मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तवलिन सिंह
२०७६ मङ्सिर १७ मंगलबार ०८:३४:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

रोजगारी दिन असफल मोदी सरकार

Read Time : > 1 मिनेट
तवलिन सिंह
२०७६ मङ्सिर १७ मंगलबार ०८:३४:००

मोदीकालमा निजी क्षेत्रमा गहिरो मन्दी छाएको हुनाले क्षमतावान् लगानीकर्ता अगाडि आउन तयार नहुँदा यहाँ रोजगारी बढ्न सकेको छैन

पछिल्ला दिन मलाई मोदीको एक भाषणको सम्झना धेरै आउँछ । उनले प्रधानमन्त्री बनेको केही महिनापछि पेरिसमा प्रवासी भारतीयलाई सम्बोधन गरेका थिए । त्यतिवेला मोदीका हरेक भाषणमा नयाँ जोश र नयाँ उमंग देखिन्थ्यो । आफ्ना स्रोता र नौजवान अगाडि देखेपछि थोरै भावुक हुँदै उनले भनेका थिए– भारतलाई यस्तो देश बनाउने कोसिस हुनेछ, जहाँ रोजगारीका धेरै अवसर हुनेछन् र युवाले देश छाडेर कामको खोजीमा बिदेसिनुपर्दैन ।

म यो लेख न्युयोर्कबाट पठाउँदै छु र यहाँ भारतीय युवाले सानातिना काम गरेको मलाई राम्रो लाग्दैन । बिहान उठेर बाहिर टहलिने मेरो बानी छ । यस महानगरको विशाल सेन्ट्रल पार्कमा म सधैँ घुम्छु । फर्कंदा प्रायः भारतीय युवाले मजदुरी गरेको देख्छु । आज बिहान फर्कंदाको समय केही सिख नौजवान देखेँ, मैले रोकिएर उनीहरूसँग पन्जाबीमा कुरा गरेँ ।

जब उनीहरूलाई मैले सोधेँ– देशबाट यति टाढा उनीहरूको मन किन बसेको छ ? तब उनीहरूले हाँसेर भने– भारत छाडेको झन्डै १५ वर्ष भइसक्यो । पन्जाबमा खेतीबाट यति कमाइ हुँदैन, जति यहाँ मजदुरी गरेर हुन्छ । देशको याद आउँछ, तर बाध्यता छ, त्यसैले यहाँ बसिरहेका छौँ । न्युयोर्कका धेरै विदेशी मजदुर भारत या पाकिस्तानबाट आएका छन् । यहाँ आएर उनीहरू त्यस्ता सबै काम गर्छन्, जुन अमेरिकी गर्न चाहँदैनन् । 

भारतका गृहमन्त्री बंगलादेशबाट आएका व्यक्तिलाई ‘धमिरा’ भन्छन्, खासमा उनीहरू आर्थिक शरणार्थी हुन् । उनीहरूप्रति सहानुभूति राख्नुपर्छ किनकि हाम्रा देशवासी पनि बाध्य भएर रोजगारीको खोजीमा देश छाडेर बाहिर जान्छन् । उनीहरूमध्ये कति त दलाललाई लाखौँ रुपैयाँ दिएर अवैध बाटो हुँदै पनि अमेरिका आउँछन् । 

भारतका गृहमन्त्री बंगलादेशबाट आउनेलाई धमिरा भन्छन्, खासमा उनीहरू आर्थिक शरणार्थी हुन् । उनीहरूप्रति सहानुभूति राख्नुपर्छ । हाम्रा देशवासी पनि बाध्य भएर कामको खोजीमा बिदेसिन्छन् ।

नरेन्द्र मोदीको प्रधानमन्त्रीत्व कालमा गरिबको जीवनलाई राम्रो बनाउन धेरै गरिएको छ । दूरदराजमा मैले त्यस्ता धेरै गाउँ देखेको छु, जहाँ घरमा ग्यास सिलिन्डर छ, गरिबका घरमा बिजुली पुगेको छ । प्रधानमन्त्री आवास योजनाअन्तर्गत अस्थायी टहरामा बस्ने विपन्नले पैसा पाएका छन् । यी सबैका बाबजुद आजसम्म मोदीले रोजगारी दिन सकेका छैनन् । 

मोदीकालमा रोजगारीका नयाँ अवसर यसकारण पैदा भएनन् किनकि निजी क्षेत्रमा अहिलेसम्म यति गहिरो मन्दी छाएको छ कि क्षमतावान् लगानीकर्ता अगाडि आउनै तयार छैनन् । जो हिम्मत गरेर तयार हुन्छन्, उनीहरूले बैंकको ऋण पाउँदैनन्, किनकि बैंकको हालत अत्यन्त कमजोर छ । 

बैंक यसकारण कमजोर छन् कि निरव मोदीजस्ता मानिसले बैंकका अधिकृतलाई घुस दिएर डकैती गरिरहेका छन् । हालै पन्जाबमा एन्ड महाराष्ट्र को–अपरेटिभ बैंक (पिएमसी) मा भएको घोटालाले मलाई हैरान गरेको छ ।

विश्वास गर्नै मुस्किल छ कि चोरलाई बारम्बार ऋण कसरी दिइयो ? समस्या यही छ कि जबसम्म सरकारी बैंकमा सुधार आउँदैन, या यसको निजीकरण हुँदैन, आर्थिक मन्दी टाढा हुने देखिँदैन । न त रोजगारीका नयाँ अवसर नै पैदा हुने सम्भावना देखिन्छ । त्यसैले निकट भविष्यमा पनि भारतका नौजवान रोजी–रोटीको खोजीमा विदेश पलायन भइरहनेछन् । 

(पत्रकार सिंह राजनीतिक टिप्पणीकार हुन्) अमर उजाला डटकमबाट