मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर जनकपुरधाम
२०७६ मङ्सिर १३ शुक्रबार ०७:२९:००
Read Time : > 2 मिनेट
नयाँCity

युवायुवतीमा पार्लर क्रेज

Read Time : > 2 मिनेट
मञ्जु टेलर जनकपुरधाम
२०७६ मङ्सिर १३ शुक्रबार ०७:२९:००

सहरको ट्रेन्ड

कोटेश्वरको एक ब्युटी पार्लरमा फेसियल गर्दै गरेकी भेटिइन् २७ वर्षीया रीता पौडेल । उनी तीन सातामा एकपटक फेसियलका लागि ब्युटी पार्लर पुग्छिन् । ‘जाडोयाममा अनुहारको छाला सुक्खा हुन्छ अनि एलर्जीको समस्या पनि देखिन्छ,’ उनी भन्छिन्, ‘छालालाई नरम र चम्किलो बनाउन ट्रिटमेन्ट बेसमा फेसियल गराउँछु ।’ छालाको स्याहारका लागि जाडोयाममा मोस्चराइजिङ अनिवार्यजस्तै भइसकेको उनको भनाइ छ ।

धुवाँधुलोका कारण छालाको एलर्जी, चिसोबाट छाला सुक्खा हुने, कपालमा चायाँ पर्ने र हातखुट्टा फुट्ने समस्या जाडो मौसममा देखिने गर्छन् । तिनै समस्याबाट मुक्ति पाउन युवायुवती ब्युटी पार्लर धाउने गर्छन् । काठमाडौंमा पछिल्लो समय लेडिज मात्र होइन, जेन्स पार्लर पनि प्रशस्त खुलेका छन् । ‘आत्मविश्वास बढाउन, व्यक्तित्व विकास र छालाको स्याहारका लागि मेकअप अत्यावश्यक बनिसकेको छ,’ ब्युटिसियन गुना ताम्राकार भन्छिन्, ‘व्यक्तित्वमा थप निखार ल्याउन मेकअपले सहयोग गर्छ ।’

उनको भनाइमा नयाँ पुस्ता स्मार्ट बन्न चाहन्छ । त्यसैले, आफ्नो स्वास्थ्य र व्यक्तित्वप्रति सजग रहन्छ । पछिल्लो समय देखिएको ब्युटी पार्लर क्रेज त्यसैको उपज भएको ताम्राकार बताउँछिन् । भन्छिन्, ‘बदलिँदो सामाजिक परिवेशमा फेसनअनुसार मेकअप पनि ब्रान्डका रूपमा विकास हुँदै गएको छ ।’

बदलिँदो ट्रेन्ड
नेपाली समाजमा रातो रङलाई सौभाग्य र सौन्दर्यको प्रतीक मानिन्छ । तर, नयाँ पुस्तामा रातो र चम्किलो मेकअप सामग्रीप्रति मोह नदेखिएको ताम्राकारको भनाइ छ । ‘उनीहरूमा प्राकृतिक लुक्सको क्रेज पाइन्छ,’ उनी भन्छिन् –‘त्यसैले आफ्नो छालाअनुसार मेकअप गराउने चाहना युवापुस्तामा देखिन्छ ।’ उनका अनुसार प्राकृतिक लुक्समा देखिने उद्देश्यले अधिकांशको रोजाइ न्युड मेकअप हुने गरेको छ । यस्तै, छालाको सफाइ (क्लिन्जिङ), टोनिङ र मोस्चराइजिङमा उनीहरू आकर्षित देखिन्छन् ।

ब्युटिसियन गुना ताम्राकारको भनाइमा नयाँ पुस्ता स्मार्ट बन्न चाहन्छ र आफ्नो स्वास्थ्य र व्यक्तित्वप्रति सजग छ । उनी भन्छिन्, ‘बदलिँदो सामाजिक परिवेशमा फेसनअनुसार मेकअप पनि ब्रान्डका रूपमा विकास हुँदै गएको छ ।’
 

पछिल्लो समय सेल्फ मेकअपको चलन पनि उत्तिकै बढेको छ । व्यस्त जीवनशैली र बढ्दो महँगीका कारण आफैँ मेकअप गर्ने चलन पनि देखिन थालेको ब्युटिसियन ताम्राकार बताउँछिन् । उनले काठमाडौंमा ब्युटी तालिम केन्द्र पनि सञ्चालन गरिरहेकी छन् । सहरमा खुलेका तालिम केन्द्रहरूमा पुगेर प्रशिक्षण लिने र घरमै समय मिलाएर मेकअप गर्ने युवायुवतीको संख्या बढ्दो रहेको उनको भनाइ छ । उनका अनुसार फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालले पनि सेल्फ मेकअपको क्रेज बढाएका छन् । र, सामाजिक सञ्जालमा उपलब्ध टिप्स अनुसरण गर्दै मेकअप सामग्री र आफ्नो व्यक्तित्वलाई सुहाउने पहिरन आफैँ छनोट गर्ने चलन पनि बढ्दै छ ।

‘अहिले महिला मात्र नभई पुरुषले पनि आफ्नो सौन्दर्यमा ध्यान दिन थालेका छन्,’ सौन्दर्यविद् कमला श्रेष्ठ भन्छिन्, ‘विवाह, व्रतबन्ध, भोजलगायत समारोहमा मेकअप गरेर जानुपर्ने सोचको विकास भएको छ ।’ उनका अनुसार नेपाली समाजमा मेकअपप्रतिको धारणा परिवर्तन हुने क्रममा छ । कामकाजी महिला÷पुरुष र गृहिणीमा छालाको स्याहार, मेकअपका सामग्रीको प्रयोगमा सजगता, आफू सुहाउँदो डिजाइनका पहिरनजस्ता विषयमा ध्यान जान थालेको श्रेष्ठ बताउँछिन् ।

एक समय थियो, ब्युटी पार्लर सञ्चालन गर्ने महिला मात्र त्यससम्बन्धी तालिममा सहभागी हुन्थे । अहिले भने कामकाजी महिला र गृहिणीले पनि यस्तो तालिम लिने गरेका छन् । ‘त्यसबाट एकातिर स्वरोजगार सिर्जना हुँदै गएको छ भने अर्कातिर मेकअपका सामग्री खरिद गरेर घरमै आफू सुहाउँदो मेकअप गर्ने प्रचलन बढेको छ,’ ब्युटिसियन श्रेष्ठ भन्छिन् । उनका अनुसार पढाइका लागि विदेसिनेहरूका लागि पनि यो विदेशमा आयस्रोतको राम्रो माध्यम बनेको छ । यस्तै, पढाइ पूरा गरेका तर कतै जागिर पाउन नसकेका महिलाले ब्युटी पार्लर खोल्ने क्रम बढ्दो छ । ‘ठूलो व्यवसाय गर्न नसक्नेहरूका लागि ब्युटी पार्लर आय आर्जनको गतिलो माध्यम बनेको छ,’ श्रेष्ठ भन्छिन्, ‘पार्लरमा सामान्य लगानी भए पुग्छ ।’