मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १३ शुक्रबार १०:५४:००
Read Time : > 2 मिनेट
सेयर बजार

पर्ख र हेरको अवस्थामा लगानीकर्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १३ शुक्रबार १०:५४:००

बिहीबार ४.६७ अंक घटेर १११२.७९ बिन्दुमा नेप्से

साताको अन्तिम दिन नेप्से परिसूचक ४ दशमलव ६७ अंक घटेर १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा बन्द भएको छ । लगानीकर्ता यतिवेला पर्ख र हेरको अवस्थामा रहेका छन् । बुधबार थोरै बजार बढेपछि बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ता बिहीबार घटेपछि निराश भएका छन् । सो दिन बजार बढ्दा केही कम्पनीको सेयरमूल्य बढेकाले बिहीबार नाफा बुक गरेको अनुमान गर्न सकिन्छ । कारोबार रकम बढ्यो भने बजारमा लगानीकर्ता भित्रिए भन्ने बुझिन्थ्यो तर केही दिनयता कारोबार रकम पनि स्थिरजस्तै भएकाले बजार पनि सामान्य उतारचढावमा रहेको छ । 

 परिसूचकमा उतारचढाव
१ हजार १ सय १७ दशमलव ६५ बिन्दुबाट सुरु भएको परिसूचक १ हजार १ सय १९ दशमलव ६३ बिन्दुसम्म पुगेर अन्त्यमा घटेर बन्द भएको छ । कारोबारको सुरुमा केही समय बढेको बजार सोपछि बिक्रीकर्ता बढ्न पुगेकाले घटेको हो । 

यस दिन कुल १ सय ६६ कम्पनीको सेयर किनबेचमा ३७ वटाको मात्र मूल्य बढेको छ भने १ सय ३ वटाको घटेको छ । २६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात शून्य दशमलव ३५ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बियरिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ३५ दशमलव ६१ स्केलमा नेप्से रहेको छ । यसले बजारमा न्युट्रन जोन खरिद–बिक्री चाप सामान्य रहेको संकेत गर्छ । 

बुधबार सेतो मैनबत्ती बनाएको नेप्सेले बिहीबार कालो मैनबत्तीमा थोरै टुप्पी भएको बनाएको छ । यसले परिसूचक थोरै माथि पुगेर तल आएको संकेत गदर्छ । यस मैनबत्ती चित्रले आइतबार केही समय बजार थोरै उकालो लाग्ने संकेत गर्दछ । कारोबार भएका १२ समूहको परिसूचकमा जीवन बिमा समूहको बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । साल्ट ट्रेडिङको सेयर मूल्य घटेसँगै व्यापार समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव २८ प्रतिशत घट्न पुगेको छ । बजार घटेसँगै धेरै पुँजीकरण भएका कम्पनीहरूको मूल्य घट्दा बजार पँुजीकरण १४ खर्ब ११ अर्बमा आइपुगेको छ । 

बिहीबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय १५ दशमलव शून्य ७ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार १ सय १२ दशमलव ७९ छ । बजार पिभट बिन्दुभन्दा तल रहेकाले आइतबार सामान्य बढ्ने संकेत देखिन्छ । आइतबार बिहीबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय १० दशमलव ५१ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार १ सय १७ दशमलव ३५ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । 

 बिहीबारसम्म कायमले लाभांश पाउने हुँदा हिमालयन डिस्टिलरीको उच्च कारोबार
यस दिन हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने भएकाले उच्च कारोबार हुन पुगेको हो  । कम्पनीको ३ करोड ३५ लाख ७५ हजारभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको सेयर मूल्य १ हजार ७ सय ५० कायम भएको छ । दोस्रोमा एनएमबि बैंकको १ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म एनएमबि बैंकको कारोबार उच्चमा पर्दै आएको छ । 

 हाइड्रोपावरको मूल्य बढ्दा साल्ट ट्रेडिङको घट्यो
बिहीबार हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य बढ्न पुगेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ५ प्रतिशत बढेर मूल्य प्रतिकित्ता ८० रुपैयाँ कायम भएको छ । पाँचथर पावर, अरुण काबेली, युनियन हाइड्रोपावरजस्ता कम्पनीको सेयर मूल्य बढेर बन्द भएको छ । यस दिन साल्ट ट्रेडिङ लिमिटेडको सेयर मूल्य ५ दशमलव ९३ प्रतिशत घटेको छ । कम्पनीको सेयर मुल्य केही दिनयता दिनानुदिन बढेको थियो । बिहीबार प्रतिकित्ता १ हजार २ सय ५२ कायम भएको छ । 

 ऋणपत्र निष्कासन गर्न दुई कम्पनीको निवेदन
नेपाल धितोपत्र बोर्डमा सिटिजन्स बैंक इन्टरनेसनल र गुडविल फाइनान्स कम्पनीले ऋणपत्र निष्कासनका लागि निवेदन दिएका छन् । बैंकले निष्कासन गर्न लागेको २५ लाख कित्ता ऋणपत्रमा १० लाख सर्वसाधारण र १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई वितरण गर्नेछ । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ । त्यसैगरी गुडविल फाइनान्सले निष्कासन गर्न लागेको २ लाख ५० हजार  कित्तामा १ लाख कित्ता सर्वसाधारण र १ हजार ५० हजार कित्ता व्यक्तिगत तवरमा वितरण गर्न निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।