१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २२ आइतबार ०९:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार : १३ वटै जिल्लामा समन्वय समिति

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार ०९:२६:००

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश ३ सरकारले १३ वटै जिल्लामा समन्वय समिति गठन गरेको छ । भ्रमण वर्षका साथै प्रदेश सरकारले तय गरेको १० वर्षे पर्यटन प्रवर्द्धन योजनालाई अघि बढाउन समिति गठन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । १ करोड ६५ लाख छुट्याएर पर्यटन प्रवर्द्धनको काम अघि बढाएको उनले बताए । उनले हालसम्म करिब ८० लाख रुपैयाँ प्रचारप्रसारका लागि खर्चिएको समेत बताए । 

मन्त्री नेपालले २०२० मा संघीय सरकारले अघि सारेको भ्रमण वर्षका लागि प्रदेश सरकारले साथ दिने उद्देश्य राखिएको दाबी गरे । भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले अभियानकै रूपमा काम अघि बढाएको उनको तर्क छ ।  ‘भ्रमण वर्ष सफल पार्न लागेका छौँ । भ्रमण वर्ष सकिएपछि पनि पर्यटन प्रवर्द्धन योजनालाई जोड दिनेछाैँ। समितिले पर्यटक भित्र्याउन विशेषगरी प्रचारप्रसारमा जोड दिनेछ ।’

प्रदेशका सबै नाकामा डिजिटल बोर्ड
मन्त्रालयले प्रदेश ३ प्रवेश गर्ने सबै नाकामा डिजिटल बोर्ड राख्ने तयारी गरेको छ । प्रमुख पर्यटकीय स्थलको पहिचान खुल्ने गरी नाकामा बोर्ड राख्ने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ । बोर्डमा पर्यटकीय स्थलसँगै नक्सांकनबारे जानकारी रहने मन्त्री नेपालले बताए । 

दुई जिल्लामा पर्यटन स्मारक
भ्रमण वर्षलाई मध्यनजर गर्दै प्रदेश सरकारले मकवानपुरको इन्द्रसरोवर र काभ्रेको धुलिखेलमा पर्यटन स्मारक निर्माण गर्ने भएको छ । स्मारक निर्माणको काम सुरु भइसकेको नेपालले जानकारी दिए । स्मारक जनवरीको पहिलो साता उद्घाटन गरिने लक्ष्य प्रदेश सरकारको छ । स्मारकमा पर्यटकीय क्षेत्रको पहिचान खुलाउने सामग्री हुने मन्त्रालयले स्पष्ट पारेको छ । 

प्रचारप्रसारमा जोड
मन्त्रालयले पर्यटन प्रवद्र्धन र पर्यटक आकर्षणका लागि प्रचारप्रसार योजना तय गरेर काम अघि बढाएको जनाएको छ ।

पहिचान गरिएको पर्यटन स्टेसनमा फिचरसहितको होडिङबोर्ड राख्ने, स्थानीय कल्चर समूह गठन गर्ने, सबै पर्यटकीय स्थानमा पर्यटन ब्रान्ड एम्बेस्डर नियुक्त गर्ने, सबै विमानमा प्रसारप्रसार सामग्री वितरण राख्ने, पर्यटन भिडियो उत्पादन गर्ने, सांस्कृतिक समूह गठन गर्ने, मायाको चिनो उत्पादन तथा वितरण गर्ने, प्रमुख पदमार्ग तथा ग्रामको प्रवर्द्धन गर्ने, होमस्टे प्रवर्द्धन गर्ने, ठूला स्टार होटेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश स्टल राख्नेलगायत ३५ कार्य योजना मन्त्रालयले तयार गरेको छ । 

मन्त्रालयको योजनाअनुसार काम गर्न स्थानीय तहलाई प्राथमिकतामा राखेर सरोकारवाला पक्ष, सञ्चारकर्मी, निजी क्षेत्रलाई सहभागी गराइने सचिव शिव वाग्लेले जानकारी दिए ।

पर्यटन स्टेसन पहिचान
नेपाल भ्रमण वर्ष २०२० सँगै प्रदेश सरकारले अघि सारेको पर्यटन प्रवर्द्धन योजनाका लागि स्थानीय तहसँग सहकार्य गरेर मन्त्रालयले पर्यटन स्टेसन पहिचान गरेको छ ।

कात्तिक र मंसिरमा विभिन्न मापदण्डअनुसार जिरी, चरिकोट, सम्पूर्ण शिवालय, मुडे, प्रदेशभित्रका गढीहरू, दरबार स्क्वायर, सौराहा, कसरा, माडी, लाङटाङ, नगरकोट, धुलिखेल, तातोपानी, जुगल, दामन, इन्द्रसरोवर र पशुपति क्षेत्रलाई पर्यटन स्टेसनका रूपमा पहिचान गरिएकोे मन्त्रालयले जानकारी दिएको छ ।