मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २४ मंगलबार ०६:३२:००
Read Time : > 1 मिनेट
समाचार

वडा कार्यालय सार्न लागेको भन्दै वडाध्यक्षलाई मोसो दलेर चप्पलको माला

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २४ मंगलबार ०६:३२:००

वडा कार्यालय सार्न लागेको निहुँमा चितवनमा एक समूहले वडाध्यक्षलाई ‘छौँडा’ भन्दै मोसो दलेर चप्पलको माला लगाएको छ । कुटपिट गरी मानव मलमूत्रसमेत खुवाउने प्रयास भएको छ । इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि अपमानजनक तथा अमानवीय व्यवहार भएको हो ।

उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ र विजय गुरुङले ओर्लाङस्थित वडा कार्यालय भवनअगाडि आफूमाथि आक्रमण गर्दै मोसो दलेर जुत्ताको माला लगाएको वडाध्यक्ष चेपाङले बताए । उनीहरूले ‘छौँडा’ भन्दै मानव मलमूत्रसमेत खुवाउन खोजेको बताए । घटना गत शनिबार साँझ ६ बजेको हो । 

‘शनिबार साँझ म वडा कार्यालयअगाडि बसिरहेको थिएँ । उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ र विजय गुरुङ नेतृत्वका ५० जति व्यक्तिले एक्कासि घेरा हाले,’ वडाध्यक्ष चेपाङले भने, ‘केहीले छौँडा भन्दै टाउकोमा हान्न थाले, केहीले दुवै कान लुछे । मोसो दलेर चप्पलको माला लगाए । यो भेँडा हो, मानव मलमूत्र पनि खुवाउनुपर्छ भन्दै केही व्यक्ति कराइरहेका थिए, पछि छाडिदिए ।’ 

वडाध्यक्ष चेपाङले आफूमाथि अपमानजनक तथा अमानवीय व्यवहार गर्ने तीनैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दिएका छन् । उजुरीपछि उत्तरबहादुर र बिर्खबहादुरलाई प्रहरीले गिरफ्तार गरिसकेको छ भने विजय फरार छन् । आरोपीविरुद्ध कारबाही अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार कसैमाथि अपमानजनक तथा अमानवीय व्यवहार गर्ने आरोपीलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । 

वडाध्यक्ष चेपाङले घटनामा संलग्नहरू कांग्रेस समर्थक भएको आरोप लगाएका छन् । चेपाङ नेकपाबाट जनप्रतिनिधि चुनिएका हुन् । सोमबार ओर्लाङमा नेकपाले विरोध सभा गरेको छ । त्यस्तै, नेपाल चेपाङ संघ प्रदेश ३ समितिले सिडिओ नारायण अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । अधिकारीले दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् । भरतपुर महानगरपालिकाले पनि जनप्रतिनिधिमाथि अमानवीय कार्य भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । 

वडाध्यक्ष पञ्चबहादुर चेपाङ भन्छन्– टाउकोमा हाने, कान लुछे, मोसो दलेर जुत्ताको माला लगाए, केही त मानव मलमूत्र पनि खुवाउनुपर्छ भन्दै कराउँदै थिए

मैले वडा कार्यालय पायक पर्ने ठाउँमा राख्नुपर्छ भनेपछि पहिल्यैदेखि आक्रमण र ज्यान मार्ने धम्की आइरहेको थियो । शनिबार केही साथीहरूसहित ओर्लाङ पुग्दा ममाथि एक्कासि आक्रमण भयो । उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ र विजय गुरुङसहितका ५० जति व्यक्तिले टाउकोमा प्रहार गरे । दुवै कान लुछे । यो भेँडा हो भन्दै मोसो दलेर चप्पलको माला लगाइदिए । मैले प्रतिकार गर्न सक्ने अवस्थै थिएन । मानव मलमूत्र पनि खुवाउनुपर्छ भन्दै भीडमा केही कराउँदै थिए । मसँगै रहेका नेकपा वडाध्यक्ष प्रकाश बुढाथोकीलाई पनि मोसो दले । एकैछिनमा उनीहरू तितरवितर भए ।