अर्जुन पोखरेल
२०७६ मङ्सिर १४ शनिबार १५:४५:००
सुनिता खनाल काठमाडाैं

संगीतका चारै विधामा अब्बल अर्जुन

संगीतका विविध विधा हुन्छन् । धेरै पक्ष र पाटो मिले सबल संगीत सिर्जना हुन्छ । पछिल्लो समय संगीत क्षेत्रमा चर्चित अर्जुन पोखरेल संगीतका चार विधामा एकैपटक स्थापित छन् । अर्जुनकै शब्दमा गीतको चारमध्ये पहिलो पाटो हो शब्द । शब्द रथ हो । यो रथलाई चलाउने वा हाँक्ने काम संगीतकारको हो । त्यसलाई पूरै संयोजन गरेर बुट्टा भर्ने काम एरेन्जरको हो । त्यसलाई डोर्‍याएर अगाडि बढाउने काम गायक/गायिकाको हो । 

शब्दलाई जमिन मान्दा त्यो जमिनमा घर बनाउने कामचाहिँ संगीतकारले गर्छ । तर, कतातिर कस्तो झ्याल राख्ने, बुट्टा कस्तो बनाउने र कलर कस्तो लगाउने भनेर त्यसलाई फिनिसिङ गर्ने काम एरेन्जरले गर्छन् । एरेन्जरले नै यस्तो बाजा राख्ने भनेर खाका बनाउँछ । अन्तिममा त्यसलाई फिनिसिङ गर्ने हो गायक गायिकाले । तर, अर्जुन यी चारै पाटो र पक्षमा आफैँ काम गर्छन् । उनी काम मात्र होइन्, निपूर्ण बनाउँछन् र मजबुत गीत पस्कन्छन् ।

शब्दमा सबल
‘तिमी रोएको पल’, ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’, ‘जब जब तिम्रो साथ मिल्दै गयो’, ‘सँगसँगै सहेको’ जस्ता शब्द अर्जुनले लेखे । आफैँ संगीत भरे । ती गीतमध्ये थुप्रै ‘करोड क्लब’मा छन् । त्यति मात्रै होइन उनले म्युजिक एरेन्ज गरेका थुप्रै गीत पनि करोड क्लबमै छन्, सबै हिट छन् । उनले थोरै गीत गाए, तर सबै रुचाइए, सबै सफल भए । ‘मेरा १४ वटा गीत करोड क्लबमा परिसकेका छन्,’ उनले भने । उनका चलचित्रका रोमान्टिक गीत पनि करोड क्लबमै छ । चलचित्रको फास्ट ट्र्याक पनि करोड क्लबमै परेका छन् । एल्बमकै डान्सिङ नम्बर पनि करोड क्लबमा छ । लोक टाइपको गीत पनि चर्चित छन् । स्रोता र दर्शकको चाहनालाई उनले पछ्याइरहेका छन् । 

संगीत साधनामा सिपालु  
अहिलेसम्म अर्जुनले १५ सय गीतमा संगीत भरिसकेका छन् । त्यसमध्ये रेकर्ड भएर सात सयभन्दा बढी गीत बजारमा आइसकेका छन् । उनी कम्पोज गरेर पनि स्टकमा गीत राख्छन् । एकदमै धेरै अवार्ड जित्ने संगीतकारको सूचीमा उनको नाम पर्छ । ‘थुप्रै अवार्ड पाइसकेको छु,’ उनले भने, ‘कहिलेकाहीँ त सम्मानको भारी कसरी बचाइराख्ने भनेर आत्तिन्छु ।’

अर्जुन गीतको डमी बनाएर ट्र्याकमा गाइसक्छन् । आफू वा अरू कसले गाउँदा राम्रो हुन्छ भन्ने ‘जज’ आफैँ बन्छन् । आफूभन्दा अन्य गायक–गायिकाले गाउँदा गीत हिट हुन्छ भन्ने लागेपछि उनी त्यसैमा खुसी हुन्छन् । गाउन दिन्छन् । 

