Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७६ मङ्सिर २५ बुधबार ०८:२१:००
खेलकुद

१३ औं साग : आयोजना अस्तव्यस्त खेलाडीको प्रदर्शन उत्कृष्ट

२०७६ मङ्सिर २५ बुधबार ०८:२१:००

२० वर्षपछि घरेलु मैदानमा फर्किएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीले ऐतिहासिक प्रदर्शन गरेका छन् । खेलाडीले देशलाई अहिलेसम्मकै बढी अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । 

फुटबल फाइनल जितेर नेपालको पक्षमा ५१औँ साग स्वर्ण सुनिश्चित गरेपछि नेपाली फुटबल टिम । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

संख्याको दृष्टिकोणले नेपालले यसपटक साग इतिहासकै सर्वाधिक ५१ स्वर्णपदक जित्यो । तर, औसतमा यो उपलब्धि नेपालले २० वर्षअघि आठौँ सागमा हात पारेभन्दा कम हो । आठौँ सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो, त्यतिवेला जम्मा १२ खेलमा १६२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यसपटक २६ खेलमा ३२४ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपालले ५१ स्वर्ण जितेको हो । यसरी आठौँ सागमा नेपालले कुल स्वर्णको १९ दशमलव १४  प्रतिशत आफ्नो भागमा पारेको थियो । यसपटक कुल स्वर्णको १५ दशमलव ७४ प्रतिशत मात्रै नेपालको भागमा परेको छ । 

नेपालले केही खेलमा ऐतिहासिक स्वर्ण जितेको छ । साइक्लिङ, कुस्ती, ट्रायथलन र गल्फमा नेपालले इतिहासमै पहिलो स्वर्ण जितेको छ । बक्सिङ, एथलेटिक्स, भारोत्तोलनलगायत खेलमा महिलातर्फ पहिलोपटक स्वर्ण पदक जितेको छ । गौरिका सिंहले साग इतिहासको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपालीको कीर्तिमान बनाइन् । तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ, गल्फका सुवास तामाङले पनि एकै संस्करणमा दुई–दुई स्वर्णको कीर्तिमान बनाएका छन् । 

रमेशकुमार सिलवालले राखेप सदस्यसचिव बनेको तीन महिनामै साग आयोजना गरेर देखाएका छन् । उनले नियुक्ति पाएलगत्तै साग आयोजनामा केन्द्रित रहने बताएका थिए । विगतमा तीनपटक साग आयोजनाको मिति सरेको थियो, तर सिलवाल आएपछि मिति सरेन । यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालले पनि ठूला प्रतिस्पर्धा आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको छ । 

सन् १९८४ मा काठमाडौंबाटै सुरु भएको थियो साग । १९९९ दोस्रोपटक काठमाडौंमै भएको सागका खेल यसपालि काठमाडौंबाहिर पोखरा र जनकपुरमा पनि भए, यो सकारात्मक पक्ष हो । तर, आयोजकको हैसियतमा व्यवस्थित तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारी भने चुकेका छन् । यसअघि पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतमा भएका प्रतियोगिताभन्दा नेपालमा भएको आयोजना फितलो थियो । 

जबकी १२ औं सागको समापनकै दिन नेपाललाई १३ औं साग आयोजनका लागि झन्डा हस्तान्तरण गरिएको थियो । त्यसैले तीन वर्षमा नेपालले चाहेको भए पर्याप्त भौतिक संरचना तयार गर्न सक्ने थियो । तर, त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलभित्र भलिबल प्रतिस्पर्धा सुरु भइसक्दा बाहिरपट्टि सडकमा कालोपत्रे चल्दै थियो । अलकत्राको गन्धका कारण स्टेडियमभित्र प्रवेश गर्ने खेलाडीले मास्क प्रयोग गर्नुपर्‍यो । दुई वर्ष ढिलो गर्दा पनि तयारी नपुगेर उद्घाटनको अघिल्लो दिन रंगशालाको छानो हालिएको थियो । ढिला काम गर्दा प्यारापिटको छानो चीनबाट हवाई कार्गो गरेर ल्याउनुपर्‍यो, यसले राज्यलाई थप ५० लाख आर्थिक भार बढायो । अझ, तातो पानीसहितको  स्विमिङ पुल पनि प्रतियोगिता उद्घाटन भएपछि मात्र तयार भएको हो ।

साग आयोजनाका क्रममा झन्डै पाँच अर्ब रकम खर्च भएको छ । प्रतिस्पर्धा सुरु हुने दिनसम्म पनि १३ औं सागअन्तर्गतका खेल भेन्यूको मर्मत कार्य जारी नै थियो । आयोजक देशकै खेलाडीले खेलसामग्रीसमेत विदेशी खेलाडीसँग सापट माग्नुपर्‍यो । ५० र २५ मिटरको निशाना लगाउने इभेन्टमा सुटिङका खेलाडीसँग हतियार थिएन । १० मिटर एयर पिस्तोल र एयर राइफल नेपालीसँग हतियार थिए । तर आठौँ सागमा प्रयोग भएका २० वर्ष पुराना हतियार नपड्किएपछि नेपाली खेलाडी लज्जित हुनुपर्‍यो । त्यस्तै ट्रायाथलनका खेलाडीले पनि मागेर ल्याएको साइकल चलाएर देशलाई स्वर्ण दिलाए । 

