२०७६ मङ्सिर १७ मंगलबार ०६:१८:००

छाउगोठमा निसास्सिएर महिलाको मृत्यु

महिनावारी भएर छाउगोठमा बसेकी एक महिलाको निसास्सिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिग्रेनी गाउँकी पार्वती बुढाराउत सोमबार बिहान मृत अवस्थामा भेटिएकी हुन् । झ्याल नभएको साँघुरो छाउगोठमा आगो बालेर सुत्दा निसास्सिएर उनको मृत्यु भएको हो । 

२१ वर्षीया राउतको महिनावारी भएको तेस्रो दिनमा मृत्यु भएको हो । घरदेखि सय मिटर टाढा रहेको छाउघरमा सुतेकी राउत बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनको निसास्सिएर ज्यान गएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले साँघुरो छाउगोठमा आगोको धुवाँले निसास्सिएर उनको मृत्यु भएको जानकारी दिए । ‘छाउघरको ढोका बन्द थियो, धुवाँ निकास हुने अरू विकल्प थिएन,’ उनले भने, ‘अहिलेसम्मको हाम्रो अध्ययनले पनि निसास्सिएरै मृत्यु भएको देखिन्छ ।’ राउतको सोमबार नै पोस्टमार्टम गरिएको र रिपोर्ट आएपछि मात्र थप जानकारी दिन सक्ने उनले बताए । राउतका पति करण राउत कामको सिलसिलामा भारतमा छन् । ११ वर्षयता छाउगोठमा बस्दा अछाममा १४ महिला तथा किशोरीले ज्यान गुमाएका छन् ।

महिलाहरू किन बस्छन् छाउगोठमा ? 
महिनावारी हुँदा घरमा बसे देवीदेवताले अनिष्ट गर्ने अन्धविश्वासका कारण महिला तथा किशोरीहरू छाउगोठमा बस्ने गरेका छन् । महिनावारी हुँदा घरमा बसे आगलागी हुने, जनधनको क्षति हुने र जीवनमा कुनै पनि काम सफल नहुने डर यहाँका महिलामा पाइन्छ ।

‘महिनाको सात दिन साँघुरो गोठमै बस्नुपर्छ,’ तुर्माखाँदकी सम्झना वयक भन्छिन्, ‘त्यस्तो वेला घरमा बसे देवताले साह्रैै सताउँछन् । हुने–नहुने अनेक समस्या आइलाग्छन् ।’ छाउगोठमा बस्नुहुँदैन भनेर सम्झाउन खोज्दा बुढापाकाहरू उल्टै रिसाउने गरेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए । ‘घरमा बस्न हाम्रो मनैले मान्दैन । मिल्दै नमिल्ने कुरा गरेर हुन्छ’ भन्दै सम्झाउन खोज्दा धेरैपटक खप्की खाएको उनले सुनाए ।


तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा भन्छिन् ‘बाहिर भाषण गरेजस्तो छैन । महिला अगुवाहरू दिनभरि सम्झाइबुझाई गर्न लाग्छन् । तर, राति हामी आफैँ गोठमा बस्नुपर्ने बाध्यता पनि छ ।’

स्थानीय जनप्रतिनिधि नै छाउगोठ बस्ने प्रचलन हटाउन निकै सकस रहेको बताउँछन् । ‘बाहिर भाषण गरेजस्तो छैन,’ तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढाले भनिन्, ‘अगुवाहरू दिनभरि सम्झाइबुझाई गर्न लाग्छन् । तर, राति हामी आफैँ गोठमा बस्नुपर्ने बाध्यता पनि छ ।’ 

यस्तो वेला स्वास्थ्यमा के समस्या आउँछ ? 
महिनावारी भएका महिला र किशोरीलाई होचा छाउगोठमा सामूहिक रूपमा बस्नुपर्ने बाध्यता छ । यस्तो वेला यौनजन्य रोग सर्ने खतरा अत्यधिक हुने गरेको जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजले बताए । ‘यस्तो वेला रोग सर्ने डर बढी हुन्छ,’ उनले भने, ‘सकेसम्म घरमै बस्दा राम्रो । त्यति गर्न नसकिए एक्लै बस्नु ठीक हुन्छ ।’ सामूहिक रूपमा बस्दा एचआइभीका साथै छाला र श्वासप्रश्वासलगायतका रोग सर्ने गरेको उनले बताए । साथै, जंगली जनावरको डर, बलात्कार, चिसोले पार्ने समस्या, निसास्सिने खतरा र कुपोषण पनि देखिने गरेको भारद्वाजको भनाइ छ । 

छाउगोठमुक्त अभियान निष्प्रभावी
संघीयताअघि अछामलाई छाउगोठमुक्त जिल्ला घोषणा गर्ने अभियान सुरु भएको थियो । त्यसबेला महिला तथा बालबालिका कार्यालयको पहलमा साविकका रामारोशन, कालिकास्थान, तुर्माखाँद, पायल, गाज्रा, जनालीकोट कुइका, बिनायक, जुपु, जाल्पादेबी,चण्डिका, वलीगाउँ, बैजनाथ र जनालीबण्डालीलगायतका गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो । त्यस्तै, ग्रामीण जलस्रोत परियोजनाको पहलमा सुतार, भटाकाटिया, बलाता, ढुंगाचाल्ना, ढकारी, बस्ती, दर्ना, हिच्मा र शान्तडा गाविस, वल्र्ड भिजनले चाल्सा गाविस, सम विकास नेपालले भागेश्वर गाविस तथा बान्नातोली, रिडिकोट, घोडासैन, मष्टाबण्डाली, चाफामान्डौ र सेरा गाविसले छाउगोठ हटाउने घोषणा गरेका थिए । ती निकायले आफ्नो क्षेत्रका गाउँबस्तीका छाउगोठ भत्काए पनि थिए । तर, त्यो प्रभावकारी बन्न सकेन ।
अछाममा छाउगोठमा बस्दा यो वर्ष ज्यान गुमाउनेको संख्या १४ पुग्यो
पार्वती बुढाराउत मृत भेटिएको छाउगोठ । छाउगोठमै बस्दा अछाममा तुर्माखाँदकी गौरी बुढा, पार्वती बुढा, गाज्राकी रोशनी तिरुवा, तिमिल्सैनकी डम्मरा उपाध्याय, रिडिकोटकी शर्मिला भुल, ढकारीकी लक्ष्मी बुढा, बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, पार्वती दमाईं, नाडाकी हंशा जैसी र रानीवनकी हंशदेवी जोशीले ज्यान गुमाएका थिए ।