Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
२०७६ मङ्सिर २१ शनिबार ०६:२४:००
मुख्य समाचार

माली बाबुको संघर्ष : गिरिजाप्रसादले हिम्मत दिए, छोरीले स्वर्ण

२०७६ मङ्सिर २१ शनिबार ०६:२४:००

करातेकी स्वर्ण विजेता छोरी सुनीतासँग बाबु नाति 

करातेकी स्वर्ण विजेता छोरी सुनीतासँग बाबु नाति 

०२६ मा धान चुट्दै गर्दा दाहिने आँखामा एउटा दाना पस्यो, आँखा फुलो परेपछि नाति महर्जनलाई जीवन बर्बाद भएजस्तो लाग्यो । १४ वर्षको उमेरमै यो पीडा व्यहोरेका उनले यसपछि जीवनमा धेरै प्रजातिका बिरुवा रोपे, गोडमेल गरे अनि देब्रे आँखाले फूलको सुन्दरता नियाले । ६४ वर्षको उमेरसम्म आइपुग्दा नातिको जीवन धेरै अविस्मरणीय क्षणको साक्षी बन्यो, त्यसैले उनी सदैव सकारात्मक र ऊर्जावान् रहे । गत बुधबार ललितपुरको सातदोबाटोमा ६४ वर्षीय नातिको ऊर्जा हेर्नलायक थियो । साग खेलकुदअन्तर्गत करातेको ६८ केजी तौल–समूहमा छोरी सुनीता महर्जनले स्वर्ण जितेपछि बाबुलाई अँगालो हालिन्, दुवैका आँखा एकाएक रसाए । 

सुनीताको सफलताभित्र अर्काको जग्गामा पसिना बगाएर मुरी फलाउने काठमाडौंको स्थानीय परिश्रमी महर्जन परिवारको दशकौँ लामो संघर्षको कथा छ । ‘सानोबाबु (गिरिजाप्रसाद) मेरो भगवान् हुनुहुन्छ । उहाँलाई क्याक्टस, सुनगाभा, गोदाबरी, सुगन्धवालालगायत फूल निकै मनपथ्र्यो,’ कानमा गोदावरी सिउरिएका नातिले भने, ‘उहाँले मृत्युको मुखबाट बचाउनुभयो ।’

०५० देखि नातिकाजीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा काम गरेका थिए । साँझ गिरिजाप्रसाद एकान्तमा बस्न रुचाउँथे, एक दिन उनको नजर फूल गोडिरहेका नातिकाजीको फुलो परेको आँखामा पर्‍यो । ‘ए माली यता आइज । शशांकलाई भनेर तेरो उपचार गर्नू,’ गिरिजाप्रसादको भनाइ स्मरण गर्दै नातिकाजीले भने, ‘भोलिपल्ट शशांक कोइरालाले मलाई अस्पताल लग्नुभयो । क्यान्सर भइसकेको रहेछ । तिमीले चिन्ता गर्नुपर्दैन उपचारको सबै खर्च म मिलाउँछु भन्नुभयो ।’

बगैँचामा काम गर्दा नातिकाजीका हात फुटेका हुन्थे । गिरिजाप्रसादले बोलाएर भन्थे, ‘सोझो छस्, भन्सारमा जागिर लगाइदिउँ भने दुई दिन पनि टिक्दैनस् ।’ ०५४ पछि गिरिजाप्रसादले नातिकाजीलाई राष्ट्र बैंकमा जागिर लगाइदिए, १४ सय तलब आउने गरी । उनी दिउँसो जागिर गथ्र्ये र साँझ कोइरालानिवासमा फूल गोड्थे । कहिलेकाहीँ छोराछोरी र भतिजा–भतिजी उनीसँगै कोइरालानिवास जान्थे । गिरिजाप्रसादले पनि छोराछोरीबारे सोधखोज गर्थे । ‘उनीहरू जे चाहन्छन् त्यही बन्न भन्नू,’ गिरिजाप्रसादले दिएको अर्ती सम्झिए नातिकाजीले । 

छोरा विनोदले करातेमा राष्ट्रिय च्याम्पियन बन्ने लक्ष्य राखेका थिए । सुनीता, सरस्वती, दीपेन्द्रलगायत भाइबहिनी उनको खेल हेर्न जान्थे, बिस्तारै उनीहरूको लगाव पनि यही खेलमा देखियो । तर, विनोदको करिअर धेरै अघि बढेन । ‘दाइले आफ्नो करिअर अघि बढाउन नसके पनि हामीलाई सधैँ हौसला दिनुभयो । उहाँकै प्रेरणाले आज सफलता सम्भव भयो,’ सुनीताले भनिन् । 

गिरिजाले वेला–वेलामा छोराछोरीलाई डाइट खुवाउनू भनेर नातिकाजीलाई पैसा दिन्थे । ‘त्यही पैसाले बुबाले पुष्टकारी र गुँदपाक किनेर ल्याइदिनुहुन्थ्यो,’ विनोदले भने ।कोइरालासँग जोडिएका धेरै सम्झना छ यो परिवारसँग । एकपटक गिरिजाले आफ्नो दौरा–सुरुवाल नातिलाई दिएका थिए । अग्लो कदका गिरिजाको दौरा झन्डै छोटो कदका नातिकाजीबराबरकै थियो । ‘उहाँले दौरा लगाउँदा कम्ता हाँसो उठेको थिएन,’ सुनीताले भनिन् । दौराको कहानीबारे नातिकाजीले अगाडि भने, ‘उहाँलाई ठट्टा गर्न मन लाग्थ्यो । त्यसैले मलाई जिस्क्याउनुभएको रहेछ । मैले पनि अर्कैलाई दिएर पठाएँ ।’ गिरिजाप्रसादले नातिकाजीलाई घरेलु रक्सी ल्याऊ भन्थे, अनि यो लैजाऊ भनेर विदेशी रक्सी दिन्थे । 

गिरिजाप्रसादको निधनका दिन नातिकाजीलाई पहाड खसेजस्तो लाग्यो । ‘बाँस काट्दै थिएँ । जब रेडियोमा समाचार सुनियो । म रन्थनिएर सीधै कोइरालानिवास पुगेँ,’ भावुक हुँदै उनले भने, ‘सानोबाबुले मलाई उहाँको निधन हेर्न जीवन दिनुभएको रहेछ भन्ने पनि लाग्यो, त्यस दिनबारे धेरै सम्झन सक्दिनँ ।’ 

उनले कोइराला परिवारसहित रामशरण महत, अर्जुननरसिंह केसीलगायत कांग्रेस नेताका बगैँचामा पनि काम गरे । गिरिजाप्रसादको निधनपछि लामो समय बेचैन बनेका नातिकाजीको मुहारमा २६ वर्षीया छोरी सुनीताले खुसी फर्काएकी छिन् । नातिकी ९४ वर्षीया आमा पनि सुनीताको सफलतामा दंग छिन् । ‘माइती र घर दुवैतर्फ सबै खुसी हुनुहुन्छ । श्रीमान् सोहिल महर्जनसहित घरतर्फका सबैले सधैँ हौसला दिएकाले विवाहपछि पनि करिअरलाई निरन्तरता दिनसकेँ । गुरुहरूले पनि ठूलो योगदान गर्नुभएको छ,’ सुनीताले भनिन् ।