पोखरामा नयाँ पत्रिकाका लागि  गोविन्द सुवेदीले गरेको कुराकानी :

विद्या भट्टराई, नेकपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित, कास्की– २

उपनिर्वाचनमा कास्की–२ बाट तपाईं प्रतिनिधिसभामा चुनिनुभएको छ । कस्तो महसुस गर्दै हुनुहुन्छ ? 
यो खास परिस्थितिमा भएको निर्वाचन हो । यसमा स्वाभाविकै रूपमा हाम्रो पार्टीले हिजोको बिरासतलाई कायम गरेको छ । यो निर्वाचनबाट नेकपामाथिको विश्वास, रवीन्द्र अधिकारीमाथिको सम्मान र विद्या भट्टराईमाथिको भरोसा जनतामा रहेको महसुस गरेकी छु ।

निर्वाचनमा खसेको मत तपाईंप्रति जनताको सहानुभूति बढी हो कि रवीन्द्र अधिकारीप्रति सम्मान ? 
यसमा सबै कुराले काम गरेजस्तो लाग्छ । मैले भनिहालेँ, पार्टी र रवीन्द्रजीप्रतिको विश्वास साथै सम्मान अनि मलाई देखाइएको सहानुभूति सबै उत्तिकै हो । रवीन्द्रजीप्रति जनताको जुन सामीप्यता थियो, त्यो मप्रति पनि जनताले राख्नुभएको छ । अर्को कुरा मलाई पार्टीले सर्वसम्वत रूपमा उम्मेदवार बनाउनु, पार्टीले जिताउन गरेको मेहनत र नेता–कार्यकर्ताको खटाइले यो विजय हासिल भएको हो । पार्टीले जुन सर्वसम्मत निर्णय गर्‍यो, यसले जनता र पार्टीका सम्पूर्ण नेता–कार्यकर्तामा उत्साह ल्याइदियो । महिलाहरूमा आएको उत्साह, उत्पीडित, जनजाति र भूपूसैनिक, सुकुम्बासीलगायत सबै पक्ष उत्तिकै खटेर नतिजा निस्केको हो । जनताले पार्टी, रवीन्द्रजी र म सबैलाई स्वीकार गरेको कुरा सत्य हो । यसमा कुन बढी र कुन कम भन्ने हुँदैन । सबैको भूमिका सशक्त भएर यो परिणाम आएको हो । 

हिजो विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । छाडेर प्राज्ञिक क्षेत्रमा लाग्नुभयो । संसदीय निर्वाचनको अनुभव नभएको व्यक्ति एकैपटक निर्वाचनमा होमिँदा डराउनु पनि भएको थियो कि ?
पहिलो, विद्यार्थी राजनीति गर्दा दुईपटक स्ववियु निर्वाचन लडिसकेको हुँदा निर्वाचन कस्ता–कस्ता हुन्छन् भन्ने मलाई अनुमान थियो । यो निर्वाचन एउटा दुःखद् अवस्थापछि हामी लड्दै थियौँ । समवेदना सबैमा थियो । त्यो जनता र पार्टीपंक्तिमा पनि थियो । त्यो संवेदनशील अवस्थामा पनि प्रतिस्पर्धीले आरोप लगाए । त्यसलाई हाम्रो पार्टीले चिर्‍यो ।

दोस्रो, यो स्वाभाविक रूपमा मेरा लागि नयाँ अनुभव थियो । हिजो स्थानीय निर्वाचनदेखि मेरो आफ्नै घरको सहयोद्धा निर्वाचनमा होमिँदाका अनुभव मैले संगालेकी थिएँ । निर्वाचनमा अनेक प्रचार हुन्छन् भन्ने लाग्थ्यो । तर, राम्रो पक्ष यो निर्वाचनमा के पाएँ भने उम्मेदवार–उम्मेदवारबीच आरोप–प्रत्यारोप भएन । यद्यपि, निर्वाचनका बीचमा पार्टीगत रूपमा लगाइएका आरोप भने गम्भीर नै थिए । यस्तो वेला जनताले नेकपालाई विजयी गराउनुपर्छ, रवीन्द्रजीप्रति सम्मान गर्नुपर्छ र विद्या भट्टराईमाथि भरोसा गर्नुपर्छ नभनेको भए यो सफलता आउने थिएन ।


रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा निर्वाचन लड्नुपर्ला भन्ने सोच्नुभएको थियो ? 
मैले कल्पना नै नगरेको कुरा जीवनमा आइलाग्यो । मेरो र रवीन्द्रजीको प्रेम विवाह भएको हो । विगतमा सक्रिय राजनीतिक कार्यकर्ता रहँदा रहँदै सहयोगीको रूपमा भूमिका निर्वाह गरेँ । रवीन्द्रजीले एउटा राजनीतिक हाइट लिइसक्नुभएको थियो । जिन्दगीको यात्रा हामीले जुन ढंगले बढाइरहेका थियौँ । त्यसमा हामी दुवै सन्तुष्ट थियौँ । अचानक जीवनले अर्कै मोड लियो । त्यसलाई स्वीकार गर्नैपर्ने अवस्था आयो । मलाई अहिलेकाहीँ कताकता रवीन्द्रजी आउने हो कि भन्ने अनुभूति हुन्छ । उहाँको नाम लिँदा पनि मन भारी भएर आउँछ ।

तपाईं सुरुमा त उम्मेदवार बन्न मान्नुभएकै थिएन भन्ने कुरा कत्तिको सत्य हो ?
उम्मेदवार बन्न नमानेको भन्दा पनि केही प्रश्नहरू मनमा उठेका थिए । कतिले भने नि– श्रीमती उम्मेदवार बनायो भनेर ! यद्यपि, नागरिकले त्यो आरोप स्वीकार गरेनन् । म राजनीतिमै नभएर आएकी त थिइनँ नि । तर, मलाई अरू हुँदाहुँदै त किन जाने भन्ने लागेकै हो । पार्टीका अग्रज योग्य उम्मेदवार हुनुहुन्छ भने म किन जाने भन्ने लागेकै हो । निरन्तर रूपमा आन्दोलनमा होमिनुभएका र राजनीतिलाई जीवन भनेर लाग्नुभएकाहरूलाई अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मेरो प्रस्ट मान्यता थियो । पछि पार्टीले सर्वसम्मत रूपमा मलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

कतिले भने नि– श्रीमती उम्मेदवार बनायो भनेर ! यद्यपि, नागरिकले त्यो आरोप स्वीकार गरेनन्, म राजनीतिमै नभएर आएकी त थिइनँ नि । तर, मलाई अरू नेताहरू हुँदाहुँदै उम्मेदवार नबनूँ कि  भन्ने लागेकै हो

पार्टीले भन्यो, ‘रवीन्द्रजीको योगदान र उहाँप्रतिको सम्मानका लागि तपाईं जानुपर्छ । यसपटकको निर्वाचनमा रवीन्द्रजीसँग जोडिएको जनताको सम्बन्ध छ । त्यो सम्बन्धलाई तपाईंले नेतृत्व गर्नुपर्छ ।’ पार्टीबाट यस्तो सद्भावपूर्ण प्रस्ताव आयो । त्यति मात्र होइन, तपाईं  हिजो आन्दोलनले स्थापित गरेको मान्छे, सक्रिय राजनीतिबाट सहयोगी राजनीतिमा जानुभयो, अब त्यो भूमिका मात्र परिवर्तन गर्नुपर्छ भनेर कन्भिन्स गर्नुभयो । त्यसपछि मैले राजनीतिक जीवन पुनः सुरु गरेकी हुँ । रवीन्द्र अधिकारीले जुन एउटा लक्ष्य बोक्नुभएको थियो, त्यो लक्ष्य पूरा गर्ने काममा म प्रतिबद्ध भएर लाग्नेछु । मेरो यो रूपान्तरण हो । यसमा निर्णय लिन केही समय लागेको सत्य हो । पार्टीको निर्णय पनि हेर्नुपर्ने थियो । पार्टीले जुन निर्णय ग-यो, त्यसलाई मैले स्वीकार गरेकी छु । 

