१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २२ आइतबार १०:२४:००
Read Time : > 1 मिनेट
विश्व

प्योङयाङसँग वार्ता गर्न  अमेरिका र दक्षिण कोरिया सहमत

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १०:२४:००

उत्तर कोरियासँग पुनः वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच सहमति भएको छ । ट्रम्प र मुनबीच शनिबार भएको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो । प्योङयाङका कारण कोरियाली प्रायद्वीपमा अशान्ति बढेको भन्दै त्यसका लागि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा दुवै देशका नेताले सहमति जनाएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले जानकारी दिए । 

‘ट्रम्प र मुनबीचको वार्ता कोरियाली प्रायद्वीपको समस्यामा केन्द्रित थियो । दुवै नेताले उत्तरसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा सहमति जनाएका छन्,’ जुनले भने । 
यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोईमा भएको शिखरवार्तामा उत्तरलाई निःशस्त्र पार्ने सहमति भए पनि व्यवहारमा त्यसले साकार रूप लिन सकेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा तनाव बढेको बताउँदै आएका छन् । शुक्रबार मात्र दक्षिण कोरियाले अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा ठोस प्रगति हुन नसकेकोे गुनासो गरेको थियो । 

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सिउलमा आयोजित कार्यक्रममा भनेका थिए, ‘आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति भएजस्तो देखिँदैन ।’ 

त्यस्तै, उत्तर कोरियाले पनि केही दिनअघि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो । उत्तर कोरियाली एक मन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको विरोध गरेका थिए । गत मंगलबार नेटोको बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्यशक्ति पनि प्रयोग हुन सक्ने संकेत गरेका थिए । ट्रम्पको भनाइको उत्तर कोरियाले तीव्र विरोध गरेको छ ।

केही दिनअघि मात्र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम नत्यागे अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका थिए । 
अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखरवार्तामा प्योङयाङलाई निःशस्त्र पार्ने विषयमा सहमति भएको थियो । तर, प्योङयाङले निःशस्त्रीकरणका विषयमा कुनै पहल नगरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो । सो शिखरवार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो ।