मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका रौतहट
२०७६ मङ्सिर २० शुक्रबार ०९:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

फोहोर पानीले चन्द्रपुर बजार दुर्गन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रौतहट
२०७६ मङ्सिर २० शुक्रबार ०९:४६:००

चन्द्रपुर नगरपालिकाको मुख्य बजार स्थानीय होटेलबाट निस्कने फोहोर पानीका कारण दुर्गन्धित बन्न थालेको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको चन्द्रपुर नगरपालिका–४ मा पर्ने मुख्य बजार क्षेत्र नै होटेलबाट निस्केको फोहोर पानीका कारण दुर्गन्धित बन्न थालेको हो । 

स्थानीय साना–ठूला होटेलबाट निस्केको फोहोर पानीका कारण सर्वसाधरणलाई बजारमा हिँडडुल गर्नसमेत समस्या हुन थालेको चन्द्रपुरका लोकबहादुर मग्रातीले बताए । व्यवस्थित नाला नहुँदा स्थानीय होटेल तथा लजबाट निस्कने फोहोर पानी पूर्व–पश्चिम राजमार्गमा छाड्ने गरिएको छ ।

‘होटेलबाट निस्केको फोहोर पानीका कारण बाटोमा हिँड्दासमेत नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ,’ मग्रातीले भने, ‘नाला व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा चन्द्रपुरको बजारक्षेत्र दुर्गन्धित बन्दै गएको छ ।’

 फोहोर व्यवस्थापनमा बेवास्ता
चन्द्रपुर नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । ‘नगरपालिकाको चरम लापारबाहीका कारण होटेल सञ्चालकले मनोमानी गर्दै गएका छन्,’ स्थानीय राजेन्द्र तिवारीले भने, ‘हामीले पटक–पटक होटेलको पानी राजमार्गमा फालेको विषयमा नगरपालिकालाई लिखित तथा मौखिक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन ।’ नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा विभिन्न रोगको जोखिम बढेको तिवारीले बताए ।

चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले मुख्य चोकको फोहोर पानी र फोहोर व्यवस्थापनका लागि आफूले वडा कार्यालय र कर्मचारीलाई चाँडै निर्देशन दिने बताए । होटेल सञ्चालकले भने नगरपालिकाले नाला नबनाएका कारण होटेलबाट निस्कने फोहोर पानी राजमार्गमा फाल्न बाध्य भएको बताउँदै आएका छन् ।