फाइल फाेटाे
२०७६ मङ्सिर १६ सोमबार १७:३८:००
सुरञ्जन घिमिरे

उपनिर्वाचन परिणामले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पुर्‍याएको छ : वरिष्ठ नेता खनाल 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपनिर्वाचनको पछिल्लो परिणमले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको निष्कर्ष निकालेका छन् ।

प्रदेशसभा सदस्यका लागि भक्तपुर र धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत पाउन नसकेको बताउँदै यस्तो मत परिणामले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको खनालले बताएका हुन् ।

‘नेकपा एक नम्बर पार्टी हो । अहिले पनि एक नम्बरमा छँदै छ । तर भक्तपुर र धरानको मत परिणाम सोचेजस्तो आएन,’ नयाँ पत्रिकासँग कुराकानी गर्दै खनालले भने, ‘तर, यतिलाई मात्र लिएर पार्टीले हारेको बुझ्नु हुँदैन, पार्टीसँग जनता असन्तुष्ट रहेको आंकलन गरिहाल्न हुँदैन, तर पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको छ ।’

नेकपाको गढ मानिएको भक्तपुर र धरानमा पार्टीले पराजय बेहोरेको विषयमा पार्टीले बैठक बोलाएर समीक्षा गर्नुपर्ने उनले बताए  ।

उनले उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा आएको भए पनि धरान र भक्तपुरमा सन्तोषजनक अवस्था नदेखिएको प्रतिक्रिया दिए ।

‘अघिल्लो चुनावमा कांग्रेसले जितेका केही वडा हामीले जितेका छौं । गाउँपालिका पनि जित्यौं । तर भक्तपुर र धरानमा सोचेजस्तो भएन,’ खनालले भने ।

उनले यो उपनिर्वाचनले पार्टीको समग्र जीवन र राष्ट्रिय राजनीतिमा खासै प्रभाव नपार्ने भए पनि नेकपाप्रति जनताको धारणा बुझ्न सघाउ पुर्‍याएको बताए ।

नेकपाका विदेश मामिला उपप्रमुख विष्णु रिजालले पनि नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।

‘पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेद्वार चयन जस्ता कारणहरू आफ्नो ठाउँमा छन्, यस परिणामले हामीलाई थप सजग पक्कै बनाएको छ । समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, तर्कले होइन,’ रिजालले भनेका छन् ।

‘सरकारको आलोचना जनताले अस्वीकार गरेको स्पष्ट’
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको मत बढेको बताएका छन् ।

स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९ दशमलव ८५) स्थानमा विजय हासिल गरेको छ ।

‘एकताअघि दुई पार्टीले २८ स्थान (५३.८५) जितेको थियो । अहिले ३ सीट (५ दशमलव ८५) बढी हासिल भयो,’ थापाले उल्लेख गरेका छन् ।

यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको थापाको दाबी छ ।