मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

उसुमा नयाँ कीर्तिमान : निमाले जितिन् लगातार दुई स्वर्ण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०७:५४:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आफ्नो स्पर्धा समावेश हुने निश्चित भएलगत्तै निमा घर्तीमगरको डर हटेको थियो । बिहीबार लगनखेलस्थित आर्मीको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा थाउलु नानक्वान र अलराउन्डतर्फ स्वर्ण जितेर उनले नयाँ इतिहास रचिन् । उसुमा नेपाली खेलाडीले सागमा दुई स्वर्ण जितेको यो पहिलो अवसर हो । यसअघि निमाले १२औँ सागमा पनि स्वर्ण जितेकी थिइन् । 

‘मेरो स्पर्धा नै हुँदैन कि भन्ने डर थियो । गुरुलाई सोध्दा पनि निश्चित छैन भन्नुभएको थियो,’ निमाले भनिन्, ‘यद्यपि, अहिले खेल मात्रै होइन, स्वर्ण नै सम्भव भयो । खुसी छु ।’ सुरुवातमा खेलाडी दर्ताको समयसीमा (२० नोभेम्बर)भित्र निमाको इभेन्टमा बंगलादेशले मात्रै खेलाडी दर्ता गराएको थियो, जब कि खेल हुनका लागि कम्तीमा तीन देश समावेश हुनैपर्ने प्रावधान छ ।

 उसु संघको पहलमा दर्ताको समयसीमा सकिएको पाँच दिनपछि श्रीलंकाले खेलाडी पठाउने निश्चित गरेसँगै निमाको साग सहभागिता टुंगोमा पुगेको थियो । उनले कुल १८.९१ अंक ल्याएर स्वर्ण जितेकी हुन् । मंगलबार हतियारविनाको प्रदर्शनमा ९.३१ अंक ल्याएकी निमाले बिहीबार तरबारसँगको प्रदर्शनमा ९.६० अंक ल्याएकी थिइन् । निमाभन्दा पछि बंगलादेश र श्रीलंकाका खेलाडी रहे । त्यस्तै, सान्सौतर्फ महिलाको ५६ केजी तौल समूहमा जुनी राईले नेपाललाई अर्काे स्वर्ण दिलाइन् । जुनीले १२औँ सागमा पनि स्वर्ण जितेकी थिइन् । 

यससँगै नेपालले १३औँ सागमा उसुतर्फ पाँच स्वर्ण जितेको छ । पहिलो दिनको खेलमै मंगलबार विजय सिन्जाली र सुस्मिता तामाङले थाउलुतर्फ स्वर्ण जितेका थिए । बुधबार दीपक हमालले पनि स्वर्ण जितेका थिए । बिहीबार नेपालका मंगल थारू र सिलु डंगोलले रजत जिते ।