मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ मङ्सिर १२ बिहीबार ११:४४:००
Read Time : < 1 मिनेट
प्रदेश

वृद्ध सेवा केन्द्रमा स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ मङ्सिर १२ बिहीबार ११:४४:००

नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेना २५ नम्बर बाहिनी भगतपुरले भीमदत्त नगरपालिका–५ वनखेतस्थित वृद्ध सेवा केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

बुधबार नेपाली सेनाका चिकित्सक डा. बबिता सिलवालसहित स्वास्थ्यकर्मीको टोलीले ६२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि वितरण गरेको हो । २५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डितले समाजिक कार्यअन्तर्गत सेनाले वृद्ध सेवा केन्द्रमा बस्दै आएका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै खाद्यान्न र न्यानो लुगा वितरण गरेको बताए । 

उनका अनुसार खाद्यान्नमा दाल, चामलसहित ६२ थान सल सहयोग गरिएको छ । महिला तथा वृद्ध सेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष शारदा चन्दले सेनाले सदैव वृद्ध सेवा केन्द्रमा सहयोग गर्दै आएको बताइन् । अधिकारकर्मीसमेत रहेकी अध्यक्ष चन्दले सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेपछि वृद्धवृद्धाले आश्रममै उपचार पाएको बताइन् । 

‘सेनाले दिएको राहतले केही दिनका लागि पुग्छ,‘ उनले भनिन्, ‘यस्तै सहयोगबाट यो वृद्धसेवा केन्द्र चल्दै आएको छ ।’ ०६३ सालदेखि असहायको आश्रयस्थलका रूपमा वृद्ध सेवा सञ्चालन गरिएको हो ।