आयोजकले प्रतियोगिता उद्घाटनको तीन दिनपछि मात्रै विदेशी पत्रकारलाई मिडिया किट्स उपलब्ध गराएको थियो । फुटबल, भलिबललगायत एकाध खेलबाहेक भेन्युमा मिडिया सेन्टरको व्यवस्था थिएन, जसकारण विजेताले आफ्ना प्रतिक्रिया सहज ढंगले स्वदेशी तथा विदेशी सञ्चारकर्मीसँग राख्न पाएनन् । ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भेन्युमै खेलअघि र खेलपछि पत्रकार सम्मेलन गरेर खेलाडीको प्रदर्शनबारे सञ्चारकर्मीलाई जानकारी दिइन्छ । 

तीन वर्षसम्म केही काम नगरेको राखेपले अन्तिममा समय नपुगेको भन्दै टेन्डर प्रक्रिया नै रद्ध गर्दै सिधैं कोटेशनमार्फत खेल सामाग्री खरिद गरेको छ । टेन्डरमार्फत आउँदा कम मुल्यमा पाइने सामान राखेपले कोटेशनमार्फत सिधै खरिद गर्दा आर्थिक हिसाबकितामा प्रश्न उठेको छ । 

२०७२ सालको भूकम्पपछि खेल संरचनामा क्षति पुग्दा नेपाली खेलकुदको भविष्यमा पनि लामो समय ग्रहण लागेको थियो, सागले केही हदसम्म खेलकुदको क्रेज फर्काएको छ । पूर्वाधारको पुनर्निर्माण भएको छ, तर यति ठूलो प्रतियोगिता आयोजना हुँदा पनि नयाँ पूर्वाधार निर्माण नहुनु बिडम्बना हो । जबकी, आठौं सागताका धेरै नयाँ संरचना तयार भएका थिए । 

राखेपका निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले विगतको नेतृत्वले साग आयोजनाका लागि पर्याप्त तयारी नगर्दा समस्या देखिएको बताए । ‘यसका लागि कर्मचारीले मात्रै गरेर हुने थिएन, राखेपका जिम्मेवार पदाधिकारी नै तात्नुपथ्र्यो, मन्त्रालयले सुरुबाटै अग्रसरता लिनुपथ्र्यो, तर विगतको नेतृत्वले चासो दिएन,’ उपाध्यायले भने, ‘अन्तिम अवस्थामा आएर सबै काम गर्दा केही कमि–कमजोरी देखिनु स्वभाविक हो ।’

अन्तर्राष्ट्रिय फुटबल हुनुअघि रंगशालाभित्र सांसद र कर्मचारीको रमिता, बाहिर सर्वसाधारणमाथि प्रहरीको बर्बरता

साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ रंगशाला सांसद र कर्मचारीलाई रमाइलोका लागि खुला गरियो । उनीहरूलाई फुटबल खेल्न आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नै व्यवस्थापन गरिदियो । 

‘फुटबलको स्वर्ण पदकअघि नै दर्शक र पाहुनाले रमाइलो खेल हेर्न पाउनुहुनेछ, यसका लागि हामीले सांसद र संसद्का कर्मचारीलाई खेलाउँदै छौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव रमेश सिलवालले नै भनेका थिए । यसरी मैदानमा रमिता गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । खेल हुनुअघि मैदान पूर्ण रूपमा खाली हुनुपर्छ । ‘अन्तर्राष्ट्रिय मात्रै होइन, राष्ट्रिय प्रतियोगिता चलिरहँदा पनि मैदान अन्य प्रयोजनका लागि खुला गर्नु गलत हो,’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘आयोजकले नै मैदानको संवेदनशीलता बुझेको देखिएन ।’

राखेपले सांसद–कर्मचारीलाई मैदानमा हुलेकोमा म्याच कमिस्नर मिन्डु दोर्जीले असन्तुष्टि जनाएका थिए । तर, आग्रह अस्वीकार गर्दै राखेपले खेल गराएको थियो । भित्र सांसदको रमिता चलिरहेका वेला बाहिर दर्शकमाथि प्रहरीले लाठीचार्ज सुरु भएको थियो । यो क्रम रंगशालाबाहिर साँझसम्म जारी रह्यो । आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री र पास वितरण गर्दा खेल सकिने वेलासम्म पनि दर्शकहरू भित्र छिर्न प्रयासरत थिए । सांसद र कर्मचारीको खेल हेर्न उनीहरूका आफन्त पहिले नै भित्र छिरेका थिए भने हातमा टिकट भएका दर्शकलाई व्यवस्थित रूपमा भित्र छिराउनुको सट्टा उल्टै लाठीचार्ज गरिएको थियो । कालीमाटीका डिएसपी रुगम कुँवर आफैँले लाठी हातमा लिएर दर्शकलाई कुटेका थिए भने सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर दर्शकलाई लात हान्दै थिए । प्रहरीको कुटाइबाट नागरिक दैनिकका पत्रकार सुमन चापागार्इं अस्पताल भर्ना भएका छन् ।