अर्जुन ०६१ सालमा कसैलाई चिन्थेनन् । पहिलो गीतबाट नै अवार्ड पाए । संगीतमा ‘मेरो जीवनसाथी’ चलचित्रबाट चारवटा अवार्ड पाए । त्यतिखेर पनि उनी फिल्मका धेरै मान्छे चिन्दैन थिए । ‘बिन्दास’ १ र २ बाट पनि चार/चार अवार्ड हात पारे । त्यो वेला उनलाई राम्रो गर्‍यो भने त अवार्ड पाइनेरहेछ भन्ने पर्यो । त्यसवेलादेखि अवार्डको क्रम रोकिएको छैन ।

वर्षभरिमा आधुनिक, पप र चलचित्र गरेर १५ वटाभन्दा बढी अवार्ड आयोजना हुनेमा हरेक वर्ष उनले ८/१० अवार्ड पाइरहेका हुन्छन् । तीनपटक इमेज अवार्ड, पाँचपटक विन्ध्यवासिनी अवार्ड, पाँच पटक कालिका अवार्डलगायत थुप्रै अवार्ड उनले संगीततर्फ पाएको सुनाए । ‘तिमी रोएको पल’, ‘तिम्रो आँखामा आँसु हेरी’जस्ता गीतका लागि उनले गीतकारको अवार्ड पाए । तीनपटक इनास अवार्ड थापे । तीनवटा नेफ्टा अवार्ड, तीनपटक म्युजिक खबर अवार्ड, पाँचवटा डिजिटल सिनेमा अवार्ड गरेर झन्डै चार दर्जन अवार्ड हात पारेको उनले सुनाए ।

एरेन्ज पनि उस्तै 
‘म त अलपत्रै पर्छु तिमी नभएको वेला’, ‘चल बतास चल’, ‘मैले तिमीलाई मन पराको अवस्था’, ‘परिचय पाउँ न त नानीको’, ‘तिमी लाइटर म भाको चुरोट’लगायत गीतमा अर्जुनले म्युजिक एरेन्जमेन्ट गरे । यीमध्ये थुप्रै गीत करोड क्लबमा परे । लाखाैँको मनमा बसे । ‘म सामान्यतया आफ्नै कम्पोजिसनमा एरेन्ज गर्न मन पराउँछु,’ अर्जुनले भने, ‘गीतको कम्जोजिसन गर्दा नै मलाई लागिसक्छ कि म यो किसिमको एरेन्ज गर्नेछु’ । त्यसैले उनका गीत प्राय रुचाइन्छन् ।  

ज्यानदार गायन 
लोकगीत गाएर संगीत क्षेत्रमा आएका अर्जुनले आफैँ लय बनाएर ०६१ सालमा ‘सानी मोरी मलाई मन पर्‍यो’ बोलको गीत गाए । गीतमा सिन्धु मल्ल र अर्जुनको स्वर थियो । उनले जीवनकै पहिलो गीतबाटै अवार्ड हात पारे । त्यसपछि म्युजिक पढ्न लागे । केही समय काम गरेनन् । केही समयको ग्यापपछि ठमेल डटकममा ‘मेरो सुखले दिन ढल्दैन तिमी नभए’ भन्ने गीत गाए । त्यसपछि ‘किन आजकल तिम्रो मन मैलो भो’ गीत गाए, त्यो पनि सफल भयो । गीतमा संगीत भर्दासम्म यी गीत म आफैँ गाउँला भने सोचेका थिएनन् । अन्य संगीतकार र गायकगायिकालाई नै बनाइएका गीत थिए ती । अन्य गायक गायिकाले गाइसकेपछि पनि निर्माता/निर्देशकले यो गीत त अर्जुनकै स्वरमा राम्रो सुनिएको छ, उनैले गाउनुपर्‍यो भनेपछि त्यसमा आफूले स्वर दिएको अजुर्न सुनाउँछन् । 

