मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर १७ मंगलबार ०७:१९:००
Read Time : > 2 मिनेट
सप्तरंग

सर्जक दयाका पात्र होइनन्

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार ०७:१९:००

०६४ सालमा गायक नरेन्द्र प्यासीका दुई गीत हिट भए– ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’ । ०४१ सालमा ‘के भूल भयो प्रिया’ गीतमार्फत श्रोतामाझ गहिरो छाप छाडेका उनका नयाँ गीत श्रोताले सुन्न नपाएको धेरै भइसकेको थियो ।

संगीतकार आशिष अविरल यस क्षेत्रमा उदाउने क्रममा थिए । उनको नयाँ एल्बमका गीतहरू कम्पोज भइसकेका थिए । उनलाई मोहम्मद रफीको स्तरको स्वर चाहिएको थियो, जसबाट कम्पोजलाई न्याय होस् । त्यो समयमा चलेका अन्य गायक पनि नभएका होइनन् । तर, कसैलाई छनोट गरिहाल्न सकेका थिएनन् । नरेन्द्र प्यासीको स्वरप्रति उनमा विश्वास थियो, तर कुरा गर्ने अवसर मिलिरहेको थिएन ।

त्यही समयमा संगीतकार बिबी अनुरागीको विवाह हुने भयो । निमन्त्रणा कार्ड बाँड्ने जिम्मा लिएर आशिष पुगे, प्यासीको घर । निम्ताकै क्रममा आशिषले कम्पोज सुनाए । नरेन्द्रले मन पराए । ‘दुवैलाई कम्पोज र स्वर मन प-यो, त्यसपछि पुनर्विचार गर्नै परेन,’ आशिष भन्छन् । नरेन्द्रसँगको सहकार्यबाट आशिष पनि मूलधारमा चिनिए ।

मूलधारका दुःख
यो १२ वर्षको अन्तरालमा आशिषका धेरै गीत आए । दुई वर्षअघि उनको संगीतमा एउटा गीत आयो– नाइँ मलाई थाहा छैन । एकनारायण भण्डारीको शब्द तथा सञ्जीव पराजुली र टीका प्रसाईंले गाएको यो गीतका भ्युअर्स चार करोडभन्दा बढी भइसकेका छन् । यसको म्युजिक भिडियोमा कार्टुन्ज क्रुको मोडलिङ छ ।

‘कला र एटिच्युडलाई सन्तुलनमा राख्नुपर्छ । अहिले मेरो कोसिस त्यसैमा छ । दया गरेर काम दिएको व्यवहार सर्जकका लागि पीडादायी हुन्छ ।’

आशिषले केही हिट आइटममा कार्टुन्ज क्रुसँग सहकार्य गरेका छन् । चलेका डान्स ग्रुपसँग काम गर्दा कतिपय सर्जक छायामा परेको पाइन्छ । नेपालमा फिचरिङ गर्दा मोडललाई नै लिप सिङ गराइन्छ, विदेशमा भने सर्जक नै उपस्थित हुन्छन् । ‘हामीले गीतमा अडियोलाई फोकस गर्नुपर्नेमा त्यो गर्दैनौँ,’ उनी भन्छन्, ‘यसले गर्दा न गाउने मान्छेलाई फाइदा पुगेको छ, न त भिडियो बनाउनेलाई नै ।’कतिपय अवस्थामा मोडलिङ गर्ने मान्छेलाई नै सर्जकबारे थाहा हुँदैन । एकपटक गीत हिट भएपछि एक मोडलले आशिषलाई भनेकी थिइन्, ‘यो हजुरले बनाउनुभएको हो र सर ?’ आशिष भन्छन्, ‘यो विडम्बना हो ।’

आशिषले ‘ए मेरो हजुर–३’का दुईवटा गीतमा संगीत दिएका थिए– ‘जिन्दगी नै भन्दिनँ म’ र ‘परान परान’ । ‘परान परान’मा उनकै स्वर थियो । ‘अहिले यो गीत मैले गाएको हो भन्दै हिँड्नुपरेको छ,’ उनी भन्छन्, ‘सर्जक आफू पनि दर्शकको नजरमा पर्न उसले ‘आर्ट र एटिच्युड’को विकास गर्नुपर्छ ।’

नेपालमा फिचरिङ गर्दा मोडललाई नै लिप सिङ गराइन्छ, विदेशमा भने सर्जक नै उपस्थित हुन्छन् । गीतमा अडियोलाई फोकस गर्नुपर्नेमा त्यसो हुँदैन, जसबाट न गायकलाई फाइदा पुगेको छ, न त भिडियो निर्मातालाई नै ।

उनको यो जवाफले अर्को प्रश्न जन्मायो, ‘सर्जक छायामा पर्नुमा सर्जकले जोगिएर काम नगरेर पनि त होला ?’ भारतीय फिल्म ‘रोबर्ट’मा निर्देशक एस शंकरपछि ‘विथ एआर रहमान’ भनेर राखिएको छ । एउटा संगीतकारको उपस्थितिलाई त्यसस्तरमा स्विकारिएका उदाहरण नेपाली फिल्ममा कम छन् । नेपाली फिल्ममा यस्तो अवस्था कहिले आउने ? आशिष भन्छन्, ‘हामीले त्यसो गरौँ भनेर भने त आफैँ आउट भइन्छ । त्यसका लागि हाम्रो संगीतले गर्ने कमाइ पनि ठूलै हुनुपर्छ होला ।’

आर्ट एन्ड एटिच्युड
त्यही कारण हुन सक्छ, नेपालमा सर्जकलाई सहानुभूति या दयाको नजरले हेरिने गरेको गुनासो पनि सुनिन्छ । आशिष भने आफ्नो अडान राख्ने स्थानमा र स्थापित छन् । सहानुभूतिको नजरले हेरियो भने आफूले कामै नगर्ने उनी बताउँछन् ।

काम गर्दै जाँदा अडान राख्न सक्ने मानिसले कमाएको र राख्न नसक्ने गुपचुप बसेको उनले प्रत्यक्ष देखेका छन् । सोही कारण कलामा एटिच्युड जोडिने उनको बुझाइ छ । ‘त्यसैले कला र एटिच्युडलाई सन्तुलनमा राख्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले मेरो कोसिस त्यसैमा छ । दया गरेर काम दिएको व्यवहार सर्जकका लागि पीडादायी हुन्छ ।’