मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रवि किरण हमाल
२०७५ पौष २८ शनिबार १९:१५:००
Read Time : > 4 मिनेट
ब्लग

विद्यार्थी राजनीति र स्ववियु ट्रेन्ड

Read Time : > 4 मिनेट
रवि किरण हमाल
२०७५ पौष २८ शनिबार १९:१५:००

विद्यार्थी कुनै पनि समाजको चेतनशील, सिर्जनशील र परिवर्तनको संवाहक हो । विद्यार्थीले नै नागरिक र राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको समृद्धिकरणका लागि संघर्ष गर्दै अगाडि बढ्न सक्नुपर्छ । नेपाली इतिहासका विभिन्न कालखण्डमा ‘जयतु संस्कृतम्’ आन्दोलन, अखिल भारत विद्यार्थी युनियन, अनेरास्ववियु, अखिल क्रान्तिकारी हुँदै थुप्रै विद्यार्थी संघठनहरुले राजनीतिक परिवर्तनको लागि महत्वपूर्ण योगदान गरिसकेका छन् । 

नेपाल एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ । हामीले संविधान सभाबाट संविधान प्राप्त गरेसँगै राजनीतिक अधिकारको आन्दोलनभन्दा आर्थिक विकास र समृद्धिको अभियानलाई जोड गर्ने लक्ष्य लिएर अगाडि बढिसकेका छौँ । यसैबीचमा त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने तयारी थालेको छ । 

के पुरानै ढाँचामा गरिने स्ववियु निर्वाचनले हामीले संविधानमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उन्नत बनाउन सक्ला ? साच्चै नयाँ युगको नेतृत्व गर्ने नेताहरू उत्पादन गर्न सक्ला ? विद्यार्थी राजनीतिभित्र धेरै विकृति पनि बढेको छ । अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी र धाँधली कसरी गर्न सकिन्छ भनेर सिक्ने पाठशाला बनेको देखिन्छ । 

विद्यार्थी राजनीतिको नाममा आफ्नो जीवनको उर्जाशील र सिर्जनशील समय  भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने पथमा लामवद्व साथीहरूबाट देशले धेरै आशा राख्नु हुँदैन । यद्यपि नेपालमा लोकतान्त्रिक मूल्य र मान्यताहरु स्थापित गर्न वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्व हुन्छ । केही सुधार गर्नुपर्ने विषयहरु उल्लेख गर्नपर्छ ।

शैलीमा परिवर्तन 

उच्च शिक्षा हासिल गर्न विभिन्न ठाँउबाट आएका साथीहरू पहिलो दिनबाटै भर्ना फाराम भरिदिने मानिसहरुबाट प्रभावित भएर विद्यार्थी युनियनको समर्थनमा उत्रिन्छन् । अझ कतिपय विद्यार्थीहरु पहिल्यै त्यो मानसिकता बनाएर भर्ना गरिरहेका पाइन्छ । यसबाट प्रष्ट के बुझ्न सकिन्छ भने विद्यार्थी राजनीति एउटा विचार, आदर्श र अध्यनबाट मार्गनिनर्देश छैन । 

विश्वविद्यालयमा अध्यन गर्न आउने विद्यार्थीहरु साच्चिकै अर्थमा भन्ने हो भने देश, समाज र राजनीतिक विचार र व्यवस्थाप्रति न्युनतम ज्ञान भएको हुनुपर्छ । त्यसो नभएकोमा कम्तिमा मैले कुन विचार धारा बोकेको संगठनलाई समर्थन गर्दैछु ? र किन गर्दैछु ? भनेर उत्तर दिनसक्नुपर्छ । अथवा सबै विद्यार्थीहरु राजनीतिक विचार धाराबाट प्रभावित नहुन सक्छन् । तर, उनीहरुको समय भनेको समाजमा विद्यमान समस्याहरुको हल खोज्ने किसिमको बहस गर्ने खालको हो । कयौँ साथीहरू बिहानदेखि बेलुकासम्म विद्यार्थी युनियनका माथिल्लो पदका पात्रहरूको आदेशमा  क्याम्पसमा परिसरमा आफ्नो अमूल्य समय बर्बाद गरिरहेका छन् । 