अर्जुन गीतको डमी बनाएर ट्र्याकमा गाइसक्छन् । आफू वा अरू कसले गाउँदा राम्रो हुन्छ भन्ने ‘जज’ आफैँ बन्छन् । आफूभन्दा अन्य गायक÷गायिकाले गाउँदा गीत हिट हुन्छ भन्ने लोपछि उनी त्यसैमा खुसी हुन्छन् । गाउन दिन्छन् । डमी कम्पोजिसनमा गाइसकेपछि फाइनल ट्र्याकमा डमी गाएर सिंगरलाई सुन्नका लागि पठाउँछन् । गायकले गाउँदा कतिपय गीत उनको जस्तो हुँदैन, कुनै भने उनको भन्दा माथि भइदिन्छ । उनी यसमा दुवै अवस्थामा खुसी हुन्छन् । कस्तो गीत गाउने भन्ने बारे उनी भन्छन्, ‘गीतको स्केलअनुसार आफूलाई कुन सुहाउँछ, त्यो गाउँछु ।’

संगीतका चारै विधामा हिट हुँदाहुँदै पनि संगीतकारको छवी हावी भएको उनी मान्छन् । उनी यतिवेला संगीत क्षेत्रमा चर्चित संगीतकारको नाममा परिचित छन् । ‘अर्जुनले छोएपछि गीत हिट हुन्छ’ भन्ने चर्चा बजारमा हुने गरेको उनी गर्वसाथ सुनाउँछन् । संगीतका चार विधामा काम मात्रै गरेनन्, उनी आफूलाई सफल पनि मान्छन् । लेखेको, संगीत भरेको, एरेन्ज गरेको होस वा गायको हरेक किसिमले मिहिनेत गरेको गीत करोड क्लबमा पर्नु नै आफ्नो उर्जा र थप मिहिनेत गर्ने प्रेरणा भएको उनी सुनाउँछन् ।  

शास्त्रीय संगीतमा गुरुहरूले आलाप गाएको सुनेपछि ‘यसले त रोइरहेको बच्चा फुल्लिन्छ होला’ जस्तो लाग्थ्यो अर्जुनलाई । पत्तै नपाई शास्त्रीय संगीतको लत बसालिदिने गुरुहरूप्रति उनी अहिले पनि श्रद्धाको शिर झुकाउँछन् ।

सानैदेखि संगीतमा सौख 
गोरखामा जन्मिएका अर्जुनको घरायसी वातावरण नै संगीतमय थियो । उनका बाबु चितवनमा भजनटोलीका अध्यक्ष थिए । आमा तीज र रत्यौली गाउन गाउँमा अग्रपंक्तिमा हुन्थिन् । उनको सानैदेखि संगीतमा रस बस्यो । परिवारले एसएलसी पास गरेपछि म्युजिक पढ्न काठमाडौं पठाइदिने वाचा पूरा गरिदिएकोमा उनी आज पनि खुसी छन् । ०५५ सालमा एसएलसी दिएर अर्जुन काठमाडौं आए । दुई वर्ष आरआरमा ऐच्छिक विषय गणित लिएर पढे । त्यहीवेला बिरामी परेपछि एक वर्ष पढाइ नै छुट्यो । एक वर्षपछि फेरि ललितकलामा म्युजिक पढ्न सुरु गरे । ०५८ सालबाट म्युजिक पढ्न थाले । ०६५ सालसम्म संगीत क्षेत्रमा लगानी मात्रै गरे । 
बाल्यकाल लोक संगीतको वातावरणमा बितेकाले लोकपन उनको जन्मजात गुणजस्तै भइदियो । पढ्दा पढ्दै उनले संगीत यात्रा सुरु गरिसकेका थिए । ललितकला र इन्डियाको इलाहावादबाट उनले शास्त्रीय संगीत सिके । नेपाल संगीत विद्यालयबाट वेस्टन म्युजिक सिके । प्रवीण बुढाथोकी थिए उनका मुख्य गुरु । उनीबाट उनले वेस्टर्न नोटेसस र किबोर्ड सिके ।

