मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी महाराष्ट्र
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४०:००
Read Time : > 1 मिनेट
विश्व

महाराष्ट्रमा गठबन्धन सरकार उद्धव ठाकरेले लिए मुख्यमन्त्रीको शपथ

Read Time : > 1 मिनेट
एजेन्सी महाराष्ट्र
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४०:००

शिवसेनाका प्रमुख उद्धव ठाकरेले महाराष्ट्रको मुख्यमन्त्रीको शपथ लिएका छन् । बिहीबार साँझ मुम्बईको शिवजी पार्कमा आयोजित एक विशेष कार्यक्रममा ठाकरेले मुख्यमन्त्रीको शपथ लिएका हुन् । उनीसँगै अन्य ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । ठाकरेले शिवसेना, राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी) र कंग्रेस गठबन्धनको नेतृत्व गरेका हुन् । 

यसअघि महाराष्ट्रमा भाजपाले शनिबार सरकार गठन गरेको थियो । एनसिपीबाट विद्रोह गरेका केही सांसदको समर्थनमा भाजपाका तर्फबाट मुख्यमन्त्री देवेन्द्र फडनाभिसले मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यस्तै एनसिपीका अजित पवार उपमुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, बहुमत सांसदको समर्थन जुटाउन नसकेपछि फडनाभिसले मंगलबार दिउँसो राजीनामा दिएका थिए । सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै शिवसेना नेतृत्वको गठबन्धले दिएको उजुरीउपर फैसला गर्दै सर्वोच्चले २४ घन्टाभित्र बहुमत सिद्ध गर्न भाजपालाई आदेश दिएको थियो । 

सर्वोच्चमा उजुरी दिइरहेका वेला शिवसेना गठबन्धनले सरकार गठनको दाबी गर्दै आफ्ना १५६ सांसदको हस्ताक्षर पत्र गभर्नरसमक्ष पेस गरेको थियो । पत्रमा एनसिपीका तर्फबाट ५१ सांसदको हस्ताक्षर थियो । गठबन्धनको पत्रबमोजिम गभर्नरले सरकार गठनको आह्वान गरेका थिए । नयाँ सरकारमा एनसिपीका अजित पवारलाई उपमुख्यमन्त्री बनाइने भएको छ । तर, पार्टीभित्र विद्रोह गरेर भाजपालाई समर्थन गरेकाले उनलाई उपमुख्यमन्त्री बनाउने विषयमा पार्टीभित्रै विरोध भइरहेको छ ।

यही अक्टोबर २० मा सम्पन्न निर्वाचनमा शिवसेनाले भाजपासँग गठबन्धन गरेको थियो । पूर्वसहमतिअनुसार सरकार पनि दुवै पार्टीले बनाउने तयारी थियो । तर, शिवसेनाले रोटेसनका आधारमा दुवै पार्टीबाट मुख्यमन्त्री चयन हुनुपर्ने प्रस्ताव गरेपछि भाजपाले सरकार गठन प्रक्रियाबाट अलग रहने घोषणा गरेको थियो । भाजपाको घोषणासँगै संसद्मा प्रतिनिधित्व गर्ने अन्य तीन दलले सरकार गठनको प्रक्रिया सुरु गरेका थिए ।

सरकार गठन गर्न तीन पार्टीबीच आन्तरिक र अन्तरपार्टी छलफल भइरहेका वेला भाजपाले अकस्मात एनसिपीका केही सांसदको भरमा आफूसँग बहुमत भएको दाबी गर्दै गभर्नरसमक्ष सरकार गठनको दाबी गरेको थियो । सर्वोच्च अदालतले सो पत्र सार्वजनिक गर्न र फ्लोर टेस्ट पास गर्न उसलाई समयसीमा तोकेको थियो । बहुमत सिद्ध गर्न नसकेपछि मुख्यमन्त्रीले राजीनामा दिएका थिए । एनसिपीका प्रमुख शरद पवारका अनुसार शिवसेनाको गठबन्धनका लागि आफ्नो पार्टीले गरेको सांसदको हस्ताक्षर अजित पवारले दुरुपयोग गरी भाजपालाई बुझाएका थिए । 

कसलाई कति मन्त्रालय ?
गठबन्धन पार्टीबीचको भागबन्डाबमोजिम कंग्रेसलाई सभामुख पद दिइएको छ । सो पदका लागि पूर्वमुख्यमन्त्री पृथ्वीराज चाभनको चर्चा भइरहेको छ । मन्त्रिमण्डल ४३ सदस्यीय बनाउने तयारी भइरहेको छ । जसअनुसार शिवसेना १५ र एनसिपीलाई १६ मन्त्रालय दिने तयारी भएको छ । त्यस्तै कंग्रेसको भागमा १२ मन्त्रालय परेको छ । कंग्रेसलाई सभामुखको पद दिइएकाले एनसिपीले अर्को थप मन्त्रालय पनि दाबी गरेको जनाइएको छ । महाराष्ट्रको विधानसभामा शिवसेनाका ५६, एनसिपीका ५४ र कंग्रेसका ४४ सांसद छन् ।