उनीहरुलाई के भनिन्छ भने हामी यसै गरेर यहाँसम्म आइपुगेका हौँ, तिमीहरु पनि त्यहीँ गर नत्र नेता बनिदैन । अबको विद्यार्थी राजनीति त्यसरी अगाडि बढाउन सकिदैन । हामीले २१औँ शताब्दीमा आएर ज्ञान, विज्ञान र विचारको समृद्धिकरण गर्दै अगाडि जाने विद्यार्थी राजनीति गर्नुपर्छ ।
 
क्याम्पसहरुमा विद्यार्थी संघठनहरुले पारदर्शिता र विधिको शासन स्थापित गर्न सदैव अग्रसर हुनुपर्छ नकि क्याम्पसमा हुने गतिविधिहरुमा कमिसनको लागि लुछाचुँडी गर्ने । नेपाल जस्तो गरिबी, बेरोजगारी, भ्रष्टाचार र परनिर्भरता जस्ता समस्याहरुबाट ग्रसीत देशलाई कसरी सुशासनमार्फत विकास र समृद्धिको मार्गमा लैजान सकिन्छ । अहिलेको परिप्रेक्षमा कस्तो राजनीतिक प्रणाली र विचारबाट त्यो लक्ष्य हासिल हुनसक्छ भन्ने किसिमका छलफल, अन्तरक्रिया हुनुपर्छ ।

निर्वाचन आयोगमार्फत स्ववियु 

विश्वविद्यालयका धेरैजसो पदाधिकारीहरु राजनैतिक दलका बफादार कार्यकर्ताहरु छन् । राजनीतिक भागबन्डाले विश्वविद्यालय जस्तो शैक्षिक मन्दिर नराम्ररी फसेको छ । अहिले स्ववियुको चुनाव तिनै राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेकाबाट हुने हो भने त्यसको निश्पक्षतामाथि प्रश्न गर्ने ठाँउ रहन्छ । समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति विद्यार्थीहरु सफा राजनीतिक क्रियाकलाप गर्न सकिरहेका छैनन् । 

आफ्नो पकड कमजोर भएको ठाँउमा ताला लगाएर स्ववियु रोक्ने र जित्ने ठाँउमा ताला फोडेर पनि चुनाव गराउने हर्कतहरु लोकतन्त्रका लागि घातक छन् । हाम्रो देशमा लोकतान्त्रिक मूल्य र मान्यताहरु विस्तारै स्थापित हुँदै गइरहेका छन् । अझ यसलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । निर्वाचन आयोगले देशका सरकारी मात्र होइन सम्पूर्ण निजी कलेजहरुमा स्ववियुको निर्वाचन गर्नुपर्छ । सर्वसाधारण विद्यार्थीहरु चुनाव नलड्न सक्ने अवस्था छ । 

स्ववियुमा लाखौँ खर्च गरेर भोट किन्न थालिए भोलिका दिनमा विद्यार्थी राजनीति स्वतन्त्र, निश्पक्ष र सफा होला भनेर कसरी आशा गर्न सकिन्छ ? निर्वाचन आयोगले उम्मेदवारहरुका एजेन्डालाई विद्यार्थी माझ लैजान सहयोग गरेमा मात्र सबै विद्यार्थीहरु प्रतिस्पर्धा गर्न सक्छन् । जो लोकतन्त्रका लागि सुखद् हुन जान्छ ।

संयुक्त मञ्चको व्यवस्था

स्ववियुको चुनावमा पार्टीका अध्यक्षहरु, पूर्वप्रधामन्त्री लागयत राज्यका उच्च पदस्त व्यक्तिहरुलाई क्याम्पसमा बोलाएर भोट माग्ने प्रचलन खराब देखिन्छ । यसरी विद्यार्थी संघठनहरु माउ पार्टीका हनुमानको रूपमा प्रस्तुत हुने कुरा असल होइन । हामीले स्ववियु निर्वाचनको बेलामा धेरै समय चुनाव प्रचारप्रचारमा बिताउँदा विद्यार्थीहरुको पठनपाठन ठप्प हुन्छ । 

