Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौ
२०७६ मङ्सिर १७ मंगलबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलनमै, परीक्षा गर्ने तयारी विद्यार्थी भन्छन्– परीक्षामा सहभागी हुँदैनौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौ
२०७६ मङ्सिर १७ मंगलबार ०७:०९:००

विद्यार्थी सडक आन्दोलनमा रहेका वेला सरकारले चिकित्सा शिक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । १९ मंसिरदेखि एमबिबिएस पहिलो र दोस्रो वर्षसहित चिकित्सा शिक्षाका अन्य परीक्षा सञ्चालन हुँदै छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले विद्यार्थी आन्दोलनमै रहे पनि परीक्षा नरोकिने जनाएको छ । आइओएमका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले विद्यार्थीको आग्रहमा एकपटकका लागि सारेको परीक्षा अब नसर्ने स्पष्ट पारे । 

कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै निरन्तर विद्यार्थी आन्दोलनमा भएकाले उनीहरूको आग्रहलाई स्वीकार गर्दै आइओएमले २१ कात्तिकबाट हुने परीक्षा एक महिना पछि सरेको थियो । तर, निजी कलेजहरूले माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरू पुनः परीक्षा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले लिएको बढी शुल्क समायोजन गरेर मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने बताए ।

१० मंसिर राति भएको सहमतिअनुसार पहिलो र दोस्रो वर्षका विद्यार्थीसँग बढी लिएको रकम तत्काल फिर्ता हुनुपर्ने उनको भनाइ छ । तर, कलेजहरूले सरकारसमक्ष लिएको बढी रकम फिर्ता गर्ने बताए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएका छैनन् । 

 रकम फिर्ताको वचन दिए, प्रक्रिया सुरु भएन 
नेसनल मेडिकल कलेज वीरगन्जमा अध्ययनरत विद्यार्थी धनबहादुर तामाङले कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले रकम फिर्ताको प्रक्रिया मंगलबार (आज)सम्म थाल्ने वचन दिएको जानकारी दिए । तर, अन्सारीमाथि विश्वास गर्ने आधार भने नदेखिएको उनको भनाइ छ । आन्दोलनरत अवस्थामै तामाङले १९ मंसिरदेखि सुरु हुने परीक्षामा आफूहरू सहभागी हुन नसक्ने उनले बताए ।

गण्डकी मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेजका सञ्चालकले पनि लिएको बढी रकम फिर्ता दिने विद्यार्थीलाई वचन दिएका छन् । तर, प्रक्रिया अघि बढाएका छैनन् । पहिलो र दोस्रो वर्षका विद्यार्थीको हकमा मात्रै रकम फिर्ता वा समायोजन गर्ने सञ्चालकले बताएपछि विद्यार्थीले आन्दोलन जारी राखेका हुन् । संघर्ष समितिका संयोजक डा. गैरेले तेस्रो र चौथो ब्याजका विद्यार्थीसँग लिएको बढी रकम पनि फिर्ता गरे मात्रै आन्दोलन स्थगित हुने बताए । 

 युनिभर्सल र चितवनमा अझै ताला
एक महिनादेखि चितवन मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेजमा लगाएको ताला अझै खुलेको छैन । लिएको बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले दुई कलेजको शैक्षिक भवनमा ताला लगाएका थिए । रकम फिर्ताको प्रक्रिया अघि बढेमा मात्रै ताला खोलिने विद्यार्थीको भनाइ छ । युनिभर्सल मेडिकल कलेजमा १४ कात्तिकदेखि विद्यार्थी आन्दोलनमा छन् ।

कलेजहरूले प्रतिविद्यार्थी दुईदेखि तीन लाख रुपैयाँसम्म बढी लिएका छन् । गण्डकी मेडिकल कलेजका एक विद्यार्थीका अनुसार कलेज सञ्चालकले कम्युनिटी शुल्क, इन्टर्न शुल्क लिने बताएपछि कलेज र विद्यार्थीहरूबीच सहमति हुन नसकेको हो । जानकी मेडिकल कलेज धनुषाका विद्यार्थीहरूले तत्काल माग सम्बोधन गर्न भनेका छन् । उनीहरूले विद्यार्थीहरूको माग सम्बोधन भएमा मात्रै आगामी शैक्षिक सत्रका कार्यक्रममा सहभागी हुने सोमबार विज्ञप्तिमार्फत जनाएका छन् ।