मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १७ मंगलबार ०७:१०:००
Read Time : < 1 मिनेट
प्रदेश

बलात्कार आरोपित सिद्धबाबालाई अदालत हाजिर गराइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १७ मंगलबार ०७:१०:००

अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप


बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासलाई सोमबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको छ ।

कृष्णदासलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङ होमबाटै नियन्त्रणमा लिएको थियो । उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर जिल्ला अदालत सुनसरीमा म्याद थप गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए । अस्पतालको आइसियूमा उपचाररत उनलाई थप अनुसन्धानका लागि चार दिनको म्याद थप गरेर पनि पुनः अस्पताल नै पुर्‍याइएको छ ।

कृष्णदासलाई विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्समार्फत अदालत उपस्थित गराइएको थियो । एम्बुलेन्सबाट ओरालेपछि ह्विल चेयरमार्फत जिल्ला अदालत लगिएको उनलाई जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासमा म्याद थपका लागि पेस गरिएको थियो ।

बिहान नियन्त्रणमा लिँदा चिकित्सकले लान दिएका थिएनन्, तर उनलाई पक्राउ नगरेको भन्र्दै प्रहरीको आलोचना बढेपछि नियन्त्रणमा लिन प्रहरी बाध्य भएको थियो । कृष्णदासविरुद्ध ४ कात्तिकमा एक महिलालाई बलात्कार गरेको उजुरी परेको छ । प्रहरीमा उजुरी परेसँगै उनी उपचारका लागि भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए ।

घटना सार्वजनिक नगरिदिनू भन्दै बोलेको अडियो महिलाले सार्वजनिक गरेपछि उनलाई आइतबार दिउँसो हार्ट अट्याकको संकेत देखिएको भन्दै आइसियूमा भर्ना गरिएको हो । उनले भने आफूलाई फसाउन षडयन्त्र भएको बताउँदै आएका छन् ।