राजनीतिक भविष्यका लागि शीर्ष नेताहरूसँग सहमति गरेर निर्वाचनमा जानुभयो पनि भनिएको छ नि ? 
त्यो सत्य होइन, म कुनै सर्त राखेर राजनीतिमा आएकी छैन । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई सिफरिस गर्‍यो । त्यो रवीन्द्र अधिकारीप्रतिको सम्मान हो । मेरो योगदानको सम्मान हो । जब एक सय ५५ सदस्यीय जिल्ला कमिटीले सर्वसम्मत निर्णय गर्‍यो, त्यो चानेचुने कुरा थिएन । त्यसलाई मैले हार्दिक रूपमा लिएकी छु । नेतृत्वसँग सर्त राखेर राजनीतिमा आएकी होइन । जीवनमा जहिले पनि कर्मसँग विश्वास गर्छु । मेरो रवीन्द्रसँग प्रेम विवाह थियो, तर कुनै सर्त राखिनँ । न परिवारसँग कुनै सर्त राखेँ । मेरो बाआमासँग पनि कुनै सर्त राखिनँ । मैले हरेक कुरालाई सम्बन्धको रूपमा व्याख्या गर्छु । मैले राम्रोसँग काम गर्न सकेँ भने जिम्मेवारी अवश्य आउँछन् । सम्भावना देख्ने मान्छेले कुनै सर्त राख्न जरुरी हुँदैन । 

निर्वाचनभरि पनि रवीन्द्र अधिकारीकै सपनाका कुरा गर्नुभयो । रवीन्द्रका सपना मात्रै पूरा गर्ने कि तपाईंका पनि सपना र योजना छन् ?
होइन, मैले उहाँ (रवीन्द्र)का सपना भन्न खोजेको होइन । उहाँको योजनाको कुरा गरेको हो । भाषणमा पनि मैले यसलाई केही पुष्टि गर्न खोजेकी थिएँ । सपना भनेकै योजना हो । यसमा भ्रम पाल्नुपर्दैन । उहाँको पाँचवर्षे कार्यकालअन्तर्गतको बाँकी अवधिका लागि म निर्वाचित भएकाले मेरा छुट्टै योजना छैनन् । रवीन्द्रका सपना वा योजना नै हाम्रा हुन् भनेर कांग्रेसका उम्मेदवार खेमराजले पनि भन्नुभएको थियो । निर्वाचनमा मैले र मेरो पार्टीले जनताबीच धेरै वाचा गरेको छ ।

म रवीन्द्रजीकै पाँचवर्षे कार्यकालको बाँकी अवधिका लागि चुनिएकाले मेरा छुट्टै योजना छैनन्, रवीन्द्रका सपना वा योजना नै हाम्रा हुन् भनेर कांग्रेस उम्मेदवार खेमराज पौडेलले पनि भन्नुभएकै थियो

सेतो पुर्जा पाएका सुकुम्बासीलाई रातोपुर्जा दिन्छौँ भनेर पार्टीले घोषणा गरेको छ । त्यो काम एक वर्षमा पूरा हुन्छ । पोखराको बसपार्क बनाउने, खानेपानी आपूर्तिको व्यवस्था गर्नेलगायत सबै एजेन्डा स्थानीय र प्रदेश सरकारसँग निरन्तर सहकार्य गरेर पूरा हुनेछन् । पोखरा पर्यटकीय राजधानी मात्र होइन, यसलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कुरामा मेरो सक्रियता हुनेछ । महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, पीछडिएको वर्ग, समुदायलगायत सबैको हित हुने गरी नीति निर्माण गर्न संसद्मा सशक्त भूमिका खेल्छु । साथै, निर्वाचन क्षेत्रमा सांसदका हिसाबले विकास बजेटलाई परिचालन गर्ने काममा समन्वय गर्नेछु । कहीँकतै प्रश्न नउठ्ने गरी पारदर्शी ढंगले जनताको काम गरेर देखाउनेछु । 

