१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १३ शुक्रबार ०७:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

विपत् व्यवस्थापनका लागि गाउँगाउँमा हेलिप्याड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १३ शुक्रबार ०७:३६:००

आपत्कालीन अवस्थामा प्रयोग गर्ने उद्देश्यले धनकुटाका तीन स्थानमा पक्की हेलिप्याड निर्माण गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार सहिदभूमि गाउँपालिकाको पुरानो पञ्चकृष्ण माध्यमिक विद्यालय रहेको स्थानमा, महालक्ष्मी नगरपालिकाको वडा नं. ७ स्थित प्रहरी चौकी भवनछेउमा र छथर जोरपाटी गाँउपालिकाको वडा नं. ३ स्थित पानी ट्यांकीमा पक्की हेलिप्याड निर्माण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहका प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने निर्णय भए पनि हाललाई भने हरेक स्थानीय तहमा मात्र एक–एक हेलिप्याड बनाउन सुरु गरिएको हो । स्थानीय तहमा निर्माण गरिएका हेलिप्याड नेपाली सेनाको बरख गण धनकुटा र स्थानीय तहको संयुक्त साझेदारीमा निर्माण गरिएका हुन् । विपत्को समयमा सबैभन्दा छिटो उद्धार गर्न विपत्को पूर्वतयारीको व्यवस्थापनका लागि हेलिप्याड निर्माण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए ।

बाढी–पहिरो र भूकम्पका कारण विपत्का वेला सवारीसाधन चल्न नसक्ने अवस्थामा पीडितको उद्धारका लागि र राहत सामग्री पुर्‍याउन सजिलो होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । हेलिप्याड निर्माणका लागि बरखगण धनकुटाले प्राविधिक र निर्माण कार्यमा लाग्ने मजदुर उपलब्ध गराएको छ भने अन्य आर्थिक र भौतिक सामग्री सम्बन्धित स्थानीय तहले व्यहोरेका छन् ।

नेपाली सेनाको प्राविधिक तथा निर्माण सहयोगमा एउटा हेलिप्याड निर्माण गर्न न्यूनतम दुईदेखि तीन लाख रुपैयाँसम्म लाग्ने गरेको छ । यसभन्दा अगाडि पाख्रीवास नगरपालिकाअन्तर्गत कृषि अनुसन्धान केन्द्र पाख्रीवास, नेपाली सेनाको २ नं. वाहिनी अड्डा हिले र बरखगण धनकुटामा मात्र हेलिप्याड थिए । साँगुरीगढी र चौबिसे गाउँपालिकामा पनि चाँडै हेलिप्याड निर्माण गरिने विपत् व्यवस्थापन समिति धनकुटाले जनाएको छ ।