२०७६ मङ्सिर १७ मंगलबार ०७:५९:००
नयाँ पत्रिका

टुबोर्ग ओपन सेसन्स् २ : रामकृष्ण ढकालको  नजिक आउनुमा सार्वजनिक

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ बोलको गीत टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा सन् २०१८ मा सुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब शृंखला हो र अघिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारको बेजोड प्रस्तुतिका साथ यसको सिजन–२ सुरु भएको छ ।

रामकृष्ण ढकाल प्रतिभाशाली गायक हुन् । उनी प्रचलित गायक मात्र होइनन्, अभिनेता पनि हुन् । लामो सांगीतिक यात्राका क्रममा उनले हालसम्म पाँच हजारभन्दा बढी मौलिक गीत गाइसकेका छन् । ०५५ सालमा प्रबल गोरखा दक्षिणबाहुद्वारा सम्मानित हुने सबैभन्दा कम उमेरका व्यक्ति थिए, उनी ।

सानो उमेरमै स्वरसम्राट नारायणगोपालका लोकप्रिय गीतहरू गाएर उनको सांगीतिक यात्रा सुरु भएको थियो । करिब तीन दशकदेखि निरन्तर मिहिनेत र धैर्यका साथ ढकाल आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेखाउन सफल भएका छन् ।

नेपाली संगीत बजारमा हिट रहेका उनका सबै एल्बममा समेटिएका गीतले श्रोतालाई एकै समयमा मुस्काउने र रुवाउने बनाउँछन् । आफ्नो संगीतको जादु विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा आफ्नो हिट गीत ‘नजिक आउनुमा’ प्रस्तुत गरेका हुन् ।

टुबोर्ग ओपन सेसन्स्मा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएका विभिन्न कलाकारका प्रस्तुति पेस गरिन्छ । टुबोर्ग ओपन सेसन्स् सिजन–१ मा ५१ वटा गीत च्यानल आरबिट्ररीमार्फत युट्युबमा अपलोड गरिएका थिए, जसले एक करोडभन्दा बढी भ्युज संकलन गरेका छन् ।