मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १४ शनिबार ०७:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको निम्तो : २४ मंसिरमा चीन भ्रमणमा जाँदै, उच्चस्तरीय भेटवार्ता तय

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १४ शनिबार ०७:०३:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारी छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपति सी जिनपिङको आग्रह र निमन्त्रणामा चीन जान लागेको बताए । सीसँग आठपटक भेटवार्ता भइसकेको र एकअर्कालाई राम्ररी बुझेको उनको भनाइ थियो । 

‘चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा पार्टी अध्यक्षज्यूको भ्रमण हुन लागेको हो,’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकासँग भने, ‘उच्चस्तरीय भेटवार्ता तय हुँदै छ ।’ भ्रमणको समन्वय चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । राष्ट्रपति सीसँग भेटवार्ताको सम्भावना रहे पनि त्यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी दिइसकेको छैन ।

प्रचण्डले तत्कालीन माओवादी अध्यक्षका रूपमा राष्ट्रपति सीसँग पहिलो भेटवार्ता गरेका थिए । सीलाई राष्ट्रपतिका रूपमा भेट्ने उनी पहिलो नेता हुन् । त्यसपछि प्रधानमन्त्रीका रूपमा उनले बेइजिङ र भारतको गोआमा दुईपटक सीसँग भेटवार्ता गरेका छन् । पार्टी अध्यक्षका रूपमा उनले बेइजिङ र काठमाडौंमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् । ‘अहिलेसम्म हिसाब गर्दा मैले राष्ट्रपति सीसँग आठपटक भेटिसकेको छु,’ प्रचण्डले भने ।  

असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहित ६बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नेकपा विदेश विभागप्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागप्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । ‘दुई पार्टीको समझदारीका आधारमा उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि भ्रमण हुन लागेको हो,’ उपप्रमुख रिजालले भने । समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान गर्ने पनि उल्लेख छ । प्रचण्डको भ्रमणका क्रममा नेकपाका अन्य नेता÷कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चालन, प्रशिक्षण, सरकार सञ्चालनलगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम पनि छ ।

‘टु प्लस वान’ होइन, त्रिदेशीय समझदारी 
प्रचण्डले चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा भारत, चीन र नेपालबीच टु प्लस वानका आधारमा सहकार्य गर्ने प्रस्ताव गरेको र त्यसमा नेपाल सहमत नभएको स्पष्ट पारे । ‘हामीले भन्दै आएका छौँ र भन्छौँ कि हामी भारत र चीनसँग त्रिदेशीय साझेदारी चाहन्छौँ, टु प्लस वानको सिद्धान्तले हामीलाई फाइदा गर्दैन,’ उनले भने । प्रचण्डले राष्ट्रपति सीले भारत हुँदै नेपाल भ्रमण गरेको सन्दर्भलाई पनि अर्थपूर्ण रूपमा लिनुपर्ने बताए । ‘भारत भएर चिनियाँ राष्ट्रपति नेपाल आउनुभएको सन्दर्भलाई पनि हामीले गहिरो गरी बुझ्नुपर्छ,’ उनले भने ।

भारत र चीनबीच नेपालको लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिपछि भारत र चीन भ्रमणका क्रममा आफूले विरोध जनाएको प्रचण्डले बताए । ‘मैले दृढतापूर्वक त्यसका विषयमा चासो राखेँ, विरोध जनाएको थिएँ,’ उनले भने, ‘कालापानीका विषयमा उत्तेजनामा आएर होइन, कूटनीतिकतवरबाट समाधान खोज्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । अहिले नकारात्मक परिस्थिति निर्माण भए पनि संवादबाट छलफल गर्ने सकारात्मक अवस्था आएको छ ।’

भ्रमण छोट्याएर परराष्ट्रमन्त्री ज्ञवाली फर्किए
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको भ्रमण छोट्याएर शुक्रबार फर्केका छन् । उनी आइतबार फर्किने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण उनी सर्बियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रमसमेत रद्द गरेर फर्केका छन् । ज्ञवालीले ९ मंसिरमा मस्कोमा रुसी समकक्षी सेर्गेई लाभरोभलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका छन् ।

उनले तीनवटा निमन्त्रणापत्र हस्तान्तरण गरे । पहिलो, समकक्षी लाभरोभलाई २० चैतमा आयोजित सगरमाथा संवादमा सहभागी हुन निमन्त्रणा दिए । दोस्रो, राष्ट्रपति पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पठाइएको निमन्त्रणापत्र हस्तान्तरण गरे । तेस्रो, प्रधानमन्त्री ओलीका तर्फबाट रुसी प्रधानमन्त्री द्विमित्री मेद्भेदेवलाई लेखेको निमन्त्रणापत्र हस्तान्तरण गरे । वार्तापछि रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा निमन्त्रणालाई हार्दिकतापूर्वक ग्रहण गरिएको र कूटनीतिक च्यानलमार्फत भ्रमण तय हुने उल्लेख छ ।

आउलान् त रुसी राष्ट्रपति ?
नेपाल र रुसबीच २०१३ सालमा कूटनीतिक सम्बन्ध स्थापनायता उल्लेख्य उच्चस्तरीय भ्रमण भएका छैनन् । सोभियत संघका तत्कालीन राष्ट्रपति मार्सल क्लिमेन्ट भोरोसिलोभले २०१७ सालमा नेपाल भ्रमण गरेयता कसैले पनि नेपाल भ्रमण गरेका छैनन् । नेपालबाट राजा महेन्द्रले सन् १९५८ मा र राजा वीरेन्द्रले सन् १९७६ मा तत्कालीन सोभियत संघको राजकीय भ्रमण गरेका थिए । त्यसयता नेपालबाट पनि राष्ट्रप्रमुखस्तरमा रुस भ्रमण भएको छैन । यसपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण गराउने सरकारको तयारी छ ।

 नेपालबाट तीन वर्षअघि तत्कालीन सभामुख ओनसरी घर्ती र दुई वर्षअघि प्रधानन्यायाधीश गोपाल पराजुलीले औपचारिक भ्रमण गरेका थिए । विभिन्न कार्यक्रमका अवसरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री उपेन्द्र यादव र कमल थापाले मस्को भ्रमण गरे पनि द्विपक्षीय औपचारिक भ्रमण थिएन । ०६२ कात्तिकमा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले औपचारिक भ्रमण गरेको १४ वर्षमा परराष्ट्रमन्त्री ज्ञवालीको औपचारिक भ्रमण भएको छ ।