मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २२ आइतबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार

संगिताले जितेकाे स्वर्णले आमालाई दिलायाे अपार खुसी  

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १७:५६:००

१३ औँ सागमा कुस्तीतर्फ ५५ किलो तौल समूहमा स्वर्ण जित्दै इतिहास बनाएकी १९ वर्षीय संगिता धामीकाे उपलब्धि ढुंगा फोढेर पिपल उम्रेजस्तै अभावबीचकाे सफलता हाे । कञ्चनपुरकी संगिताका वुबा सरकारी जागिरमा कार्यरत थिए । वुबा नन्दसिंह धामीले दोस्रो विवाह नगर्दासम्म उनको दैनिकी ठिकठाक अगाडि बढ्दै थियो । जब उनको बुवाले दोस्रो विवाह गरे, त्यसपछि सुरू भए उनका अभाव र दु:खका दिनहरू ।

बुवाले दोस्रो विवाह गरी आमासहित चार दिदीबहिनीहरूलाई घरबाट निकालिदिए । आमाले भाइ (छोरा) पाउन नसकेको भन्दै बुवाले निकालिदिएपछि बेघरबार भएकी संगिता साइली छोरी हुन् ।

संगिताकी आमा धनादेवी चार छोरीसँगै घरबाट निकालिएपछि बेघर भइन । श्रीमान टाढा भए । छोरीहरूले बुबाकाे साथ पाएनन् । यसैबीच उनीहरूको ठूलोबुवा कल्यान सिंहले बस्नका लागि टहरो दिए । त्यही टहरोमा उनीहरूले गुजारा चलाउँदै आएका छन् । धनादेवीले सुखदु:ख गरी छोरीहरूलाई पढाउँदै आएकी छन् ।

‘साइली छाेरीले दिएकाे खुसीले सबै दु:ख भुलेकी छु, संगिताले देशका लागि स्वर्ण जितेपछि आमा धनादेवीले भनिन । छाेरीकाे जितसँगै उनकाे मुहारमा खुसीकाे झल्काे स्पष्ट देखिन्थ्याे । तर उनीहरूकाे दु:खकाे दिन गएकाे छैन । दिन उसैगरी चलिरहेछ- बिहान बेलुका दूध बेच्न बजार पुग्नु छ । दिनभरि मजदुरी गर्नु छ ।

श्रीमानले छाडे पनि धनादेवीले छाेरीहरूकाे लालन पालनमा आमाबुवाको भूमिका निर्वाह गरिरहिन । छाेरीहरूलाई संघर्षसँग जुध्न हाैसला दिइरहिन । बुवाकाे अभाव महसुस गर्न दिइनन् । धनादेवीकाे तपस्याले गर्दा नै अहिले संगिताले आमालाई अपार खुसी दिइन । देशका लागि स्वर्ण जितिन ।