मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०८:३४:००
Read Time : > 3 मिनेट
खेलकुद

१३औँ साग : स्वर्णमा पुरुषभन्दा महिला अगाडि

Read Time : > 3 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०८:३४:००

१३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् । पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले कीर्तिमान राखेका छन् । श्रीलोचन राजोपाध्यायदीपेन्द्र गुरुङको रिपोर्ट :

तीन महिला खेलाडीले दिलाए इभेन्ट्सकै पहिलो स्वर्ण

गौरिका सिंह (स्विमिङ)
दक्षिण एसियाली खेलकुद (साग)मा दुई सय मिटर फ्रिस्टायलको एकल स्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो खेलाडी बनेकी छिन्, गौरिका सिंह । ऐतिहासिक रेकर्डसँगै गौरिकाले एउटै स्पर्धामा दुई स्वर्ण जित्ने अर्को रेकर्ड पनि जोडेकी छिन् । उनले २ सय मिटर ब्याक स्ट्रोकमा पनि स्वर्ण जितेकी हुन् । 

सञ्जु चौधरी (भारोत्तोलन)
भारोत्तोलनको महिला स्पर्धामा सागको इतिहासमै पहिलोपटक स्वर्ण जित्ने नेपाली खेलाडी बनेकी छिन्, सञ्जु चौधरी । ५९ केजी तौलमाथिको स्पर्धामा उनले १७१ केजी भार उचालेर रेकर्ड बनाएकी हुन् । यसअघि भारोत्तोलनमा कमलबहादुर अधिकारीले मात्रै स्वर्ण जितेका थिए ।

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
एथलेटिक्समा सागका सुरुका तीन संस्करणमा वैकुण्ठ मानन्धरले सनसनीपूर्ण प्रदर्शन गरे । तर, महिलातर्फ नेपालले स्वर्ण जित्न सकेको थिएन । यसपालि सन्तोषी श्रेष्ठले त्यो अभाव अन्त्य गरेकी छिन् । उनले १० हजार मिटर दौडमा १० मिलिसेकेन्ड अन्तरले इतिहास रचेकी हुन् । 

जसले जिते दोहोरो स्वर्ण 
आयशा शाक्य, (तेक्वान्दो)

दुई सन्तानकी आमा आयशाले एकै दिन दुई स्वर्ण जितेर नयाँ इतिहास बनाएकी छिन् । २९ वर्षमाथि पुम्से विधामा पहिलो स्वर्ण जितेकी उनले पुम्से जोडीमा सञ्जीव ओझासँग मिलेर अर्को स्वर्ण भित्र्याइन् । यससँगै सागमा तीन स्वर्ण जितेकी उनले संगीना वैद्यको दुई स्वर्णको रेकर्ड पनि तोडेकी छिन् । 

मन्डेकाजी श्रेष्ठ (कराते)
एकै संस्करणमा करातेतर्फ दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्, मन्डेकाजी । उनले एकल र टिम कातामा स्वर्ण जितेका हुन् । 

सुवास तामाङ (गल्फ)
१७ वर्षको उमेरमै सुवासले  उच्च सानको रेकर्ड बनाएका छन् । उनले गल्फको एकल र टिम इभेन्टमा शुक्रबार एकै दिन दुई स्वर्ण जितेका हुन् । 

गौरिका सिंह (स्विमिङ)
स्विमिङमा महिलातर्फ दुई सय मिटर फ्रिस्टायल र ब्याक स्ट्रोकको एकल स्पर्धामा गौरिकाले दुई स्वर्ण जितेकी छिन् । 

१३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् । पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन,  साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका छन् । 

नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ । २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ३७ स्वर्णसहित नयाँ इतिहास रचेको हो । 

आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ । सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । तर, स्वर्णसंख्या सय पुर्‍याउन नेपाललाई ३५ वर्ष लाग्यो । जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्‍याउने कीर्तिमानमा आफ्नो नाम लेखाए । 

तीन वर्षअघि भारतमा भएको १२औँ प्रतियोगितामा तीन स्वर्ण मात्रै लिएर फर्किएको नेपालले यसपटक अपेक्षा नगरेका खेलमा समेत कब्जा जमाएको छ । सागको तीन दशक लामो इतिहासमा पहिलोपटक पुरुष तथा महिला एथलेटिक्समा स्वर्ण जितेको छ । एथलेटिक्समा भारतीय र श्रीलंकन खेलाडी दाबेदार मानिन्थे । महिलातर्फ भारोत्तोलन र स्विमिङमा पनि पहिलोपटक स्वर्ण पाएको छ । 

स्वर्ण र समग्र पदकमा आठौँ साफमा नेपाल दोस्रो बनेको थियो । जारी संस्करणमा पनि अहिलेसम्म दोस्रो स्थानमै छ । नेपालले अहिले पदक बढी प्राप्त गर्नुमा खेलाडीको मिहिनेत नै मुख्य पाटो हो । तर, सँगसँगै अन्य पाटो पनि जोडिएका छन् । आठौँ साफमा १२ खेल मात्रै थिए, अहिले २४ खेल समेटिएका छन् । त्यतिवेला १०६ स्वर्णका लागि प्रतिस्पर्धा थियो, अहिले स्वर्ण संख्या ३२४ छ । प्रतिशतमा हेर्दा यसपटकको नतिजाले आठौँ संस्करणको सफलतालाई भेट्टाउन सकेको छैन । आठौँमा नेपालले कुल स्वर्णको ३० प्रतिशत जितेकोमा यसपालि अहिलेसम्म १३ प्रतिशत मात्रै समेटेको छ । धेरै खेल र पदक भएकाले पनि यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ । 

घरेलु मैदानमा बढी पदक बटुल्ने अर्को पनि कारण छ । सागमा आयोजक राष्ट्रलाई कुन खेल राख्ने वा नराख्ने अधिकार हुन्छ । यही अधिकार प्रयोग गरेर आयोजकले पदक जित्ने खेल राख्ने र आफू कमजोर भएको खेल हटाउनेसम्म गर्छन् । १२औँ संस्करणमा भारतले आफू कमजोर भएको कराते खेल समावेश नै गरेको थिएन । नेपालले पनि यसपटक आफ्नो राम्रो धरातल रहेको मार्सल आर्टका सबै खेल समावेश गर्‍यो । स्वर्णको ऐतिहासिक प्रदर्शनमा नेपाललाई मार्सल आर्टकै योगदान धेरै छ । तेक्वान्दोमा २९ मध्ये १२ स्वर्ण नेपालले फुत्किन दिएन । करातेमा पनि १९ मध्ये १० स्वर्ण आफैँ राख्न सफल भयो । आठौँ साफमा पनि तेक्वान्दो र करातेबाटै स्वर्ण संख्या ह्वात्तै बढाएको थियो । त्यस्तै नेपालले पदकको आशा गरेको उसुमा पाँच, साइक्लिङमा चार तथा एथलेटिक्स, ट्रायथलन, भारोत्तोलन, स्विमिङ र गल्फमा दुई/दुई स्वर्ण समेटेको छ ।