Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २२ आइतबार ०९:२४:००
Read Time : > 1 मिनेट
खेलकुद

‘आमाको नाम लेख्नुस्, बाबुको नलेख्नुस्’

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार ०९:२४:००

आमा धानादेवी धामका चार छोरीमध्ये साहिली हुन् संगीता । छोरी मात्रै जन्माएको भन्दै उनका बाबुले दोस्रो बिहे गरे ।

सीता जन्मभूमि जनकपुरमा शनिबार अर्को इतिहास बन्यो, १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो ।

‘संगीतामा केही गरेर देखाउने भावना थियो । मैले पहिल्यै भनेको थिएँ कि तिमीले जित्नेछौ, तिमीले देखाउनेछौ,’ प्रशिक्षक ब्रह्मदेव यादवले भने, ‘उनले त इतिहास नै बनाइन् ।’   खेल सकिएपछि केही भावुक बनेकी संगीताले नयाँ पत्रिकासँग भनिन्, ‘यो स्वर्ण मेरी आमाका लागि, नेपाल आमाका लागि । आमाको नाम मात्रै लेख्नुस्, बाबुको नलेख्नुस् ।’ कञ्चनपुरको भीमदत्त–३, महेन्द्रनगरकी संगीताको सफलतामा आमाको माया र बाबुको तिरस्कारले ठूलो भूमिका खेलेको छ । आमा धानादेवी धामका चार छोरीमध्ये साहिली हुन् संगीता । छोरी मात्रै जन्माएको भन्दै उनका बाबुले दोस्रो बिहे गरे । 

बुहारी र भतिजीहरू सहाराविहीन बनेपछि संगीताका ठूलोबाबुले आफ्नो जग्गामा झुपडी बनाइदिए, त्यही झुपडीमा संगीता र उनका दिदीबहिनी हुर्किए । ज्यालादारी गरेर गाँसको व्यवस्था गर्ने धानाले छरछिमेकीसँग ऋण सापटी गरेर भैँसी किनेपछि अवस्था केही सुध्रियो । संगीताले भनिन्, ‘घरमा अर्थोपार्जनको कुनै उपाय थिएन, त्यसैले आमाले ज्यालादारी गर्नुहुन्थ्यो । भैँसी किनेपछि दूध बेचेरै हाम्रो पालन–पोषण गर्नुभयो । दुई दिदीको बिहे गरिदिनुभयो ।’ अहिले संगीता बिए प्रथम वर्षमा स्वास्थ्य विषय पढिरहेकी छिन् । बहिनी ८ कक्षामा पढ्छिन् । विद्यालयस्तरदेखि नै कुस्तीमा रुचि राख्ने संगीताले भनिन्, ‘आमा र दिदीहरूकै सहयोगमा आज स्वर्णपदक जितेकी छु ।’ प्रशिक्षक यादवले संगीताको सफलता अन्य महिलाका लागि उदाहरण बन्ने बताए । ‘नेपाली महिलाले राष्ट्रको नाम चम्काउन सक्छन् भन्ने यसले देखाएको छ । कुस्ती खेलको लामो इतिहासमा यो पहिलो स्वर्ण हो,’ उनले भने । 

नेपाललाई दोस्रो दिन पाँच पदक 
कुस्ती खेलमा यस स्वर्णसहित नेपालले जारी सागमा अहिलेसम्म नौ पदक जितेको छ । नेपालबाट शनिबार ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत, ७९ किलोमा बुनिलाल यादवले कांस्य, १२५ किलो तौल समूहमा राज यादवले कांस्य र ७० किलो तौल समूहमा सुरेश यादवले कांस्य हात पारेका छन् । यसअघि शुक्रबार शिवांगी दुवेले रजत, नरेशप्रसाद यादव, सरोजकुमार यादव र मनीषा सिंहले कांस्यपदक जितेका थिए । शनिबारको खेलमा पाकिस्तानले दुई स्वर्ण र दुई रजत गरी चार पदक जितेको छ । त्यसैगरी, शनिबार भारतले पाँच स्वर्णपदक जित्दै आफ्नो स्वर्णसंख्या नौ पु¥याएको छ । शनिबार श्रीलंकाले तीन रजत प्राप्त गरेको छ भने बंगलादेशले एक रजत र एक कांस्यपदक जितेको छ ।