१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर १५ आइतबार ०६:२०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो बाइपोलार डिसअर्डर ?

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ०६:२०:००

डा. रितेश थापा
मानसिक रोग विशेषज्ञ
रिदम न्युरोसाइक्याट्री अस्पताल
तथा रिसर्च सेन्टर

लक्षण

  • बाइपोलार  डिसअर्डर हुँदा सुरुवातीको चरणमा डिप्रेसनका लक्षण देखापर्छन् । जस्तै, आत्मविश्वासमा कमी आउने, नकारात्मक सोचाइको विकास हुने, एक्लोपन महसुस हुने, खुसी नहुने, रुन मन लाग्ने तथा यौनइच्छामा कमी आउनेजस्ता लक्षण देखिन्छन् । तर, यस्ता लक्षण केही समयको अन्तरालमा आफैँ हराएर जाने गर्छन् । बिरामीमा बिस्तारै मेनिया तथा हाइपोमेनिया हुने गर्छ । जसले गर्दा प्रभावित व्यक्तिको व्यवहारमा परिवर्तन देखापर्छ । 
  • मेनियाको स्टेजमा पुग्दा बिरामी एकदमै फुर्तिलो देखिन्छ । धेरै बोल्ने वा रिसाउने, धेरै काम गर्न खोज्ने, इनर्जी लेभल बढेर जाने, अत्यधिक पैसा खर्च गर्ने वा घमण्ड गर्ने, आत्मविश्वास धेरै हुनेजस्ता लक्षण देखिन्छन् । अर्थात्, आवश्यकताभन्दा बढी भावना देखाउने खालका हुन्छन् । 
  • रोगको स्टेजअनुसार बिरामीको मुड परिवर्तन भइरहन्छ । कहिले डिप्रेसनमा हुने र कहिले धेरै आत्मविश्वासी वा घमण्डी देखिनेजस्ता लक्षण देखिने हुँदा कतिपय अवस्थामा घरपरिवारमा समस्या पैदा हुन्छ । 

बाइपोलार डिसअर्डर एक किसिमको मानसिक रोग हो, जुन डिप्रेसन र मेनिया गरी दुई स्टेजमा हुने गर्छ । सामान्य भाषामा यसलाई म्यानिक डिप्रेसन भनिन्छ । तर, बाइपोलार डिसअर्डर डिप्रेसन भने होइन ।

कारण

  • बाइपोलार डिसअर्डर हुनुमा धेरै विषयले फरक पारिरहेको हुन्छ । केही प्रतिशतमा वंशाणुुगत गुणबाट समेत यस्तोे समस्या हुन्छ । परिवारका सदस्यमा बाइपोलारको समस्या भएमा अन्यमा समेत यो समस्या हुने जोखिम बढी रहन्छ । 
  • ठूलो दुर्घटनाका कारण मस्तिष्कमा परेको असरबाट समेत बाइपोलार डिसअर्डर हुन सक्छ । त्यस्तै, हर्मोनमा आउने गडबडी, दिमागमा हुने न्युरोट्रान्समिटरमा असन्तुलनजस्ता कारणले यो समस्या भएको पाइन्छ । 

उपचार

  • बाइपोलार डिसअर्डर दीर्घकालीन मानसिक रोग हो । जुन औषधि वा उपचारको माध्यमबाट पूर्णतया निको हँुदैन । उपचारको माध्यमबाट केही समय नियन्त्रण गर्न सकिए पनि केही समयको अन्तरालपछि यो रोग पुनः बल्झिने सम्भावना रहन्छ । 
  • सामान्यतया हाइपोमेनियाको स्टेजमा बायोपोलार डिसअर्डर भएको थाहा पाउन सकिँदैन । मेनिया भएपछि बिरामीको व्यवहार बिस्तारै आक्रामक हुन्छ । यस्तो अवस्थामा उपचारमा झनै कठिनाइ आउने गरेको पाइन्छ । 
  • बाइपोलारको सुरुवाती चरण अर्थात् डिप्रेसनको स्टेजमा औषधिको प्रयोग र साइकोथेरापी आदिको माध्यमबाट रोग नियन्त्रण गर्न सकिन्छ । मेनियामा गइसकेका बिरामीलाई औषधिको प्रयोग, इसिटी र सब थेरापीबाट उपचार गर्न सकिन्छ । पहिलोपल्ट बायोपोलार डिसअर्डर भएमा दुई वर्ष अ‍ौषधिको सेवन गर्नुपर्ने हुन्छ । यदि बारम्बार बल्झिएमा जीवनभर अ‍ैषधिको सेवन गरेर रोग नियन्त्रणमा राख्न सकिन्छ ।