मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्लिमा नसरिन
२०७६ मङ्सिर २४ मंगलबार ०८:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

मृत्युदण्ड वा इन्काउन्टर समाधान होइन

Read Time : > 2 मिनेट
तस्लिमा नसरिन
२०७६ मङ्सिर २४ मंगलबार ०८:२८:००

के हामी आफ्नो हात मुटुमा राखेर भन्न सक्छौँ, जेलमा बसेका सबै अपराधी हुन् ? जेल जाने र यहाँसम्मको सजाय पाउनेमध्ये पनि केही निर्दोष हुन्छन् । गरिबी र असहाय हुनुका कारण धेरै मानिसले राम्रा वकिल पाउँदैनन् । उनीहरूका हकमा अदालती लडाइँ लडिदिने कोही हुँदैन । हामीलाई यो सबै थाहा छ, तर विषपूर्ण समाजमा हामी यस्तो सबै देख्न र सुन्न अभ्यस्त भइसकेका छौँ– सबैले न्याय पाउँदैनन् । धनाढ्य र प्रभावशाली व्यक्ति धेरैपटक अपराध गरेर पनि बच्न सक्छन् । बंगलादेशमा पछिल्ला केही वर्षयता पुलिसले मादक पदार्थको कारोबार गर्नेलाई घरबाटै उठाएर मार्छ र प्रेसलाई बताउँछ कि उनीहरू इन्काउन्टरमा मारिए । 

प्रहरीले जसलाई पक्रेर लगेको हुन्छ, के उनीहरू साँच्चै आफ्नो खल्तीमा हतियार बोकेर हिँड्छन् ? पुलिस इन्काउन्टरको वास्तविकता मैले त्यतिवेला थाहा पाएँ, जतिवेला एकपटक मैले यस्तै एक कारोबारी र पुलिसका जवानबीच भएको कुराकानीको भाइरल भिडियो सामाजिक सञ्जालमा देखेँ–सुनेँ । खासमा ती कारोबारीलाई उनकी छोरीले बारम्बार फोन गरेर उनी कहिले फर्कन्छन् भनेर सोध्दै थिइन् । एकपटक बाबुले मोबाइल अन गरे, त्यसपछि त्यो खल्तीमै रह्यो । छोरीले सुनिन्, पुलिसवाला उनका पितालाई मार्ने योजना बनाउँदै छन् । त्यसैक्रममा उनले पिताको रुवाइ र गोली चलेको आवाज सुनिन् । अर्को दिन अखबारमा पुलिस इन्काउन्टरमा कारोबारी मारिएको समाचार छापियो । 

सबै इन्काउन्टर संदिग्ध नै हुन्छन् भन्ने होइन । आतंकवादी प्रायः मुठभेडमै मारिन्छन् । तर, सरकारका शत्रु वा पुलिसका लागि असुविधाजनक केही मानिसलाई मादक पदार्थका कारोबारी या आतंकवादी बताएर मार्ने गरिन्छ । बंगलादेश, जहाँ गणतन्त्रको पर्वाह कसैलाई छैन, त्यहाँ यस्तो हुनु धेरै आश्चर्यजनक पनि होइन । बंगलादेशजस्तै भारतमा पनि यस्तै खबर वेला–वेला चर्चामा आउने गरेका छन् । पछिल्लो शुक्रबार हैदरावादमा यस्तै इन्काउन्टर भयो । यहाँ एक महिला डाक्टरलाई सामूहिक बलात्कार गरेपछि जलाएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेका चार आरोपितलाई इन्काउन्टर ग-यो । 

आज जो व्यक्ति इन्काउन्टरको खुसीमा उछालिएका छन्, उनीहरू भोलि अपराधी भएको आशंकामा पक्राउ पर्दैनन् भन्ने ग्यारेन्टी के छ ?

तर प्रहरीको तर्क विश्वसनीय देखिँदैन । आरोपितलाई घटनास्थलमा अपराधको कथा जोड्न लगिँदा प्रहरीसँग पर्याप्त जवान नभएको अवस्था प्रायः हुँदैन । साँच्चै अपराधी भाग्दै थिए भने पनि यस्तो परिस्थितिमा खुट्टामा गोली हानिन्छ, छातीमा होइन । उनीहरू आरोपित थिए, पहिले अदालतमा उनीहरूको दोष प्रमाणित गर्न दिनुपर्ने थियो, त्यसपछि अदालतले नै फैसला गर्ने थियो, उनीहरूलाई मृत्युदण्ड दिने वा आजीवन कारावासको सजाय । अदालतबाहेक कसैलाई पनि यस्तो फैसला गर्ने अधिकार छैन । पुलिसले नै न्याय दिन थाल्नु भयानक हुनेछ ।

गहिरिएर हेर्ने हो भने पूरै उपमहाद्वीपमा वास्तविक गणतन्त्र छैन । तर, यसको मतलब यो पनि होइन कि जे छ त्यसलाई उपेक्षा गर्नुपर्छ । चाहे जस्तोसुकै होस्, गणतन्त्रलाई प्रासंगिक बनाइराख्न जतन गर्न जरुरी छ । न्यायिक हत्याको सिलसिला सुरु भयो भने गणतन्त्र संकटमा पर्नेछ । आजकल बलात्कारजस्ता अपराधमा फाँसी दिनुपर्ने माग पनि उठिरहेको छ । तर, फाँसीले कुनै समाज सुध्रिँदैन । आँकडा हो भने जुन देशमा मृत्युदण्ड वैध छ, त्यहाँ अपराधको दर पनि अधिक छ । जहाँ, मृत्युदण्डमाथि रोक छ, त्यहाँ अपराधको दर कम छ । मृत्युदण्ड देखाएर अपराध रोक्न सकिन्न भन्ने प्रमाणित भइसकेको  छ ।

बलात्कारीलाई फाँसी दिएर बलात्कारमाथि अंकुश लगाउन सकिन्न । यसको सट्टा पुरुषलाई सर्वत्र नारीको अधिकार बराबर भएको शिक्षा दिनुपर्छ । महिलाको मानवअधिकार हनन गर्ने हक उनीहरूलाई छैन र त्यो जघन्य अपराध हो भन्ने सिकाउनुपर्छ । राम्रो शिक्षा पाए मात्रै मनुष्य जिम्मेवार नागरिक बन्न सक्छ । भय देखाएर समाधान निस्कँदैन । आज जो व्यक्ति इन्काउन्टरको खुसीमा उछालिएका छन्, उनीहरू भोलि अपराधी भएको आशंकामा पक्राउ पर्दैनन् भन्ने ग्यारेन्टी के छ ? इन्काउन्टरका नाममा मारिँदैनन् भन्ने ग्यारेन्टी के छ ? जो व्यक्ति अरूमाथि भएको अन्यायमा ताली पिट्छ, उसले यो भुल्छ कि भविष्यमा उसमाथि अन्याय हुँदा पनि ताली पिट्नेको संख्या कम हुनेछैन । 
(नसरिन बंगलादेशी लेखिका हुन्) अमर उजाला डट कमबाट