मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गोविन्द सुवेदी पोखरा
२०७६ मङ्सिर १३ शुक्रबार ०९:३६:००
Read Time : > 1 मिनेट
प्रदेश

पोखरामा २० मंसिरदेखि पानी प्रतिबोतल १६ रुपैयाँ

Read Time : > 1 मिनेट
गोविन्द सुवेदी पोखरा
२०७६ मङ्सिर १३ शुक्रबार ०९:३६:००

आगामी २० मंसिरदेखि पोखराका उपभोक्ताले प्रतिबोतल १६ रुपैयाँमै खानेपानी पाउने भएका छन् । प्रदेश अनुगमन समितिको अनुगमनपछि उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले २० मंसिरदेखि लागू हुने गरी पानीको मूल्य संशोधन गरेको हो ।

यसअघि उपभोक्ताले २० देखि ३० रुपैयाँसम्म प्रतिबोतल (एक लिटरको) तिर्न बाध्य थिए । जारको खानेपानीको मूल्य पनि संशोधन भएको छ । यसअघि ६० रुपैयाँ अधिक मूल्य राखिएकामा अब ५० रुपैयाँ कायम भएको छ । उत्पादनको लागत, उत्पादकले वितरकलाई उपलब्ध गराएको मूल्य र उपभोक्ताले तिर्नुपरेका मूल्य सबै विश्लेषण र नेपाल बोतल वाटर उद्योग संघसँग समन्वय गरेर नयाँ मूल्य निर्धारण गरेको निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।

अनुगमन समितिका संयोजकसमेत रहेका निर्देशक पौडेलले बिस्तारै अन्य अत्यावश्यकीय वस्तु तथा सेवाको अनुगमन गरेर मूल्य निर्धारण गरिनेछ । ‘सुरुवात पानीबाट गरेका हौँ, अनुगमन अन्य क्षेत्रमा पनि गरेका छौँ । प्रदेश अनुगमन समिति समग्र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन निरन्तर लागिरहने र यसमा उपभोक्ता, उद्योगी व्यवसायी सबैको साथ चाहिन्छ,’ उनले भने । प्रदेश सरकारबाट बजार अनुगमन नियमावली ९ असोज ०७६ पारित भएको हो । यसबीचमा १४ दिन भएको अनुगमनमा ७२ वटा उद्योग तथा पसलमा अनुगमन गरिएको निर्देशनालयका सदस्यसचिव भरतमणि बरालले जानकारी दिए ।  

उत्साहजनक कामको सुरुवात  : उपभोक्ता मञ्च

प्रदेश अनुगमन समितिका सदस्य एवं उपभोक्ता मञ्च गण्डकी प्रदेश संयोजक कपिलनाथ कोइरालाले उपभोक्ताका लागि यो महŒवपूर्ण सुरुवात भएको प्रतिक्रिया दिए । उनका अनुसार मूल्य अनुगमन गर्ने व्यवस्था यसअघि थिएन ।

उपभोक्ता संरक्षण ऐन ०७५ को आधारमा गण्डकी प्रदेशले बजार अनुगमन नियमावली ०७६ बनाएको हो । त्यसमा मूल्य अनुगमन गर्ने प्रावधानसमेत राखिएपछि मूल्यमा समेत अनुगमन गर्न सक्ने अधिकार पाएपछि उपभोक्ताले राहत पाउने अवस्थाको सिर्जना भएको हो । त्यसैका आधारमा पानीबाट मूल्य संशोधन सुरु भएको उपभोक्ता मञ्च गण्डकी संयोजक कोइराला बताउँछन् ।

मुख्यमन्त्री कार्यालयमै पानीमा ठगी 

पानी खरिद गर्ने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै ठगिँदै आएको छ । कार्यालयले एक लिटर पानीको मूल्य दिए पनि आधा लिटर (५०० मिलिलिटर) मात्रै पाउँदै आएको थियो ।

मुख्यमन्त्री कार्यालयमा अन्नपूर्ण फुड एन्ड वेभरेज प्रालिले पानी उपलब्ध गराउने गरेको छ । उक्त कम्पनीले उपलब्ध गराउने पानी (सोल्टी)मा एक लिटरको अधिक मूल्य २५ रुपैयाँ लेखिएको छ भने आधा लिटर बोतलको मूल्य अधिक मूल्य २० रुपैयाँ अंकित छ । तर, एक लिटरको प्रतिकार्टुन १६० रुपैयाँ र आधा लिटरको प्रतिकार्टुन २६० रुपैयाँमा दिँदै आएको मुख्यमन्त्रीको कार्यालयका जिन्सी शाखा प्रमुख रमाकान्त ढकालले जानकारी दिए ।

एक लिटरको बोतल कार्टुमा १२ वटा हुन्छन् । जसअनुसार १३ रुपैयाँ ३३ पैसा प्रतिबोतलमा मुख्यमन्त्री कार्यालयले खरिद गर्छ भने आधा लिटरमा २० वटा बोतल हुन्छन् जसको प्रतिबोतल १३ रुपैयाँ पर्छ ।