१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रुकुम (पूर्व)
२०७६ मङ्सिर १७ मंगलबार ०८:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातबाट बच्न योजना निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रुकुम (पूर्व)
२०७६ मङ्सिर १७ मंगलबार ०८:५२:००

चिसो सुरु भएसँगै रुकुम पूर्वमा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन सुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन सुरु गरिएको हो । 

हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि प्रतिकार्य योजना बनाउन थालिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रुकुम (पूर्व) प्रदेश ५ को एक मात्र हिमाली जिल्ला हो । यहाँ चिसोका कारण कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन् । 

हिमपात प्रभावित बस्तीको पहिचान
विपद् व्यवस्थापन समितिले जिल्लाका तीनवटै स्थानीय तहका हिमपात प्रभावित बस्तीहरूको पहिचान गरेको छ । तीनै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुन सक्ने बस्तीहरूको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए । 

रुकुम (पूर्व)मा हिमपातबाट सबैभन्दा बढी प्रभावित हुने पुथाउत्तरगंगा गाउँपालिका हो । पुथाउत्तरगंगाका अधिकांश बस्ती बर्सेनि हिमपातबाट प्रभावित हुने गरेका छन् । हिमपातबाट जिल्लाका भूमे र सिस्ने गाउँपालिका पनि प्रभावित हुने निष्कर्ष विपद् व्यवस्थापन समितिले निकालेको छ । यस वर्ष जिल्लाका करिब ३५ सयभन्दा बढी नागरिक हिमपातबाट प्रभावित हुने अनुमान स्थानीय प्रशासनले गरेको छ ।