मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २१ शनिबार ०७:२९:००
Read Time : > 1 मिनेट
खेलकुद

नौ वर्षपछि पुरुष एथलेटिक्समा स्वर्ण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०७:२९:००

गोपीचन्दले एथलेटिक्सतर्फ पुरुषको पाँच हजार मिटर दौडमा शुक्रबार नेपाललाई स्वर्णपदक दिलाउँदा भारतीय धावक सुनिललाई पछि पारे

गोपीचन्द पार्कीले स्कुलमा छँदा सागमा नेपाली धावक राजेन्द्र भण्डारीले जितेका दुई स्वर्ण खोसिएको समाचार सुनेका थिए । सरले कोलम्बोमा भएको १०औँ सागमा डोपिङका कारण राजेन्द्रको स्वर्ण खोसिएको समाचार सुनाउँदा गोपीको मन चिसो भएको थियो । त्यतिवेलै गोपीले सोचेका थिए, राजेन्द्रको खोसिएको स्वर्ण फिर्ता ल्याउनेछु । गोपीले शुक्रबार पाँच हजार मिटर दौडमा स्वर्ण जित्दै आफ्नो वाचा पूरा गरेका छन् । 

एथलेटिक्सतर्फ पुरुषको पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण दिलाउन गोपीचन्दले भारतीय धावकलाई पछि पारे । गोपीले दशरथ रंगशालामा भर्खरै बिछ्याइएको नयाँ सिस्थेटिक ट्र्याकमा १४ मिनेट ५४.२० सेकेन्डको समयका साथ स्वर्ण निश्चित गरे । 

उनीभन्दा पछि भारतीय खेलाडी सुनिल दावरले १४ मिनेट ५५.२१ सेकेन्डका साथ रजत जिते । यो स्पर्धामा अर्का नेपाली धावक हरिकुमार रिमालले कांस्य जिते । उनले १४ मिनेट ५७.०५ सेकेन्डको समय निकाले । 

पार्कीको स्वर्ण सागमा नेपाली एथलेटिक्स खेलाडीले जितेको नौ वर्षपछिको पहिलो बनेको छ । एथलेटिक्सतर्फ नेपाली पुरुष खेलाडीले पछिल्लोपटक सन् २०१० मा बंगलादेशमा भएको सागमा स्वर्णपदक जितेका थिए । राजेन्द्र भण्डारीले (म्याराथन भनिए पनि आवश्यक दूरी नरहेको आयोजकले जनाएको थियो) स्वर्ण दिलाएका थिए ।

गोपीले सम्झिए राजेन्द्रको स्वर्ण
गोपीले १३ वर्षअघि खोसिएको राजेन्द्रको स्वर्ण फिर्ता ल्याउँदा आफूलाई गर्व लागेको बताए । ‘१०औँ सागमा राजेन्द्र सरको पदक डोपिङका कारण खोसिएको थियो,’ गोपीले भने, ‘खोसिएको त्यो स्वर्ण फिर्ता ल्याउँछु भन्ने विश्वास ममा थियो । आज स्वर्ण जित्दा निकै गर्व लागेको छ ।’ गोपीले राजेन्द्रको कथा नै आफ्ना लागि एथलेटिक्समा लाग्न प्रेरणा बनेको बताए । 

गोपीले यो सफलताका लागि आफूले १४ वर्ष मिहिनेत गरेको बताए । ‘सुरुवातमा मैले म्याराथनमा प्रयास गर्ने सोचेको थिएँ । यद्यपि, यही स्पर्धामा आफू राम्रो छु भन्ने महसुस भएपछि यतै मिहिनेत गरेँ,’ गोपीले भने, ‘मेरो विश्वास सही साबित भएको छ ।’

अबको लक्ष्य वैकुण्ठको कीर्तिमान 
गोपीले अब सागमा आफ्नो लक्ष्य वैकुण्ठ मानन्धरको कीर्तिमान तोड्ने रहेको सुनाए । उनले भने, ‘वैकुण्ठ सरको कीर्तिमान तोड्नका लागि तयार छु ।’ सागमा एथलेटिक्सतर्फ वैकुण्ठको नाममा लगातार तीन स्वर्णपदक जितेको कीर्तिमान छ । यस्तै, म्याराथनमा सर्वाधिक कम समयको कीर्तिमान पनि वैकुण्ठको नाममा छ । वैकुण्ठ आफैँले पनि आफ्नो कीर्तिमान नेपाली धावकले नै तोडेको हेर्न चाहेको बताउँदै आएका छन् । ‘वैकुण्ठ सरले आफ्नो कीर्तिमान नेपाली खेलाडीले नै तोडेको हेर्ने इच्छा व्यक्त गर्दै आउनुभएको छ, अबको मेरो लक्ष्य त्यही हुनेछ,’ उनले भने । 

सन्तोषी चौथो स्थानमा
महिलाको १० हजार मिटर दौडमा नेपाली धाविका सन्तोषी श्रेष्ठ चौथो बनेकी छिन् । सन्तोषीले निर्धारित दूरी पूरा गर्न १७ मिनेट १३.६८ सकेन्ड खर्चिइन् । सोही विधामा नेपालकी विश्वरूपा बुढा अस्वस्थताका कारण सहभागी भइनन् । सन्तोषीले यसअघि महिलातर्फ पाँच हजार मिटरमा भने नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् ।

चार सय मिटर हर्डल्समा नेपालकी कल्पना श्रेष्ठ एक मिनेट ११.९८ सेकेन्डका साथ छैटांँ स्थानमा रहिन् । सटपुटको महिला र पुरुष दुवैतर्फ भारतीय खेलाडीले स्वर्ण जिते । महिलातर्फको सटपुटमा नेपालकी चन्दकला लामगादेले आफ्नै नाममा रहेको १२.४ मिटरको प्रदर्शनमा सुधार गरेर १२.५२ मिटर बनाइन् ।