मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार २०:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चार करोड ह्याकिङ प्रकरण : कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार २०:२०:००

कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ ।  बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् । 

सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका हुन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवणकुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजयकुमार साह, गणेशकुमार बस्याल, यज्ञराज भट्ट र मालती न्यौपाने छन् । चारजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । जसमा सुनीता लामालाई १०, रामकृष्ण भुसाललाई २५, मालती न्यौपानेलाई १०, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अशिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । बैतडीका जनकबहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र विद्यासागर लामिछाने भने साधारण तारेखमा छुटेका छन् । 

महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए ।  

यस्तो थियो पाँच अर्ब लुट्ने योजना 
५ असोजमा बानेश्वरस्थित पानस रेमिटबाट एउटै कोडबाट धेरैले शंकास्पद कारोबार गरेको सूचना प्रहरीले पायोे । सोही आधारमा अनुसन्धान गर्न प्रहरीले पैसा निकाल्ने सञ्जय घले, लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ गर्‍यो । उनीहरूले लवाङ तामाङको निर्देशनअनुसार आफूहरूले पैसा निकालेको बताए । 

प्रहरीले त्यसपछि लवाङलाई पक्राउ गर्‍यो । उनीसँग ३१ लाख रुपैयाँ भेटियो । त्यो पैसाको स्रोत खोज्ने क्रममा कृषि विकास बैंकमा ह्याकिङ भएको खुलेको हो । उनले सुरुमा कृषि विकास बैंकबाट सो रकम निकालेको बताएका थिए, तर स्रोत खुलाउन नसकेपछि अवैध रूपमा निकालेको खुल्यो । त्यसपछि आफूहरूले कृषि विकास बैंकलाई जानकारी गराएको अपराध महाशाखाका एसएसपी थापा बताउँछन् ।  अनुसन्धानका क्रममा गिरोहका नाइके अफ्रिकन मूलका भारतीय नागरिक पिटर भएको खुलेको छ । उनी केही महिनाअघि नेपाल आएको र लवाङसँग चिनजान भएको थियो । उनकै निर्देशकअनुसार लवाङले विभिन्न व्यक्तिलाई पैसा निकाल्न परिचालन गरेका थिए । 

बैंकका कर्मचारीलाई पनि उनले नै सेटिङ मिलाएको प्रहरीले जनाएको छ । पैसा ट्रान्सफरसम्बन्धी गोप्य कोड पाएर उनले रातारात पैसा ट्रान्सफर गरेका थिए । यसरी पाँच अर्ब रुपैयाँ निकाल्ने उनको योजना थियो । यसरी निकालिएको मध्ये केही रकम नेपालीहरूलाई नै दिने उनको प्रस्ताव थियो । सो रकममध्ये १० लाख उनले भारतीय व्यापारी सुबन्कर पन्जामार्फत हुन्डी गरेर लिएका थिए । 

चार किलो सुन गायब 
तस्करीको चार किलो सुन गायब बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकका विष्णु खड्कालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार उनी सुुन तस्करीका भरिया हुन् । उनले आफूले चार केजी सुन ल्याएको तर अपरिचित व्यक्तिले लुटेको बताएका छन् । 

स्रोतका अनुसार सुन तस्करीमा संलग्न व्यक्तिहरूकै सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । तर, सुन तस्करीमा लगाउने समूहमाथि भने प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । तस्करी गर्नेसँग मिलेर भरियालाई थुनेको आरोप प्रहरीमाथि लागेको छ ।