हामीले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हुने डिबेट गराउन सकेमा निर्वाचनमा उम्मेदवारहरुले विचारको प्रतिस्पर्धा गर्ने वातावरण बन्छ । कम्तिमा ३–४ पटकसम्म सम्भापतिका उम्मेदवारहरुलाई सबै विद्यार्थीहरुको माझमा संयुक्त रूपमा धारामा राख्ने र प्रश्नोत्तर गर्न सक्ने अवस्था सिर्जना गर्न सकियो भने निर्वाचन सफा, पारदर्शी र सदाचारयुक्त हुन्छ ।

स्ववियुमा निषेध वा सिन्डिकेटको राजनीतिक प्रतिस्पर्धालाई रोक्न सकिएन भने राजनीति झनै खराब हुँदै जाने सम्भावना देखिन्छ । कम्तिमा साझा मञ्चको व्यवस्थापनले त्यसलाई निरुत्साहित गर्न सकिन्छ ।

इनोभेटिम राजनीति 

कला, स्वतन्त्रता र सिर्जनशीलताले राजनीतिभन्दा छिटो समाज परिवर्तन गर्न सकिन्छ । दुवैलाई अगाडि बढाउन सके गति अवश्य बढ्छ । विद्यार्थी राजनीति भनेको कला र सिर्जनशीलताका माध्यमबाट समयलाई रुपान्तरण गर्न सक्ने अवस्थामा पनि हो । 

अहिले विश्वमा नयाँ खोज अनुसन्धानहरु भइरहेका छन् । जसमा विद्यार्थीहरुको अथक मेहनत र लगाव देखिन्छ । हामीले नारा जुलुस गर्ने, बन्द हड्ताल गर्ने, गुन्डागर्दी गर्ने जस्ता खराब राजनीतिक आचरणको अन्त्य गर्न इनोभेटिभ राजनीति गर्नुपर्ने आवश्यकता देखिन्छ । औद्योगिक क्रान्तिका बेला थुप्रै मेसिनहरु आविश्कार भएका थिए । 

जसले आज ती देशहरु तीब्र विकासको गतिमा अगाडि बढिरहेका छन् । थुप्रै दार्शनिकहरुले नयाँनयाँ राजनीतिक सिद्धान्तको प्रतिपादन गरेर विश्व समाजलाई नै एउटा ऐतिहासिक रुपान्तरणको बाटोमा मार्गनिर्देशन गर्न सफल भए । हामीले पनि विद्यार्थी राजनीति खोज र अनुसन्धानमूलक बनाउनुपर्छ । नयाँ विचारको खोज तथा अनुसन्धानका लागि सदैव खुला मस्तिष्क बोकेर हिँड्न जरुरी छ । 

एउटा युगमा एउटा कुरा प्रधान हुन्छ, जसका लागि युग सापेक्ष नयाँ विचार र प्रणालीको आवश्यकता पर्छ । नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै शान्ति र समृद्धि हासिल गर्न कस्तो विचार र व्यवस्था चाहिएला ? राष्ट्रलाई एकताबद्ध बनाउन कस्तो खाले विचार अंगाल्नु पर्छ ? अहिले भू– राजनीतिक जटिलतालाई कसरी हल गरेर सबै देशहरूसँग पारदर्शी र मर्यादित सम्बन्ध कायम गर्न सकिन्छ ? यस्तै प्रश्नहरुको हल खोज्ने खालको राजनीति गरौँ ।

स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौवर्ष क्याम्पसमा रहने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । वास्तविक स्ववियु नियमित विद्यार्थीहरुको बन्नुपर्छ । विद्यार्थी राजनीति भनेको राजनीतिक प्रक्रियाहरू सिक्ने अवसर हो । राजनीतिलाई सामाजिकीकरण गर्न अपरिहार्य छ । 

यसको मतलव आफूले गर्ने राजनीतिका वाद, शास्त्र, तर्क, सिद्धान्तका साथै आफ्ना प्रतिस्पर्धीका वाद, शास्त्र, तर्क र सिद्धान्तको अध्ययन गर्ने र बौद्धिक क्षमता बढाउने, संगठन गर्ने, कार्यकर्ता र समर्थकको आधार फराकिलो बनाउने लगायतका सीप सिक्ने हो । हामीले  हाम्रै जीवन कालमा समृद्ध नेपाल निर्माणको सपनालाई साकार पार्न सुशासन र सदाचारयुक्त राजनीतिलाई स्थापित गर्नैपर्छ । स्ववियुबाटै त्यसको सुरुवात गरौँ !