मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रोहितराज पराजुुली कास्की
२०७६ मङ्सिर २१ शनिबार ०८:२७:००
Read Time : > 1 मिनेट
खेलकुद

विकासले जिते भारोत्तोलनमा स्वर्ण

Read Time : > 1 मिनेट
रोहितराज पराजुुली कास्की
२०७६ मङ्सिर २१ शनिबार ०८:२७:००

विकास थापाले जारी सागमा नेपाललाई स्वर्णपदक दिलाएका छन् । यससँगै विकास साग इतिहासमा भारोत्तोलनतर्फ नेपाललाई स्वर्ण दिलाउने दोस्रो पुरुष खेलाडी बनेका छन् । पोखरामा शुक्रबार विकासले पुरुष ८९ केजी तौल समूहमा शीर्ष स्थानमा रहँदै स्वर्ण जितेका हुन् । यसअघि नेपालले सागमा पुरुषतर्फ एक मात्र स्वर्ण २००६ मा जितेको थियो । बिहीबार सन्जु चौधरीले महिलातर्फ पहिलोपटक स्वर्णपदक दिलाएकी थिइन् । जारी प्रतियोगितामा भारोत्तोलनतर्फ यो दोस्रो स्वर्ण हो । समग्रमा दुई दिनमा नेपालले थप ६ कांस्य पनि हात पारेकोे छ । 

१२औँका रजत विजेता
१२औँ संस्करणमा रजतमा सीमित बनेका विकासले यसपटक स्न्याचमा १२३ र क्लिन एन्ड जर्कमा १४६ सहित कुल २६९ केजी भार वहन गरेर स्वर्ण जिते । उनी आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भंग गर्न सफल भए । यसअघि छनोट चरणमा उनको नाममा स्न्याचमा १२२ र क्लिन एन्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड थियो । राष्ट्रलाई स्वर्ण दिलाउन पाउँदा  खुसी लागेको विकासले बताए । ‘आफ्नो रेकर्डसमेत तोड्दै स्वर्ण जित्दा निकैै खुसी लाग्यो,’ थापाले भने, ‘कडा मिहिनेतका कारण नै यो सम्भव भयो ।’ 

पाकिस्तानको दबदबा
पुरुषतर्फ ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलीले स्वर्णपदक जिते । उनले स्न्याचमा १४२ र क्लिन एन्ड जर्कमा १७६ केजी गरी कुल ३१८ केजी भार वहन गरे । भारतका अजय सिंहले स्न्याचमा १४० र क्लिन एन्ड जर्कमा १७६ केजी गरी ३१६ केजी उठाए । श्रीलंकन  खेलाडी भिसिजी विदाङ्गेले कांस्यपदक हात पारे । उनले स्न्याचमा १२८ र क्लिन एन्ड जर्कमा १६० केजी गरी २८८ केजी भार वहन गरे । चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला र पुरुषतर्फ समान १० स्वर्णका लागि खेल हुनेछ । 

अधिकारीदम्पतीलाई कांस्य
नेपालका कमलबहादुर अधिकारीदम्पतीले कांस्यपदक हात पारेको छ । कमलले पुरुष ६७ केजी तौल समूहमा कांस्य जिते । उनकी धर्मपत्नी राज्यलक्ष्मी थापा पनि कांस्य जित्न सफल भइन् । 

शुक्रबार कमलले कुल २५२ केजी तौल मात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० केजी गरी कुल २५२ केजी भार वहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कमा दबाबमा परेका थिए । 

यता महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कांस्य जितिन् । साग भारोत्तोलनमा दम्पतीले कांस्य जितेको सम्भवतः यो नै पहिलोपटक हो । प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कुल १५० केजी भार उठाइन् । यस स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजतपदक जितेका छन् । महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कांस्यभन्दा माथि उठ्न सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२औँ संस्करणमा पनि नेपाललाई कांस्य दिलाएकी थिइन् । यसपटक उनले १५३ केजी तौल उठाउँदै कांस्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उठाइन् । सो तौल समूहमा भारत नै स्वर्ण जित्न सफल भयो ।