प्राज्ञिक व्यक्तित्व संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । राजनीतिक यात्रामा आइपुग्ने जोखिम र उतारचढावको आँकलन गर्नुभएको छ ? 
मैले हिजो सक्रिय राजनीति गर्दाका धेरै साथीहरू अहिले राजनीतिका विभिन्न ओहोदामा हुनुहुन्छ । उहाँहरूले मलाई राम्ररी चिन्नुभएको छ । अबको समय काम गरेर देखाउनुपर्नेछ । मैले काम गर्न सकेँ, जनताले दिएको जिम्मेवारी पूरा गर्न सकेँ भने अगाडि बढ्न सक्छु । काम गर्दै जाँदा अगाडि बढ्न पनि सकिन्छ, पछाडि पर्न पनि सकिन्छ । हामी सक्षम बन्न प्रतिस्पर्धात्मक क्षमतामा विकास गर्नैपर्छ । राजनीतिमा प्रतिस्पर्धा गर्न स्वाभाविक रूपमा गाह्रो छ नै । पद्धति र संयन्त्र विकास नहुँदा केही समस्या छन् । तर पनि पार्टीहरूले के कुरालाई स्वीकार गरेका छन् भने संविधानले ३३ प्रतिशत महिला आरक्षण दिनुपर्छ । त्यसमा पार्टी र नेताहरू कन्भिन्स हुनुहुन्छ । महिला समावेशिता भन्ने कुरा स्थापित भइसकेको छ । त्यो समावेशिताभित्र पनि स्थापित गर्ने ढ्रंगले अगाडि बढ्नुपर्छ । 

वाइडबडीमा भएको भनिएको अनियमिततालगायत विषयमा रवीन्द्र अधिकारीले आफूलाई सफाइ दिन पाउनुभएन । ती विषय निर्वाचनमा पनि उठाइए । त्यसबारे के भन्नुहुन्छ ?  
यसको जवाफ मतदाताले दिइसकेका छन् । रवीन्द्रजी एउटा भ्रष्ट आचरण भएको व्यक्ति भन्ने बुझाइ पोखरेली जनतामा थियो भने मत परिणाम यस्तो आउने थिएन । जनताले ‘तिमी अगाडि बढ हामीले साथ दिन्छौँ’ भनेका छन् । अब कतिपयका प्रश्न बाँकी छन् भने आयोग बनाएर जाऊँ । सबै विषयमा छानबिन होस् । गल्ती भएको रहेछ भने स्वाभाविक रूपमा कारबाही भोग्नुपर्छ । यसलाई निर्वाचनको मसला मात्रै नबनाऊँ । प्रमाण भेटियो भने कारबाही हुनुपर्छ त मैले हिजोदेखि भनेकै छु ।

नेपाली राजनीतिमा कसैप्रति प्रश्न उठाउने, आरोप लगाउने तर त्यसको अन्तिम छिनोफानो नहुने परम्परा छ । रवीन्द्रजीका बारेमा पनि त्यस्तै नहोला भन्ने के आधार छ ? यसमा तपाईं आफैँले केही पहल गर्नुहुन्छ कि ? 
हामीकहाँ व्यक्ति मन परेन भने आरोप लगाइदिने प्रचलन छ । हिजो हामी भावनाका आधारमा चल्थ्यौँ, अब सम्बन्धका आधारमा समाज चल्छ । अब भने आरोपभन्दा पनि प्रमाणले काम गर्नुपर्छ । अहिले सतही ढंगले आरोप लगाएर मिल्दैन । गलत भएका कुरालाई पुष्टि गर्ने प्रमाण पेस गर्नुपर्छ । तथ्य–प्रमाण हुनुपर्‍यो, त्यसका आधारमा आरोप लगाइनुपर्छ । आरोप आइसकेपछि संयन्त्र बनाएर छानबिन गर्‍यो भने त्यसको निराकरण हुँदै जान्छ ।

हामीकहाँ आफ्ना वेलामा भएका कमजोरीलाई पन्छाएर अरूलाई दोष लगाउने परिपाटी छ । जस्तो वाइडबडीका विषयमा हिजोदेखि जोडिएका विभिन्न पात्र छन् । त्यसमा रवीन्द्र अधिकारी, रवीन्द्र अधिकारीको पार्टी र उनकी धर्मपत्नी निर्वाचनमा गइरहेका वेला आरोप लगाएर मात्रै हुन्छ ? हाम्रो पार्टी सरकारमा छ । आफ्नो पार्टीको कार्यकर्तामाथि आएका आरोप र नेतृत्वमाथि आरोपको समयमै निराकरण गर्न सक्यो भने विश्वास बढ्छ । त्यसकारण समयमै छानबिन होस् र निराकरण गरियोस् भन्न चाहन्छु ।

तस्बिर : सतिश पोखरेल