१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २४ मंगलबार ०७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचारका १५ सय फाइलमाथि विस्तृत छानबिन गर्दै अख्तियार : कर्मचारीमा जागिर खाएको दुई–चार वर्षमै करोडपति हुने प्रवृत्ति

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २४ मंगलबार ०७:०१:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततासँग जोडिएका १५ सयभन्दा बढी फाइलमाथि अनुसन्धान चलिरहेको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हालसम्म परेका भ्रष्टाचारका उजुरीमध्ये १५ सयभन्दा बढी फाइलमाथि विस्तृत अनुसन्धान चलिरहेको जानकारी दिए । जागिर खाएको दुई–चार वर्षमै करोडपति हुने लहर कर्मचारीमा पलाएको उनले बताए । यसले पनि अनियमिततालाई प्रश्रय दिएको घिमिरेको भनाइ थियो ।
 आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहका
आयोगका अनुसार सबैभन्दा धेरै उजुरी स्थानीय तहसम्बन्धी छन् । विगतमा शिक्षासम्बन्धीका उजुरी उच्च रहेकामा अहिले त्यसलाई स्थानीय तहले उछिनेको आयोगको भनाइ छ । स्थानीय तहमा अनियमितता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आयोगले केही दिनअघि सरकारलाई ६१ बुँदे सुझाब दिएको थियो । स्थानीय तहमा भ्रष्टाचारको अवस्था सम्बन्धमा आयोगले सर्वेक्षण गरी ‘पर्सेप्सन इन्डेक्स’ तयार गरिरहेको छ । यसबाट पनि सुशासनमा स्थानीय तह निकै कमजोर रहेको देखिएको आयोगले जनाएको छ । 

कार्यालय प्रमुखमाथि नै छानबिन गर्नुपर्छ : घिमिरे
अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले आफ्नै निकायमा हुने लेनदेनको जवाफदेहिता कार्यालय प्रमुखले लिनुपर्ने बताएका छन् । ‘कार्यालय प्रमुखले कार्यालयको अनुगमन निरीक्षण नगर्ने र जवाफदेही पनि हुनु नपर्ने कस्तो प्रणाली स्थापित गर्ने प्रयत्न गरिरहेका छौँ,’ आयोगद्वारा सोमबार आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा उनले भने, ‘कार्यालय प्रमुखलाई पनि छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने विषयमा गहन छलफल चलिरहेको छ ।’ आफ्नै कार्यालयभित्र भइरहेको अनियमितता रोक्नेतर्फ काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो ।

 आयोगको पाँचवर्षे रणनीति 
आयोगले पाँचवर्षे संस्थागत रणनीतिक योजना ०७६/७७–२०८०/८१ सार्वजनिक गरेको छ । यसअघि आयोगले सन् २००२, २००६, २००९ र २०१४ मा यस्ता रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियो । आफ्नो काम कारबाहीलाई थप व्यवस्थित, परिणाममुखी र समयसापेक्ष बनाउन यस्तो रणनीति जारी गरिएको आयोगले जनाएको छ ।