मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १७ मंगलबार ०६:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

स्वास्थ्यबारे अफवाह फैलिएपछि प्रधानमन्त्री उठेर बोले ‘मेरो स्वास्थ्य सुधार भएको छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १७ मंगलबार ०६:२८:००

प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सात दिनदेखि उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको बताए । उनको स्वास्थ्य गम्भीर भएको  भन्दै आइतबार रातिदेखि देश–विदेशका नेपालीबीच अफवाह फैलिएकाे  थियो ।

सेन्टरको पाँचौँ तलाको एक छेउमा कुर्सीमा बसेर ओलीले करिब दुई मिनेटको भिडियो सन्देश दिएका थिए । संक्रमण नहोस् भनेर उनलाई चिकित्सकहरूले आइसियूबाट बाहिर निकालेका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर दुई दिनदेखि देश–विदेशबाट नकारात्मक कुराहरू आउन थालेपछि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

उनले आफू बेडबाट उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्ने र समाचार हेर्न सक्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् । उपचारमा संलग्न चिकित्सकहरूले आगामी शुक्रबारपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

साग हुन सक्छ  कि सक्दैन भन्ने द्विविधा समाप्त भयो
केपी ओली, प्रधानमन्त्री

एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रूपमा त्यसैगरी आइलाग्यो । यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै संक्रमण सीमित भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुने थियो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप‍¥यो । त्यसैले  हप्ता–दश दिनको समय उपचारका क्रममा लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्रोसँग सुधार भइरहेको छ ।

मेजर शल्यक्रियापछि पनि म उठेर बोल्न सक्ने भएको छु । साथीहरूसँग कुरा गर्ने, समाचार हेर्न सक्ने अवस्थामा पुगेको छु । आइतबार मैले १३औँ सागको उद्घाटन समारोह पूरै हेरेँ । साग हुन सक्छ कि सक्दैन भन्ने द्विविधा थियो । तर, त्यो द्विविधा समाप्त भएकोमा खुसी लागेको छ । सागको उद्घाटन गरेकोमा र सबै सहभागी भएकोमा धन्यवाद भन्न चाहन्छु । यो मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरूलाई आग्रह गर्दछु ।