१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २६ बुधबार ११:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

नेकपा-कांग्रेसबीच सार्वजनिक लेखा समितिमा विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २६ बुधबार ११:३०:००

राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच विवाद भएको छ ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो । बैठकमा कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरेका थिए । त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दावी गर्दै आपत्ति जनाएका थिए ।

बैठकमा वाईडबडी विमान खरिद सम्बन्धबारे छलफल सकिएपछि सुरु भएको विविध शीर्षक अन्तर्गतको छलफलमा भाग लिँदै कांग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी पाउनुपर्ने बताएपछि दुई दलका नेताहरुबीच भनाभन सुरु भएको थियो ।

नेता रिजालको सो प्रस्ताव सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भित्र नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको तर्क थियो । उनले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दावी गरे । बैठकमा कांग्रेसका अर्का सांसद राजन केसीले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन सरकारसँग माग गरे ।

दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा भनाभन भइरहँदा बैठकमा समितिको वार्षीक कार्ययोजना बनाएर अघि बढने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाएका छन् ।