मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०७:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

मुख्यमन्त्री र तिब्बत सरकारका प्रमुखबीच भेटवार्ता : विकासमा साझेदारी प्रस्ताव

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०७:०६:००

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीनको स्वशासित क्षेत्र तिब्बत सरकारसँग विकासमा साझेदारीको प्रस्ताव गरेका छन् । तिब्बत सरकार अध्यक्ष छी टालासँग बिहीबार काठमाडौंमा भएको भेटवार्तामा पौडेलले विकास पूर्वाधारसँगै उत्तरबाट हुने व्यापारमा सहयोग गर्न आग्रह गरे । 

पौडेलले नेपालका निर्यातयोग्य वस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न आग्रह गरेका छन् । ‘प्रदेश ३ बाट पनि तिब्बतमा वस्तु निर्यात हुने गरेको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘निर्यात भएका वस्तुको प्रोत्साहन र बिक्री बढाएमा हाम्रो व्यापार घाटामा कमी आउनेछ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विकास, व्यापार र पर्यटनका विषयमा केन्द्रित भएर छलफल भएको थियो । छिमेकी चीनको विकासबाट नेपालले फाइदा लिन सक्ने उनको तर्क छ । 

रसुवागढी–स्याफ्रुबेँसी सडक स्तरोन्नतिको काम सुरु भएकोमा खुसी व्यक्त गर्दै पौडेलले केरुङ–काठमाडौं रेलमार्ग र रसुवागढी–काठमाडाैं सुरुङमार्ग सम्भाव्यता अध्ययन समझदारीसँगै थप सहयोगको समेत अपेक्षा गरेको बताएका थिए ।

वार्षिक २० लाख पर्यटक नेपाल भित्र्रयाउने लक्ष्यसाथ सन् २०२० लाई भ्रमण वर्ष घोषण गरेको जानकारी गराउँदै पौडेलले तिब्बत सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने विश्वास लिएको बताए । दुई देशबीच सहयोग अभिवृद्धि गर्न र अन्तक्र्रिया बढाउन व्यापार, पर्यटन, सीमा सुरक्षा तथा भन्सारसम्बन्धी द्विपक्षीय संयन्त्र सक्रिय रहेको समेत उनले बताएका थिए । 

तिब्बत सरकारका अध्यक्ष छी टालाले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, सडकलगायत क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । नेपाल र तीब्बतबीच पुरानो सम्बन्ध रहेको स्मरण गर्दै उनले सहकार्यको प्रतिबद्धता जनाएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारको पूर्ण सहयोग रहने वचनसमेत उनले दिए ।