आफ्नो संगीत यात्राका गुरुहरू गुरुदेव कामद, भानुभक्त ढकाल, राम सिटौला, श्यामसुन्दर आचार्य, धनबहादुर गोपाली, प्रवीण बुढाथोकी, संगीता राना, बिना प्रधान जस्तालाई अर्जुन कहिल्यै बिर्सँदैनन् । उठेदेखि नसुतुन्जेल उनी संगीत कर्ममै हुन्छन् । भन्छन्, ‘मेरो अम्मल नै संगीत हो, संगीतमा काम गर्न थालेपछि म सबथोक बिर्सिन्छु ।’

संगीतका चार विधामा उनी एकाएक स्थापित भने भएका होइनन् । लोकगीत, शास्त्रीय संगीत र पाश्चात्य संगीतको ज्ञान भइसकेपछि मात्रै उनले एरेन्जिङको काम थालेका हुन् । भन्छन्, ‘म गाउँबाट काठमाडौं आएर संगीत सिकेको थिइनँ भने लोकगीतमा मात्रै सीमित हुन्थेँ होला ।’ उनले जब पाश्चात्य संगीत सिके त्यसपछि गीतमा हुने मीठास बुझे, त्यसमा झुमे । शास्त्रीय संगीतमा गुरुहरूले आलाप गाएको सुनेपछि ‘यसले त रोइरहेको बच्चा फुल्लिन्छ होला’ जस्तो लाग्थ्यो अर्जुनलाई ।  पत्तै नपाई शास्त्रीय संगीतको लत बसालिदिने गुरुहरूप्रति उनी अहिले पनि श्रद्धाको शिर झुकाउँछन् ।  

प्रेमगीतको ‘म यस्तो गीत गाउँछु’ ले आफूलाई अत्यधिक आत्मसन्तुष्टि दिएको उनी बताउँछन् ।  आजको ५० वर्षपछिका प्रेमजोडीले पनि यो गीत गाउँदा आफ्नोपन भेट्छन् होला भन्ने उनलाई लाग्छ । ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला’ गीत बजारमा गइसकेपछि पनि उनले नसोचेको परिणाम पाए । बिन्दास फिल्मको ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’, ‘बाटो मोडेर गयौ’ जस्ता गीत बजारमा गएपछि ग्रास लेबलमा पनि स्रोताले विश्वास गरेको उनी ठान्छन् । यी गीतहरू उनी आफैँलाई विशेष लाग्छ । 

यो क्षेत्रमा रातारात सफल नभएको उनको दाबी छ । भन्छन्, ‘कुनैवेला बागबजारको बाटो हिँड्दा लाज लाग्थ्यो । आफूसँगै पढेका साथी विदेश गएर पैसा कमाइसकेका थिए, कोही नेपालमै बिजनेस गरेर गाडी चढेर हिँडिसकेका थिए ।’ आफ्नो भने एउटा सिर्जना पनि नआएकोमा उनी आफैसँग लजाउँथे । उनी लुखुर लुखुर घर जान्थे । संगीतप्रतिको उनको लगाव देखेर परिवारकाले कहिल्यै हतोत्साही हुन दिएनन् । त्यही धैर्यता र छोरोप्रति विश्वास राखिदिने बाबुआमा आज उनलाई भन्छन्, ‘प्रतीक्षाको फल मीठो हुन्छ ।’ 

संगीतको संसारबाहेक अन्त हुँदैनन् अर्जुन । पुतलीसडकमा उनी र राम सिटौलाको ‘अनुराग म्युजिक स्कुल’ छ । अनामनगरमा उनीसहित चारजना मिलेर ‘ए प्लस’ रेकर्डिङ स्टुडियो सञ्चालन गरेका छन् । साधारण गाउँले परिवेशबाट आएका उनलाई संगीतकर्मले नै काठमाडाैंमा घर र गाडीको मालिक बनाएको छ । ‘त्योभन्दा ठूलो कुरा स्रोता र दर्शकको माया पाएको छु,’ अर्जुन भन्छन्, ‘सन्तुष्ट छु, जीवनप्रति गुनासो गर्ने कुनै ठाउँ छैन ।’