१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १३ शुक्रबार ०८:४३:००
Read Time : > 1 मिनेट
प्रदेश

टियू–एएफयू जग्गा विवाद : अदालतको आदेश अवज्ञा गर्दै धमाधम भवन निर्माण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १३ शुक्रबार ०८:४३:००

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच जग्गा विवाद चर्किएको छ । ०६७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान संकाय हेटौँडामा स्थापना भएदेखि नै यी दुई संस्थाबीच विवाद सुरु भएको थियो । समस्या समाधान नहुँदै वन विज्ञान संकायले भवन निर्माण थालेपछि विवाद चर्किएको हो । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस परिसरमा वन विज्ञान संकाय सञ्चालन भइरहेको अवस्थामा हेटौँडा क्याम्पसले तोकेको जग्गाभन्दा अन्यत्र भवन निर्माण सुरु गरेपछि अहिले विवाद उत्कर्षमा पुगेको छ ।

मन्त्रिपरिषद् र त्रिभुवन विश्वविद्यालय सभाको निर्णयानुसार वन विज्ञान अध्ययन संस्थानको स्वामित्वमा रहेको जग्गामध्ये पश्चिम–दक्षिण क्षेत्रको ६० बिघा वन विज्ञान संकायलाई दिइने निर्णय गरिएको थियो । निर्णय गरिएको भन्दा फरक स्थान पूर्व–पश्चिम राजमार्गनजिक रहेको पूर्व–दक्षिण क्षेत्रमा वन विज्ञान संकायको भवन निर्माण सुरु गरेपछि विवाद अदालत पुगेको थियो ।

अन्तरिम आदेशको अवज्ञा
उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपाल र चण्डीराज ढकालको संयुक्त इजलासले गत ८ साउनमा जग्गा विवाद अन्तिम टुंगो नलागेसम्म रूख कटान तथा भवन निर्माणसमेतका काम नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेशपछि पनि वन विज्ञान संकायले भवन निर्माणलाई निरन्तरता दिइरहेको छ । अदालतको आदेश अवेज्ञा गर्दै भवन बनाएको जानकारी गराए पनि प्रशासन मौन रहेको हेटौँडा क्याम्पसप्रमुख विजयकुमार यादवले बताए । ‘अदालतको आदेशविपरीत काम भइरहेको छ,’ उनले भने, ‘हामीले प्रहरी प्रशासन सबैलाई खबर गरेका छौँ, उनीहरू सबै मौन हुँदा थप समस्या उत्पन्न भएको छ ।’

विवादबीच भवन निर्माण सुरु गरेका कारण उत्पन्न भएको थप समस्याले सम्पूर्ण शैक्षिक वातावरण प्रभावित भएको क्याम्पसप्रमुख श्यामकिशोर साहले गुनासो गरे ।

यसकारण भयो जग्गा विवाद
वन विज्ञान अध्ययन संस्थानले वन विज्ञान संकायका लागि पश्चिम–दक्षिणमा छुट्याएको ६० बिघा जग्गा छाडेर आफ्नै खुसीमा पूर्व–दक्षिणतर्फको साढे २ कट्ठामा भवन बनाउन लागेको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको हो ।

वन विज्ञान अध्ययन संस्थानभित्र चितवनको रामपुरमा रहेको कृषि वन विश्वविद्यालयअन्तर्गत रहने गरी हेटौँडामा सञ्चालन गरिएको वन विज्ञान संकायबीच यसअघि विद्यार्थी भर्ना र अध्ययनको सवालमा विवाद भइरहे पनि यसपटक एउफयूले भवन निर्माण सुरु गरेपछि संस्थानले आपत्ति जनाउँदै आएको छ । 

वन विज्ञान अध्ययन संस्थानले एक सय ५८ बिघा जग्गाको लालपुर्जा हालसम्म आफ्नै नाममा रहेको भन्दै एउफयूलाई भवन निर्माण गर्न नदिने अडान लिएको छ । वन विज्ञान अध्ययन संस्थानले ०६७ मा स्थापनाकालदेखि भोगचलन गरिरहेको र हालसम्म लालपुर्जा संस्थानकै स्वामित्वमा रहेको दाबी गरेको छ ।

कृषि वन विश्वविद्यालयले सर्वोच्च अदालतको फैसलाअनुसार वन विज्ञान अध्ययन संस्थान आफूमातहत रहने र भोगचलन गर्न कुनै समस्या नभएको तर्क गरिरहेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गत ९ असारमा विवादित जग्गामा वन विज्ञान संकायले निर्माण गर्ने भवनको शिलान्यास गरेका थिए । 

ध्ययन संस्थान एएफयूमा गाभिसक्यो : एएफयू
कृषि वन विश्वविद्यालय (एएफयू) वन विज्ञान संकायका डिन डा. बलराम भट्टले वन विज्ञान अध्ययन संस्थान नै एएफयूमा गाभिसकेको दाबी गरेका छन् । ०६७ मा चितवनको रामपुरमा रहेको कृषि वन विश्वविद्यालयले हेटौँडामा वन विज्ञान संकाय अध्ययन गराउन सुरु गरेदेखि नै विवाद सुरु भएको बताए ।

यसअघि विद्यार्थी भर्ना र अध्ययनमा धेरै विवाद भएको उनले स्मरण गरे । डिन भट्टले विद्यार्थी भर्नादेखि जग्गा विवाद बढेपछि ०७४ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले एएफयूमा ऐनअनुसार वन विज्ञान अध्ययन संस्थान गाभ्न अन्तरिम आदेश दिएको बताए ।‘अदालतले वन विज्ञान अध्ययन संस्थान एएफयूअन्तर्गत रहेर सञ्चालन गर्न आदेश दिइसकेको छ,’ उनले भने, ‘तर, त्रिभुवन विश्वविद्यालयले नियमावली नबनाउँदा विवाद बढिरहेको हो ।’