मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १२ बिहीबार ११:५६:००
Read Time : > 2 मिनेट
प्रदेश

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार ११:५६:००

सडक र सामुदायिक भवनलाई प्राथमिकता

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कैलालीमा सडक र सामुदायिक भवन निर्माणलाई प्राथमिकतामा राखेर योजना छनोट गरिएका छन् । सिँचाइ, खेलकुद, विद्यालय भवन, पर्खाल, मन्दिर, तटबन्धलगायतका योजनामा पनि बजेट विनियोजन गरिएको छ ।

क्षेत्र नम्बर ३ र ४ मा योजना छनोट गर्दा सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । क्षेत्र नम्बर ४ मा सडकमा तीन करोड ७० लाखका योजना छनोट गरिएका छन् । गौरीगंगा नगरपालिका–२, आमबगिया–जलघुस्रा तथा गौरीगंगा–११, पेरहनी–डमीपुर सडकमा ५०/५० लाख छुट्याइएको छ । यस्तै, ५०/५० लाख लागतका गोदावरी–२, को शक्तिकटेज पश्चिम सडक कालोपत्रे तथा अत्तरियामा ढल निकासको योजना छनोट गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

गोदावरी–६ र ७ जोड्ने कोलीकटान–लालपुर–गौडी सडक कालोपत्रेका लागि पनि ५० लाख विनियोजन गरिएको छ । ५० लाखकै लागतमा चुरे गाउँपालिका–१, को जुरेखोला–पखिर सिँचाइ आयोजना छनोटमा परेको छ । गोदावरी–२, मा सिँचाइका लागि बोरिङ निर्माणमा १५ लाखको योजना परेको छ । विज्ञान प्रयोगशाला र पर्खाल निर्माणमा दुई विद्यालयमा गरी ३० लाखका योजना परेको छ । 

क्षेत्र नम्बर ३ मा नौवटा सडक योजनामा तीत करोड पौने सात लाख रकम छुट्याइएको छ । यो रकम सडकमा माटो पटानी, ग्राभेल र कालोपत्रेमा खर्च हुनेछ । यहाँबाट निर्वाचित सांसद गौरीशंकर चौधरीले भजनी र घोडाघोडी नगरपालिका जोड्ने लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि दुईवटा खण्डमा गरी सबैभन्दा बढी एक करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । यो सडक कालोपत्रे भए दक्षिणी क्षेत्रको ठूलो जनसंख्या लाभान्वित हुने उनको भनाइ छ ।

‘मेरो क्षेत्रमा सडकको पहुँच कम छ । जनताको माग पनि सडकनै छ,’ चौधरीले भने । सांसद चौधरीले नदीकटान नियन्त्रणका लागि भजनी–५, स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण गर्न ४० लाख र घोडाघोडी–९, कान्द्री नदीमा तटबन्ध निर्माण गर्न १० लाख छुट्याइएको जानकारी दिए । २० लाख लागतमा दुईवटा चर्च निर्माणका योजना पनि छनोट गरिएको छ । यसबाहेक क्षेत्र नम्बर ३ मा सहकारी, क्लब, विद्यालयका भवन, पर्खाल निर्माणका योजनामा पनि बजेट विनियोजन गरिएको छ ।

क्षेत्र नम्बर २ मा जनता अस्पताल लम्कीका लागि सबैभन्दा बढी दुई करोड, साढे ५१ लाख विनियोजन गरिएको छ । यस्तै, सडकमा एक करोड, क्याम्पस तथा विद्यालयका योजनामा एक करोड ३५ लाख र मन्दिरका योजनामा २० लाख छुट्याइएको समन्वय समितिले जनाएको छ । 

लम्की बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माणमा ४० लाख र जानकी गाउँपालिका–९, मा फाइरलाइन सडक निर्माणमा ५० लाख छुट्याइएको छ । यसबाहेक विद्युत् सहकारीको भवन, सार्वजनिक शौचालय, सिँचाइका योजना पनि छनोटमा परेका छन् । मोहन्याल गाउँपालिका–६ र ७ मा डिप तथा सोलार सिँचाइका १०/१० लाख लागतका योजना छानिएका छन् । यस क्षेत्रबाट निर्वाचित सांसद झपट रावल संयोजक रहेको समितिले पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत २३ योजना छनोट गरेको छ ।

सामुदायिक भवनमा बढी बजेट

क्षेत्र नम्बर ५ मा भने पूर्वाधार विकास कार्यक्रममा सामुदायिक भवन र सभाहल निर्माणका योजनालाई उच्च प्राथमिकता दिइएको छ । कार्यक्रमअन्तर्गतको ६ करोडमध्ये दुई करोड ७६ लाख ७० हजार सामुदायिक भवन र सभाहल निर्माणामा खर्च गरिँदै छ ।

धनगढीका विभिन्न वडामा सामुदायिक भवन निर्माणका १३ वटा योजना छनोट गरिएको छ । यस्तै, चारवटा मन्दिरका योजनामा ४० लाख बजेट राखिएको छ । धनगढीका १२ वटा वडामा सिँचाइका ५० लाखका योजना छनोट गरिएको क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद नारदमुनि रानाले बताए ।

धनगढी–१८, स्थित फूलबारी क्याम्पसको पर्खाल निर्माणका लागि ५० लाख र अन्य दुईवटा विद्यालयका लागि ३० लाख विनियोजन गरिएको छ । यस्तै, शिवनगर खानेपानी आयोजनालाई ५० लाख तथा धनगढी–१३, राना संग्रहालय निर्माणमा ५० लाख विनियोजन गरिएको छ । कुल २५ योजना छनोट गरिएको छ । 

सांसद जेल गएपछि बजेट रोकियो
क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी टीकापुर घटनामा दोषी ठहर भई जेल चलान भएपछि उक्त क्षेत्रमा भने यस वर्ष पूर्वाधार विकास साझेदारीको बजेट आएन । गत वर्ष आएको बजेटबाट उनका प्रतिनिधिले योजना छानेका थिए ।

६ करोड बजेट रहेको कार्यक्रमअन्तर्गत यहाँका बाँकी चारवटै क्षेत्रमा यस वर्ष सञ्चालन गरिने योजना छनोट गरेर जिल्ला समन्वय समितिलाई बुझाइएको छ । सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित संघीय सांसदको संयोजकत्वमा रहेको निर्देशक समितिले योजना छनोट गर्ने प्रावधान छ ।