१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी हङकङ
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४०:००
Read Time : > 1 मिनेट
विश्व

हङकङका आन्दोलनकारीलाई समर्थन गरे बदला लिन्छाैँ : चीन

Read Time : > 1 मिनेट
एजेन्सी हङकङ
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४०:००

अमेरिकाले निरन्तर ढंगले हङकङका आन्दोलनकारीलाई समर्थन गरे त्यसको कडा बदला लिने चीनले चेतावनी दिएको छ । हङकङका आन्दोलनकारीलाई समर्थन गर्ने विधेयकलाई राष्ट्रपति ट्रम्पले  हस्ताक्षर गरेसँगै चीनको सो चेतावनी आएको हो । अमेरिकी कंग्रेसले पारित गरेको सो विधेयक अब कानुन बनेको छ । सो कानुनले हङकङले चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्न भन्दै राष्ट्रपति ट्रम्पले चीनसँग सम्झौता गर्ने तयारी गरिरहेका वेला पुनः असमझदारी बढ्ने संकेत देखिएको छ । ‘अमेरिकाले तथ्यलाई तोडमोड गर्दै छ,’ चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विधेयकले भवनमा तोडफोड गर्ने, आगजनी गर्ने, निर्दोष सर्वसाधारणलाई कुटपिट गर्ने, विधिको शासन नमान्ने र सामाजिक सद्भाव जोखिममा पार्ने हिंस्रक अपराधीलाई समर्थन गरेको छ ।’ अमेरिका निरन्तर ‘गलत मार्गमा हिँडे’ ऊविरुद्ध कठोर बदला लिइने विज्ञप्तिमा चेतावनी दिइएको छ । चीनले यसअघि आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको थियो ।

हङकङसम्बन्धी कानुनले के अर्थ राख्छ ?
हङकङ प्रजातन्त्र तथा मानवअधिकार नाम दिइएको सो कानुनले हङकङमा बेइजिङले लिने ‘एक्सन’को अनुमगन गर्छ । त्यस्तै, चीनले हङकङको अधिकार र स्वतन्त्रतालाई अवमूल्यन गरे अमेरिकाले हङकङलाई व्यापारमा दिँदै आएको विशेष सहुलियत खारेज गर्ने कानुनमा उल्लेख छ । तर, अमेरिकी प्रतिबन्धले हङकङको व्यापारलाई खासै असर नगर्ने बताइन्छ । 

शान्तिपूर्ण प्रदर्शनमा संलग्न रहेका प्रदर्शनकारी पक्राउ परे उनीहरूलाई अमेरिकाले भिसाका लागि अनुमति दिन सक्ने कानुनमा उल्लेख छ । अमेरिकाको पछिल्लो कदमले चीन र अमेरिकाबीचको व्यापार तनाव झन् चुलिने विश्लेषकहरूले अनुमान गरेका छन् । 

राष्ट्रपति ट्रम्पले हङकङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन् । जसअनुसार हङकङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता हतियार निर्यातमा प्रतिबन्ध लगाइदिएको छ ।