Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १५:५०:००
साहित्य

१३ औं सागमा बहिनीले स्वर्ण पदक जितेपछि दाजुले लेखे मनछुने कविता

नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १५:५०:००

१३ औं सागमा महिला एथलेटिक्सतर्फ नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दाैडमा स्वर्ण पदक जितिन । उनकाे ऐतिहासिक जितपछि उनका दाजु केदारले एउटा सुन्दर कविता कोरे बहिनीको नाममा । देशको नाम राख्दै बहिनीले स्वर्ण पदक जितेको खुशीमा उनले लखेको कविता

मिलिसेकेण्ड धावकलाई पत्र

- केदार श्रेष्ठ

तिमी रंगशालाको रातो ट्रयाकमा उभिँदा
त्यही रंगशालाको रातो गेटबाहिर
म रातो गाला बनाएर उभिएको थिएँ
थाहा थियो तिम्रा आँखाहरुले
खोजिरहेका थिए तिम्रो दाजुको आँखा ।
म पनि लालयित थिएँ
तिम्रो आँखालाई उत्साह थप्न
तर बाहिर उभिएको थिएँ ढुक्कले
हो ढुक्कले, कीनकी मैले बुझेको थिएँ 
तिमी ट्रयाकमा दौडिन उभिएका थिएनौ
एउटा सुन्दर कविता लेख्न उभिएका थियौ ।

म सोचिरहेँ
२५ चक्करसम्म तिमीले के के सोच्यौं होला ?
काठमाडौंको कुचुक्क डेरामा फुचुक्क खाटमा
म, तिमी र भाइ
कोच्चिएर चिपिक्क निदाएका पलहरु
तिमीले सम्झ्यौ की सम्झेनौ
उडुसले सताएका रातहरु ?
हाम्रा उडुस मार्ने प्रतिष्पर्धाहरु ?
घाम नउदाउँदै छिमेकमा बसेका
बाल्टिन र ग्यालिनका पानी लाइनहरु ?
मट्टितेल पसलका आगो कुरेका दिनहरु ?
अनि सम्झ्यौ की सम्झेनौ
कापी जोगाउन पेन्सिलले कोरेका धर्साहरुमाथि
फेरि डटपेनले कोरेपछिका डबल धर्साहरु ?
हाम्रा रफ कापीहरु ?

तिमीले सम्झेको हुनुपर्छ
स्कूल जानेबेला खाटमुनिको अँध्यारो
मोहोर, डबल खसेको छ की भन्ने आशाको उज्यालो
उज्यालो भेटिहाल्यौ भने थपक्क भाइको हातमा राखिदिन्थ्यौ
मुसुक्क हाँस्थ्यौ र झन् उज्यालो भएर दौडिन्थ्यौ स्कूल ।

हो त्यही उडुस प्रतिष्पर्धा हो तिम्रो पहिलो प्रतिष्पर्धा ।
त्यही पानी र मट्टीतेलको लाइन हो तिम्रो पहिलो ट्रयाक ।
तिनै रफ कापीका डबल धर्साहरु हुन्, तिम्रो जीवनको साफी ।
हो भाइको हातमा राखिदिएको मुस्कान हो तिम्रो उज्यालो । 

हामी कुरा गथ्र्यौं, कक्षामा कति विद्यार्थी छन्
तर सबै फस्ट हुँदैन, सबै फस्ट हुनै सक्दैन
जीवनमा फस्ट हुनैपर्छ भन्ने पनि छैन,
तर हामी निर्णय गथ्र्यौं, ‘गोल्ड इज गोल्ड’ ।

धेरैले भन्ने गर्छन् ‘इतिहास जित्नेहरुको लेखिन्छ’
तर तिमीले बुझ्नुपर्छ नानी
यो त प्रपञ्चले हराइएकाहरु गुमनाम पार्ने षडयन्त्र हो 
जीवनको संघर्षमा हारेर उज्यालो छर्नेहरु माथिको अपमान हो 
इमान्दार प्रतिष्पर्धामा त हार्नेहरुको पनि शीर ठाडो हुनुपर्छ ।
तिम्रै वरिपरी पनि हार्नेहरु छन्, जसले तिमीलाई जित्न सिकाए
तिमीले देख्नुपर्छ ‘इतिहासको चिहान खनेर कंकालमा रमाउनेहरु’
तिमीले बिर्सनु हुँदैन, हार्नेहरुको पनि हुन्छ इतिहास ।
हो तिमीले यी बिर्सनै हुँदैन
किनकी तिमी इतिहास बनाएका मान्छे हौं ।

तिम्रो पाइतलाले स्पर्श गरेका रंगशालाको मैदानमा 
हजारौं पेटहरुको छाक काटेर बनाइएको हो ट्रयाक
हजारौं पसिनाले सिचेर पोतिएको हो रंग
असंख्य सपनाहरुलाई विभाजित पार्दै
कोरिएका हुन् सेता डिभाइडर लाइन 
त्यही ट्रयाक बनाउन, त्यही रंग पोत्न 
कैयौंले ती छाकमाथि झेल गर्दै भरेका छन् भकारी
धेरैले ती पसिनालाई पाइप लगेर झारेका छन् आफ्नै धारामा
केहीले भत्काएका छन् सपनाहरुको विश्वासिलो खम्बा
तिमीले बुझ्नुपर्छ नानी, तिम्रो भूगोलको हावापानी । 

तिम्रो जितले ओढाएको राष्ट्रिय झण्डाको
रातो रंग तिम्रो पनि प्रिय रंग हो 
तिमीले पनि बुझेका छौं झण्डाको रंगको विम्व
हजारौं स्वप्नयात्रीहरु निमोठिएपछि
झण्डाले पाएको हो विम्वको सार्थकता
र बनाएको हो अर्को प्रतीक
ती स्वप्नयात्रीहरुकै ठेगाना हराएको भूगोल हो तिम्रो
र ज्ञात–अज्ञातमा लगेर गोलमोटोल मोलमोलाई हो यथार्थ
तिमीले यो पनि बुझ्नुपर्छ की 
सपनाहरु नै निमोठिएको वर्तमान हो हाम्रो । 

फेरि पनि तिम्रो पाइतलाले दौडेको हो दौड
तिम्रो खुट्टाले दिएको हो लय ट्रयाकमा
तर भिरेकै हो तक्मा छातिले
झुण्ड्याइकै हो मेडल घाँटीले । 
तर तिमी ‘फगत पाइताला’ हुनुहुँदैन
तिमी त मस्तिष्क हौ मान्छेको । 

ए मेरा प्रिय पाठक, प्रिय श्रोता, प्रिय दर्शक
ए मेरा प्रिय कवि, प्रिय कविता, प्रिय धावक
मिलिसेकेण्डले जितेका हौ स्वर्ण 
३५ मिनेट ०७ः९४ सेकेण्डमा २५ चक्करको ‘फिनिसिङ’
तिम्रो अगाडि त पूरा जिन्दगी छ, जसको चक्करै चक्कर छ 
जसको सुरुवात छ, कुनै ‘फिनिसिङ’ छैन
कुनै दिन तिम्रा घडीले झेल गर्न सक्नेछ मिलिसेकेण्डमै
खिया लाग्न सक्छ तिमीले जितेको स्वर्णमा
तर मलाई विश्वास छ,
तिमी दौडिरहनेछौ जीवनको चक्कर
खोजिरहनेछौं चक्करको ‘फिनिसिङ’
कीनकी मलाई यो विश्वास छ
तिमी गोल ट्रयाकमा दौडिरहेका छैनौ
एउटा सुन्दर कविता लेखिरहेका छौं ।