मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका  सुर्खेत
२०७६ मङ्सिर १८ बुधबार १०:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णालीका मन्त्री र सचिवलाई तीन महिना प्रदेश नछाड्न निर्देशन : मुख्यमन्त्रीको निर्देशन मन्त्रीद्वारा अवज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  सुर्खेत
२०७६ मङ्सिर १८ बुधबार १०:२१:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका मन्त्री र मन्त्रालयका सचिवलाई तीन महिना प्रदेश नछाड्न दिएको निर्देशन मन्त्रीहरूले अवज्ञा गरेका छन् । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्च न्यून भएपछि मुख्यमन्त्री शाहीले मन्त्रीहरूलाई बजेट कार्यान्वयनमा केन्द्रित हुन प्रदेश नछाड्न, औपचारिक कार्यक्रममा नजान तथा कर्मचारीलाई बिदा नबस्न शनिबार  निर्देशन दिएका थिए । 

मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्दै मंगलबार कर्णाली सरकारका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटनमन्त्री नन्दसिंह बुढा चलचित्रको शुभमुहूर्तमा देखिए भने मुख्यमन्त्रीसहित कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला जाजरकोटको औपचारिक कार्यक्रममा देखिए ।

मन्त्रीहरूको कार्यक्रम मोहले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने कर्णाली सरकारको प्रवृत्ति दोहोरिएको बताएका छन् । सामाजिक विकासमन्त्री रावल र पर्यटनमन्त्री बुढाले मंगलबार काँक्रेविहारमा गई ‘अधुरो सपना’ नामक चलचित्रको शुभमुहूर्त गरेका छन् ।

सामाजिक विकृतिविरुद्धको चलचित्र भएकोले शुभमुहूर्तमा गएको सामाजिक विकासमन्त्री रावलले बताए । मुख्यमन्त्रीले मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन नदिएको उनको भनाइ छ ।

‘मुख्यमन्त्रीज्यूले मन्त्रीहरूलाई १० वटै जिल्लामा गएर विकास निर्माणको अवस्था बुझ्न भन्नु भएको हो,’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा जानुभन्दा बजेट कार्यान्वयनतिर लाग्न मुख्यमन्त्रीले भन्नुभएको हो ।’ बरु सचिवहरूलाई तीन महिना कतै नजान मुख्यमन्त्रीले निर्देशन दिनुभएको उनले बताए ।

आफ्नो अभिव्यक्ति आफैँ उल्लंघन
सरकारका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिएकै भोलिपल्टदेखि मुख्यमन्त्री शाहीआफैँ पनि सार्वजनिक कार्यक्रममै व्यस्त देखिएका छन् ।

सोमबार सुर्खेत र कालिकोटको कार्यक्रममा भाषण गरेका मुख्यमन्त्री शाहीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री ज्वालासहित जाजरकोट पुगेका थिए ।

मुख्यमन्त्रीको निर्देशन कर्णालीमा कर्मचारीलाई तर्साउनका लागि भएको सरकारका एक सचिवले बताए । ‘आफ्नो अभिव्यक्ति आफैँ कार्यान्वयन नगर्ने अनि कर्मचारीलाई दोष दिने ?’ उनको प्रश्न थियो ।