२४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाउने चेतावनी
१ लाख २५ हजार घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस गरेको छ । भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेको छ । नाराजुलुस पछि सातदोबाटो चोकमा आयोजित कोणसभामा बोल्दै तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले सिडिओले २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाएर धपाउने चेतावनी दिएका छन् ।
अध्यक्ष शेर्पाले जिल्लाको मुख्य प्रसाशक नै घुसखोरीको नाईके भएपछि अन्य निकाय पनि अछुतो नरहेको भन्दै त्यसउपर पनि छानविन गर्न माग गरे । उनले भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि गृह मन्त्रालय निकम्बा भएर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
सार्वजनिक कसुरका मुद्दामा संलग्न दोलखाका ३ जना अभियुक्तहरुबाट प्रजिअ रिजालले छुट्टाछुट्टै १ लाख २५ हजार रकम लिएर पछि उनीहरुलाई नै फिर्ता गरेका थिए। उनले १० हजारको रसिद काटेर १ लाख र १४ हजारको रसिद काटेर ५० हजार बुझेका थिए ।